स्याङ्जामा कांग्रेसलाई राहत - Himal Post Himal Post
  • २६ मंसिर २०८२, बिहीबार
  •      Thu Dec 11 2025
Logo

स्याङ्जामा कांग्रेसलाई राहत



कास्की- आसन्न निर्वाचनमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले कांग्रेसलाई सघाउने गरी आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।

भट्टराईले पार्टीको निर्णयअनुसार उम्मेदवारी फिर्ता लिएका हुन् । स्याङ्जा २ (१) मा सत्ता गठबन्धनबाट कांग्रेसका भोजराज अर्याल र एकीकृत समाजवादीका भट्टराईको उम्मेदवारी परेको थियो ।

गठबन्धनबीच क्षेत्र बाँडफाँट गर्दा स्याङ्जाको दुई निर्वाचन क्षेत्रअन्तर्गत प्रतिनिधिसभाका लागि दुवै क्षेत्र कांग्रेसले लिएको थियो । प्रदेशसभाका लागि स्याङ्जा १ (१) माओवादीको भागमा परेको थियो भने बाँकी ३ वटा निर्वाचन क्षेत्र कांग्रेसले लिएको थियो । उम्मेदवारी दर्ता गर्दाको अघिल्लो दिन एकीकृत समाजवादीले लिने निर्णय भएपछि कांग्रेसले चौतर्फी विरोध जनाएको थियो ।

कांग्रेसको विरोधपछि तीनै क्षेत्र कांग्रेसले लिने भनिए पनि एकीकृत समाजवादीका भट्टराईले असहमति जनाउँदै पार्टीकै सल्लाहले उम्मेदवारी दिएको बताएका थिए ।

उम्मेदवारी फिर्ता गर्ने समयसम्म उनले फिर्ता लिन मानेनन् । निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धनको भावनाविपरीत उम्मेदवारी गतल रहेको भन्दै बुधबार फिर्ता लिएको जनाएका छन् । विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘मेरो उम्मेदवारी रहेको क्षेत्रका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको राय र सुझाव एवं पार्टीका केन्द्रीय अध्यक्षको निर्देशनबमोजिम मेरो उम्मेदवारीलाई आजैका मितिदेखि निष्क्रिय पारेको घोषणा गर्दछु ।’

जननिर्वाचित प्रतिनिधिको हैसियतले सेवा गर्ने मौका नमिले पनि एक राजनैतिक र सामाजिक अभियन्ताको हैसियतले जनताको दुःख र अप्ठ्यारोमा सधैं साथमा रहेर सेवा गर्ने प्रतिबद्धतासमेत उनले जनाए । ५ दलीय वाम लोकतान्त्रिक गठबन्धनको भावनाविपरीत आफ्नो उम्मेदवारी कदापि नहुने उनले बताएका छन् । ‘यो क्षेत्र हाम्रो भागमा परे पनि कार्यान्वयनको क्रममा समस्या भयो,’ उनले भने, ‘गठबन्धनको भावनाअनुसार फिर्ता लिएको छु ।’

यस क्षेत्र माधवकुमार नेपालले आफ्नो भागमा पारे पनि कांग्रेस कार्यकर्ता नमानेपछि कांग्रेसले छुट्टै उम्मेदवारी दिएको हो ।