स्ववियु निर्वाचनको नाममा रकम असुल्न खोजेको भन्दै घोडाघोडी क्याम्पसमा तालाबन्दी
सुखड,कैलाली । कैलालीको घोडाघोडी बहमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको नाममा क्याम्पसले रकम असुल्न खोजेको भन्दै तालाबन्दी गरिएको हो ।
क्याम्पसले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनका लागि हालसम्मको बक्यौता रकम तिर्नुपर्ने र थप २ हजार रुपैयाँ तिरेर परिचय पत्र बनाउनुपर्ने बताएपछि विद्यार्थी आन्दोलित भएका हुन् । नेपाल विद्यार्थी संघ र अनेरास्वयूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै क्याम्पसमा तालाबन्दी गरेका छन् ।
विज्ञप्तिमा क्याम्पसले विविध शीर्षकमा लिँदै आएको ६०० रुपैयाँ हटाउनुपर्ने, स्ववियुबापत काटिएको रकम स्ववियुको खातामा हुनुपर्ने प्रयोगात्मक शुल्क घटाउनुपर्ने, विद्यार्थी वित्तीय कोषको छात्रवृत्तिबाट काटिएको १ हजारको हिसाब सार्वजनिक गर्नुपर्ने, र बक्यौता रकमको विषयमा छलफल गरी समाधान निकाल्नुपर्ने उल्लेख गरिएको छ ।
उता क्याम्पस प्रशासनले भने बिहीबार बसेको बैठकले निर्णय गरेको भन्दै हालसम्मको बक्यौता रकम तिर्नुपर्ने र, थप दुई हजार रुपैयाँ तिरेर परिचय पत्र बनाउनुपर्ने भन्दै विद्यार्थीलाई सूचना जारी गरेको थियो । घोडाघोडी क्याम्पसका प्रमुख विनोद खड्कालाई तालाबन्दी सम्बन्धि बुझ्न खोज्दा अहिले यसबारे केहिपनी नबोल्ने बताए ।