तराईमा अर्को दुखद घटना : सिलिन्डर पड्किएर ४ घाइते - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

तराईमा अर्को दुखद घटना : सिलिन्डर पड्किएर ४ घाइते



मलंगवा : सर्लाहीको हरिपुर नगरपालिका-९ पिडारी बजारमा सोम‍बार बिहान आगलागी हुँदा पसलमा राखिएको ग्यास सिलिन्डर पड्किएर ४ जना घाइते भएका छन्। आगलागीमा परी ३ वटा पसल र १ वटा घर समेत जलेर नष्ट भएको प्रहरी जनाएको छ।

बजारको जम्मा गरिएको फोहर नष्ट गर्नका लागि लगाइएको आगो छेउमै रहेको खुश्बु फर्निचर उद्योगमा सल्किदा आगलागी भएको हो। फर्निचरबाट सल्किएको आगो चन्देश्वर साहको मासु पसलमा लाग्दा त्यसमा रहेको ग्यास सिलिन्डर पड्किएर ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सिलिन्डर पड्किदा हरिपुर नगरपालिका ९ पिडारीका ४५ वर्षीय विश्वनाथ साह र कविलासी नगरपालिका १ पिपरियाका १९ वर्षीय भरत पण्डितको दाहिने खुट्टा जलेको छ। त्यसैरी सिलिन्डरबाट उछिटिएका टुक्रा लागेर पिडारीका १९ वर्षीय गौतम साह र ३० वर्षीय मन्जुर अन्सारीको खुट्टा भाच्चिएको छ।

घाइतेलाई उपचारका लागि वीरगंज तर्फ पठाइएको स्थानीय जीवन ठाकुरले जानकारी दिए।आगलागीमा परी गाजेन्द्र राउतको फर्निचर उद्योग, चन्देश्वर साह र सत्रोधन साहको मासु पसल, रामपरी देवीको फुसको घर पूर्णरुपमा जलेर नष्ट भएको छ।

त्यसैगरी बजारमै रहेको साना किसान सहकारीको ८ वटा झ्यालमा पनि झति पुगेको प्रहरीले जनाएको छ।आगोलाई बरुण यन्त्र, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ।