बचतकर्ताले सहकारीमा राखेको पैसा इच्छाराजले जालझेल गरी आफ्नो बनाउँथे - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

बचतकर्ताले सहकारीमा राखेको पैसा इच्छाराजले जालझेल गरी आफ्नो बनाउँथे



काठमाडौं- सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङले सर्वसाधारणले सहकारीमा राखेको पैसा समेत आफ्नो नाममा राख्ने गरेको खुलेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ । विभागले आज विशेष अदालतमा तामाङसहित उनको परिवार र सिभिल सहकारी संस्थाका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो ।

तामाङले सहकारीबाट ३ अर्ब ३१ करोड रुपैयाँ ठगेको आरोप छ । यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ ठगेको विभागको अनुसन्धानमा फेला परेको छ । विभागले दिएको जानकारी अनुसार तामाङका छोरीहरु प्रतीक्षाले ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख रुपैयाँ, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ ठगी गरेको भेटिएको छ ।

विभागका अनुसार तामाङले सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताले राखेको बचत रकम आफ्नो र परिवारको नाममा ल्याउन विभिन्न प्रकारको उपाय अपनाएका थिए । आफ्नो एकाधिकार रहने गरी विभिन्न कम्पनी स्थापना गर्ने र तिनै कम्पनीमार्फत कारोबार गरेको देखाएर सर्वसाधारणको बचत रकम आफ्नो र परिवारको नाममा ल्याउने गरिएको छ । सहकारीका बचतकर्ताको रकम ठगी गर्ने उद्देश्यले तामाङले विभिन्न २२ कम्पनी स्थापना गरी सो मार्फत सम्पत्ति शुद्धीकरण गर्ने गरेको पाइएको विभागले जानकारी दिएको छ ।

तामाङ समेतले आफ्नै समूहका विभिन्न कम्पनीलाई बिनाधितो कर्जा प्रवाह गरी सर्वसाधारण सदस्यको रकम अपचलन एवं हिनामिना गरी त्यस्तो रकम आफ्ना विभिन्न व्यावसायिक कम्पनीमा लगानी गरी सम्पत्ति शुद्धीकरण गरेको विभागको अनुसन्धानले देखाएको छ । तामाङले सहकारी संस्था प्रयोग गरी सहकारी संस्थाको नियम विधि र प्रक्रिया मिचेर एउटै समूहका कम्पनीहरुलाई सुरक्षण बापत धितो नलिइ एउटै समूहलाई ५० प्रतिशत ऋण दिने गरेको पाइएको छ । सहकारीमा रकम राख्न सर्वसाधारणलाई भने लोभ्याउने गरिएको विभागले उल्लेख गरेको छ ।

‘सर्वसाधारण निक्षेपकर्ताहरुलाई मासिक, चौमासिक, वार्षिक रुपमा आकर्षक व्याज दरमा १२, १४, १५ र १७ प्रतिशत व्याज भुक्तानी गर्ने, निक्षेप गरे बापत सुनका सिक्का उपहार दिने विश्वास र प्रलोभन दखाइ निर्धारित समयमा साँवा र व्याज नदिइ ठगी गरेको पाइयो,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभागले बिगो ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ कायम गरी मुद्दा दायर गरेको हो । तामाङ र श्रेष्ठले आर्जन गरेको सम्पत्तिको स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रुपान्तरण समेतका निषेधित कार्यहरु गर्ने तथा आफ्ना श्रीमती र छोरीहरुको नाममा समेत कारोबार गरेर सम्पत्ति शुद्धीकरण गर्ने गरेको पाइएको छ ।

विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ बिगो दाबी गरेको छ । यस्तै उनको नाममा रहेको १ कित्ता जग्गासहित विभिन्न ६९ कम्पनीमा रहेको विभिन्न कित्ता सेयरसमेत जफत गर्न माग गरिएको छ ।तामाङकी श्रीमती सिर्जना शाक्यसँग भने १ अर्ब ३ करोड ५४ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । यस्तै, उनीसँग भएको एउटा सवारी साधन, विभिन्न कित्ता जग्गा र विभिन्न स्थानको कसुरबाट प्राप्त भएको जग्गा पनि जफत गर्न विभागले माग गरेको छ ।

आज दायर गरिएको मुद्दामा तामाङकी छोरी प्रतिष्ठासँग १ करोड ८९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । यस्तै, प्रतिष्ठाको नाममा रहेको घरजग्गा र विभिन्न कम्पनीको सेयरसमेत जफत गर्न विभागले माग गरेको छ । सहकारी संस्थाका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठसँग भने २६ करोड ६१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । यस्तै, श्रेष्ठको नाममा रहेको बैंक मौज्दात, सवारी साधन र विभिन्न कम्पनीका सेयर जफत गर्न माग गरिएको छ । श्रेष्ठकी श्रीमती मिनासँग भने काठमाडौंको विभिन्न स्थानमा रहेको ७ कित्ता जग्गा जफत गर्न माग गरिएको विभागले जानकारी दियो ।

तामाङ र उनको परिवारले सिभिल सहकारी संस्थामा बचतकर्ताले राखेको रकम आफूखुसी चलाएर सम्पत्ति शुद्धीकरणको प्रयास गरेका हुन् । विभागले उनीहरु विरुद्ध अनुसन्धान गरी मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ । विभागका अनुसार तामाङ परिवारविरुद्ध ४२७ पेजको ‘आरोपपत्र’ तयार भएको छ ।