तालिबानले सयौँ कैदीहरू जेलमुक्त गरे - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

तालिबानले सयौँ कैदीहरू जेलमुक्त गरे



एजेन्सी- अफगानिस्तानको एउटा कारागारबाट तालिबान लडाकूहरूले सयौँ बन्दी कैदीहरूलाई जेलमुक्त गरिदिएका छन्।

देशका प्रमुख सहरहरू कब्जा गर्ने क्रममा विद्रोही लडाकूहरूले देशको चारीकार कारागारबाट कैदीबन्दीलाई रिहा गरेका हुन्। कारागारमा थुनिएका आफ्ना लडाकूहरूसहित झण्डै ६०० जनालाई कारागारमुक्त गरिएको विद्रोहीहरूले जानकारी दिएका छन्।

कारागार सुरक्षाको जिम्मेवारी लिएका उच्च पदाधिकारीहरूको लापरबाहीका कारण लडाकूहरूले सजिलै कैदीहरूलाई जेलमुक्त गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

कारागारमा लागुऔषध कारोबार, हत्या, चोरीलगायतका अपराधमा संलग्न अपराधिहरूलाई समेत राखिएको थियो। ‘विद्रोही लडाकूहरूले आक्रमण गरेको कारागारमा राखिएकामध्ये अधिकांश कैदी लागुऔषध कोरोबार, अपहरण, हत्या, चोरीलगायतका अपराधमा संलग्न अपराधीहरू रहेका थिए,’ जेल प्रशासन निर्देशक सफिउल्लाह जालाल्जैले भने।

तालिबान विद्रोहीहरूले जेलमुक्त गराएका ६३० कैदीहरूमध्ये १३ जना महिला र तीन जना विदेशी रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन्।

जेलमुक्त गरिएका कैदीहरूमध्ये १८० जना तालिबान लडाकू छन्। ‘उनीहरूमध्ये १५ जना नेतृत्व तहका लडाकू थिए, उनीहरूलाई अफगानिस्तान सरकारले आजीवन काराबासको सजाय तोकेको थियो,’ एक अधिकारीले भने।

तालिबान लडाकूहरूले यसअघि निम्रोज प्रान्तको जारान्ज सहरमा रहेको कारागारबाट ३५० जनालाई जेलमुक्त गरेका थिए । उनीहरूमध्ये ४० जना तालिबान लडाकू रहेका थिए।

विद्रोही लडाकूहरूले अन्य ठाउँमा रहेका विभिन्न कारागारहरूबाट समेत सयौँ कैदी÷बन्दीहरूलाई जेलमुक्त गराएका छन्।