‘टालाटुली बाटुली गठबन्धन कठपुलती’ - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

‘टालाटुली बाटुली गठबन्धन कठपुलती’



कञ्चनपुर : एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको सरकारलाई कठपुतलीको संज्ञा दिएका छन्। आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताका लागि केही नगरी मिलिजुली बाँडेर खानलाई गठबन्धन बनाएको उल्लेख गरे।

‘यस क्षेत्रमा मुक्त हलियाका समस्या छन्, कमैयाका समस्या छन्, ती समस्या समाधान गर्न यो सरकार बनेको हैन। यो मिलीजुली बाँडेर खानलाई बनाएको हो’, उनले भने, ‘टालाटुली बाटुली कठपुलती, यसले जनताका लागि केही पनि काम गर्दैन।’

एमाले अध्यक्ष ओलीले सत्तारुढ काँग्रेसलाई आफूले गरेको कुनै पनि काम देखाउन चुनौती दिएका छन्। खुला मञ्चमा गरिएको चुनावी सभामा उनले सरकारको नेतृत्व मात्रै गरेर जनतालाई केही फाइदा नभएको उल्लेख गरे।

‘काँग्रेसले कुनै काम गरेको छ भने देखाओस्, यो काम गरेको छु भनेर देखाओस्’, उनले भने, ‘सरकारको नेतृत्वका लागि के गर्ने, सहभागिताका लागि के गर्ने भनेर हुँदैन, जनताका लागि पनि केही न केही गर्नुपर्छ।’

अध्यक्ष ओलीले आफूले हुलाकी राजमार्ग, पूर्व पश्चिम राजमार्ग, कर्णाली राजमार्ग, मदन भण्डारी राजमार्ग लगायतका ठूला योजना अघि बढाएको उल्लेख गरे।

पूर्वप्रधानमन्त्री ओलीले बहुमतको सरकार निर्माण गरी सुखी र समृद्ध देश बनाउनका लागि मतदान गर्न आह्वान गरेका छन्।