तलब नपाएपछि सन्दीप सहित अन्य खेलाडीले गरे आन्दोलन - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

तलब नपाएपछि सन्दीप सहित अन्य खेलाडीले गरे आन्दोलन



एजेन्सी :ग्लोबल टी-२० क्यानडा लिग खेलिरहेका खेलाडीले तोकिएको पारिश्रमिक नपाएपछि आन्दोलन नै गर्न परेको छ। जसका कारण लिगको दोस्रो चरणअन्तर्गत बुधबार टोरन्टो नेसनल्स र मोन्टेरियल टाइगर्सबीचको खेल २ घन्टा ढिलो गरी सुरू भएको थियो।

आन्दोलनमा रहेका दुवै टिमका खेलाडी मैदान जानका लागि बसमा चढ्न अस्वीकार गरेका थिए। खेलाडीले होटलमै बसेर तलब नदिएको भनेर विरोध जनाएका थिए।

खेलपछि आयोजकले प्रेस विज्ञप्ति नै जारी पर्नु परेको थियो।

‘मोन्टेरियल टाइगर्स र टोरन्टो नेसनल्सबीच बुधबारका लागि निर्धारण गरिएको खेल टिम र खेलाडीबीच केही प्रक्रियागत कुरा कारण ढिलाइ भएको थियो। सबै सरोकारवालाबीच बसेर समस्या समाधान भएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ।

ग्लोबल टी-२० मा नेपालका २ जना खेलाडी आबद्ध छन्। युवा लेग स्पिनर सन्दीप लामिछाने टोरन्टो नेसनल्समा ६० हजार डलर र तीव्र गतिका बलर सोमपाल कामी विन्नीपेग हक्समा ३ हजार डलरमा आबद्ध भएका थिए।

खेलाडीको आन्दोलनको विषयमा टेलिभिजन लाइभ कमेन्ट्रीमा कुनै जानकारी दिइएको थिएन।

ग्लोबल टी-२० क्यानडाले ट्वीटरमार्फत् घटना जानकारी गराए पनि खेलाडीको आन्दोलनको केही लेखेको छैन।

टोरन्टोको टिमको आन्दोनलको नेतृत्व भारतीय क्रिकेटर युवराज सिंहले गरेका थिए। इलिमिनेटरमा पुग्न जितको आवश्यकता भएको अवस्थामा पनि टोरन्टोले तलबको विषयमा आन्दोलन गर्दै जोखिम मोलेको थियो।

देखिने गरी २ टिमले आन्दोलन गरे पनि अन्य टिमले पनि खेलाडीको तलब नदिएको बताइएको छ।

१०-१५ प्रतिशत तलब प्रतियोगिता अघि दिनुपर्ने र बाँकी पारिश्रमिक पहिलो चरणको खेल सकिँदासम्म दिनुपर्ने लिगको नियममा व्यवस्था छ। पहिलो चरणको खेल गत आइतबार सकिएको थियो। तर ६ वटै टिमका अधिकांश खेलाडीले अहिलेसम्म तलब पाएका छैनन्।

यसअघि भ्यानक्यवर र विनिङपेग हग्सबीचको खेलअघि पनि खेलाडीले आन्दोलन गर्ने तयारी गरेका थिए। केही खेलाडीले ४५ प्रतिशत तलब पाएपछि आन्दोलन स्थगित भएको थियो। यद्यपी खेल पनि चिसो आउटफिल्डका कारण रद्द भएको थियो।

कतिपय खेलाडीले गत वर्षको प्लेयर अफ दि म्याच पुरस्कार समेत पाएका छैनन्।

ग्लोबल टी-२० क्यानडाको आयोजक बम्बई स्पोर्ट्स लिमिटेड हो। उसले युरो टी २० स्ल्याम पनि आयोजना गर्दैछ। युरो टी २० अगस्ट अन्तिमबाट सुरू हुँदैछ।