तापाचुला क्याम्प अनि भोका हामीहरू !
दीपक घिमिरे
अमेरिका सपना देख्नेहरुका निम्ति लगभग अन्तिम क्याम्प हो तापाचुला क्याम्प । ग्वाटेमाला बोर्डर पार गर्न सानो खोला लाई ठुला ट्युबको बोट चढेर पार गरेपछि देखिने चिपास मेक्सिको लेखेका गाडीहरूले एउटा बेग्लै सपना देखाउन सुरु गर्छन् । अनि पन्ध्र मिनेटको हाईस यात्रामा पनि मस्त निद्रा लाग्छ ।
“दाइ ! ग्वाटेमला सकिएछ । “निद्रामा भएको मलाई कोट्याउँदै निस्चल भाइले अर्को ठुलो ट्रकको नम्बर प्लेट देखाए ।
मैले आँखा मिच्दै भने “भनेसी सपना नजिक आउँदै रैच बड्डा ।”
मेरा कुरा सुनेर सँगैको सिटमा बसेका दिलकुमारले किच्च हाँस्दै भने “क्याम्प आउन दुई मिनेट होला, टन्न भात खान पर्च ।”
यो भातको पनि आफ्नै कथा छ । पेटभरि खान नपाएको भोको मान्छेलाई भातका मिठा कथा सुनाइदिए पनि अघाउँछ होला । हामी त रातदिन भातका मिठा सपना देख्ने भिखारी । आधा पेटमै दुई महिना कटाएका रिफ्युजी।
हाईस वालाले किच्च दाँत देखाउँदै भन्यो “भाडा देऊ !”
उसले आफ्नै भाषामा भन्यो तर सबैले बुझ्यौ । अघिल्लो दिन ग्वाटेमालामा बुझेको पचास डलर थियो तर भाडा बुझाउन निकाल्ने हिम्मत कसैले गरेन । किनकि पैसाको महत्त्व सबैले बुझेका थिए ।
रामचन्द्रले पचास डलर निकाल्दै भने “ओए ! बीस डलर निकाल, बाँकी हिसाब क्याम्प पुगेसी गरम्ला ।”
सबैले बीस डलर निकाल्न डराए, सुसाङ भाइले बीस डलर दिँदै भन्यो “मैले बिस डलर दिए है ।”
भाडा दिएको पाँच मिनेट नहुँदै एउटा स्टेसनमा हाईस रोक्यो अनि त्यही किच्च गर्ने खलासीले भन्यो “इमिग्रेसन ………… !”
ईमिग्रेसन भन्दा पछाडिको कुरा हामीले बुझ्नेनौ, एक अर्काको मुखमा हेर्दै थियौ । डराएका थियौ, पकडिने डर उस्तै थियो । तर संयमित भयौ । चुप बस्यौ हाईस भित्रै ।
“यो ईमिग्रेसनको पुलिस हो । अब यसैले लान्च हामी लाई क्याम्प सम्म ।” ग्रुपकै जेठा दाइ थम्मरले भन्नू भो । अनि हामी भित्रको डर अलिकति कम भयो ।
सेता ड्रेस लगाएका ईमिग्रेसनका हवल्दारहरूले हामी चढेको गाडी रोकेपछि हामी पालैपालो हाईस बाट ओर्लियौ । अनि हसिलो मुहार सँगै उभिएका ईमिग्रेसनका हवल्दारको इसारामा ईमिग्रेसनकै गाडीमा चढ्यौ ।
बार जनाको सिट क्षेमता भएको ईमिग्रेसनको गाडीमा चढेपछि लास्ट सिट बाट हसाउदै दिलकुमारले भने “अब टन्न भात खान पाउँछौ केटा हो, आज सम्म हावा मात्र खायौ है । अब दाल भात अनि अलिकति तरकारी पनि खाउँला ।”
जिस्काउदै पवन दाइले भने “भाङ्गोको अचार हुन्छ कि नाई ? मलाई त ट्वाक्क अचार चाहिन्छ ।”
ईमिग्रेसनको गाडी पुरै हाँसोले गुन्जियो, ईमिग्रेसनका पुलिसले हेर्दै मुस्कुराए ।
पन्ध्र मिनेट गाडी गुड्यो, मेक्सिको देशको तापाचुला एरियामा । एक महिना अघि कोलम्बिया देशको टर्बो सहरमा थम्मर दाइको साथीले भनेका थिए “पेटभरि खाना हसुर्न मेक्सिको पुग्न पर्छ, अहिले ज्यान बचाउने काम गर ।”
त्यही कुरा मनमा पालेर मेक्सिको देशमा पाइला टेकेका हाम्रालागी पहिलो प्राथमिकतामा भात थियो । पेट भरी खान नपाएको दुई महिना पुग्न लागेको थियो । दाल भात अनि तरकारी सम्झिँदा पनि मन पागल जस्तै हुन्थ्यो ।
गाडी तापाचुला क्याम्पको गेटमा अडियो, गेट खुलेर गाडी पार्किङ तिर गयो । मैले भित्र हेर्दै नजिकै बसेका निश्चललाई भने “पहिला टन्न खाने हो बड्डा !”
मिलेका जुङ्गा झन् मिलाउँदै निस्चलले भने “थपेर खाने है दाइ ।”
म हाँसे, उनी नहाँस्ने कुरै भएन ।
उनी घोराहीका प्रतिष्ठित व्यापारी थिए । मैले चिने अनुसार उनका बा नाम चलेका मान्छे हुन । दाइ राम्रा ब्याबसायीमा गनिन्थे । उनको आफ्नै पनि राम्रो फेन्सी पसल थियो तर उनी अहिले पेटभरि भातका लागी तडपेका थिए ।
यति बेला नेपालको आफ्नो हैसियत कसैले सम्झने वाला थिएन । मात्र पेटभरि खान पाए हुन्थ्यो भन्ने सोचमा सबै थियौ । भोकले लखतरान परेका भिखारी ।
ईमिग्रेसनका मान्छेले गाडीबाट झारेर लाइनमा लगाए । त्यहाँ इन्ट्री गर्नु पर्ने रहेछ । म भन्दा अघि लाइनमा लागेका अबिस्वरले शिरको कालो टोपी निकाल्दै भने “पहिला टन्न खुवाउनु नि यार, हो कि होइन ? भोकले रिङ्गाटा लागिसक्यो, हो कि होइन ?”
यो हो कि होइन भन्ने थेगो अबिस्वरको आफ्नै पहिचान हो । उनी हरेक शब्द पछि हो कि होइन झुन्ड्याउछन । सायद साथीभाइको मन समेट्न होला ।
“भात र भोकको महत्त्व यिनीहरूलाई के थाहा यार ! हामी जस्तै आधा पेटमा दुई महिने यात्रा गरून् अनि चाल पाउँछन् ।” दिलकुमारले पछाडि फर्कँदै भने । मैले सहमति को मुन्टो हल्लाए ।
दस जनाको ईन्ट्री गर्न बीस मिनेट लाग्यो । हतारिएका हातहरूले कहाँ के गल्ती गर्दो रैछ , सच्याउदै लेखियो । ईन्ट्री सकेर भित्र पसियो । भित्र आधा घण्टा त्यसै कुरियो ।
पेटभरि खाना पाइने आशामा आइपुगेका हाम्रा लागी दस मिनेट कुराई दुई घण्टा कुराई जस्तै थियो तर यहाँ लगभग एक घण्टा नै कुर्न पर्यो ।
एक घण्टा कुराई पछि ईमिग्रेसनको प्रकिया सुरु भयो । खाना सपना जस्तै भयो । फिङ्गर प्रिन्ट , फोटो अनि फर्म भर्दा भर्दै समय गएको पत्तो भएन । फेरि भोकै भयौ हामीहरू
तापाचुला क्याम्प पनि नाम मात्रको । हामी भोकै भएपछि ओईलाएका जुङ्गा मुसार्दै निस्चल भाइले भने “दाइ ! आज पनि भोकै हो त ?”
उनी गजपको हास्छन, हातमा स्वर्गद्वारी जाने विहारीले बोक्ने बोराको झोला बोकेका निश्चललाई चिसो भुईँमा बसाउँदै रामचन्द्रले भने “अरे यार दाइ ! मासु दाल भात पाक्दै छ, थपक्क बस्नुस् यार । टन्न खानुले ।”
ग्रुप नै मज्जाले हाँस्यो । भोको पेटमा हाँस्नुको मजा यति बेला भोगियो ।
कालो बर्दिधारी पुलिसले ईमिग्रेसनको काम सकिन साथ भित्र हुले । अघि गेट बाट भित्र छिरियो, अहिले क्याम्पको भित्रै पसियो । यो ठ्याक्कै जेल जस्तै छ रे, जेल बसेर आएका हरूले भनेको ।
झोलामा ट्याग टासेर स्टोरमा फालेपछि हामीलाई पछिल्लो भागमा लिएर गए । गाडीमा लिएर आउने सेता ड्रेस वाला हवल्दारहरू भन्दा यी काला ड्रेस वाला निक्कै छुचा । ठ्याक्कै चौकीदार जस्ता छुचा ।
पछिल्लो हलमा पुर्याएपछि थाहा भयो, यो क्याम्प होइन ! जेल नै हो । न घाम देख्नु न त बाहिरी संसार । अहिले सम्म देखेका क्याम्प भन्दा निक्कै बेग्लै । किच्च हाँस्दै थम्मर दाइले भने “खाऊ खोत्तर !”
मनको पीडा र पेटको भोक लुकाएर हाँसियो ।
भित्र छ जना नेपाली थिए, नेपाली भन्न पनि लजाउने खालका । सयौँ पंजाबी थिए अनि दर्जनौँ बंगालि । ल्याटिन अमेरिकी त अनगिन्ती ।
नेपाली चैँ पर्वत जिल्लाका रहेछन् । अलि ठुला बन्ने । भोकले लखतरान परेका हाम्लाई एक ठस्को जवाफ दिँदै भने “अहिलेको खानपिन सकिय , अब दिउँसो ।”
दिउँसो मात्र भने अनि सुटुक्क गए , हामी चैँ चिसो भुईँमा पछारिदै घरको दालभात अनि तरकारी सम्झियौ ।
तीन घण्टा पछि क्याम्पमा लामै लाइन लाग्यो । सयौँको सङ्ख्यामा भएका सबै लाइनमा । भोक र थकाइले लखतरान हामीहरूले लाइन के को हो बुझ्न नजिक गयौ ।
“पछाडि गएर लाइनमा बस्नुस्, यो खानाको लाइन हो । “तिनै पर्वतका भलादमी ले भद्र पारामा बताए । गालामा एक चड्कन दिएर भोकै बस्ने जस्तो रिस थम्मर दाइलाई उठेच । उनी पर्वत भद्र सँग रिसाउँदै भने” भन्नू पर्छ नि यार । नयाँ मान्छे, अब कति लाइनमा बस्नु । बरु भोकै बस्नु ठिक ।”
थम्मर दाइको कुरा ठिकै थियो । लाइन दुई घण्टाको बाटोमा थियो । बाध्यता लाई बुझ्दै ती पर्वते भद्रलाई धिक्कार्दै लाइनमा बसियो, धेरै पछि धेरै खाने सपना सजाउँदै ।