तरही गजल - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

तरही गजल



प्रेमिल सहरहरूमा फूलै कटार हुन्छ ।
दिलबाट दिल निशाना राखी प्रहार हुन्छ॥

दुर्बल छ शत्रु भन्ने सोचाई फेर्न सिक्नुस् ।
बर्षात भित्र खहरे खोला जँघार हुन्छ ॥

“मन” भित्र दुष्टता छन् खोजी छ मित्रताको।
फाले ‘नकार’ बाँकी राम्रो मकार हुन्छ ॥

काँप्दैन देह कहिल्यै क्यै मातिँदैन बोली ।
यो प्यारको सफरमा कुन् लत सवार हुन्छ? ॥

सम्बन्ध लाग्छ नौलो चिरफार गर्न गाह्रो ।
आँखाहरू जुधेमा यो मन सिकार हुन्छ ॥

पग्लेर आँशुढिक्का हाँसो बनेर अाओस् ।
जस्तो हिमाल पग्ली सागर तयार हुन्छ ॥

मनिष गौतम
नारायणगढ, हाल युएई