तनहुँका कांग्रेस नेतालाई भ्रष्टाचार मुद्दा

काठमाडौँ- तनहुँका कांग्रेस नेतासहित एक इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा परेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तनहुँका कांग्रेस नेतासहित एक इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार विशेष अदालतमा तनहुँ भानु नगरपालिका– १३ वडाका वडा सदस्य समेत रहेका कांग्रेस नेता कृष्णबहादुर अधिकारीसहित दुइविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार अधिकारीले नगरपालिकाका इन्जिनियरसँग मिलेर घुस खाएको बताइएको छ । उनले विद्यालय भवनको निर्माण सम्पन्न गरी भुक्तानी दिने प्रयोजनमा क्रममा इञ्जिनीयर शुकदेव अधिकारीसँग मिलेर सेवाग्राहीसँग ७५ हजार घुस खाएका थिए ।
विद्यालयको विकासमा सहयोग पुर्याउनु पर्ने राजनीतिक व्यक्ति नै इन्जिनियरसँग मिलेर घुस खाँदा अख्तियारको टोलीबाट पक्राउ परेका थिए ।
अधिकारी गत स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट विजयी भएका थिए । उनले विजयी हुने सदस्य मध्ये सबैभन्दा कम अर्थात ८०५ मत प्राप्त गरेका थिए ।
पोखरास्थित क्षेत्रीय कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई माघ २९ गते रंगेहात पक्राउ गरेको थियो ।
दुबैजनालाई भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसरबाटै पक्राउ गरिएको थियो । स्रोतका अनुसार अधिकारीले वडा अध्यक्षको योजनामै विभिन्न कामको भुक्तानीमा रकमको डिल गर्ने गरेका थिए ।

