तालिबानले चार जनालाई गोली हानेर सार्वजनिक स्थानमै झुण्ड्याए - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

तालिबानले चार जनालाई गोली हानेर सार्वजनिक स्थानमै झुण्ड्याए



अफगानिस्तानमा तालिबानले चार जना व्यक्तिलाई सार्वजनिक स्थानमै झुण्ड्याएको छ। हेरात सहरमा चारजनालाई कारबाही गरिएको भन्दै उनीहरुको शव स्थानीय चौरहरुमा झुण्ड्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कारबाही गरिएका व्यक्तिहरू अपहरणकारी रहेको र चेतावनीस्वरुप शव सार्वजनिक स्थानमा झुण्ड्याइएको तालिबानले बताएको छ। उनीहरुलाई गोली हानेर शनिबार हेरातका विभिन्न चौरमा झुण्ड्याइएको हो।

तालिबानका नेता मुल्ला नूरुद्दिन तुराबीले यही हप्ता आफ्नो शासन व्यवस्थामा सार्वजनिक स्थानमा नभए पनि मृत्युदण्ड र शरीरका अंग काट्नेसहितका गम्भीर सजाय हुने बताएका थिए। त्यसको केही दिनपछि नै चारजनाको हत्या गरेर सार्वजनिक स्थानमा झुण्ड्याइएको हो।

अमेरिकाले शरीरका अंग काट्नेसहितका सजायको घोषणा तालिबानले गरेपछि त्यसको निन्दा गरेको थियो।

अफगानिस्तानको कानुनमा मृत्युदण्डको सजायको व्यवस्था रहे पनि पछिल्लो दुई दशक सार्वजनिक रुपमा यसलाई प्रयोग गरिएको थिएन। मृत्युदण्ड दिइए पनि सार्वजनिक स्थानमा हुने गरेको थिएन।

तालिबानले हत्या गरिएका चारजनाको शव सहरका खुला चौरमा क्रेनमार्फत झुण्ड्याइएको स्थानीय बासिन्दाले एसोसिएटेड प्रेससँग भनेका छन्।

गएको अगस्ट १५ मा तालिबानले काबुल नियन्त्रणमा लिएको थियो। अहिले तालिबानको अन्तरिम सरकारले अफगानिस्तान शासन चलाइरहेको छ।