सुरेन्द्र पाण्डे उम्मेदवारी दर्ता गर्न आफै नजाने - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सुरेन्द्र पाण्डे उम्मेदवारी दर्ता गर्न आफै नजाने



नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गर्ने भएका छन्। निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन पत्र दर्ताको समय निर्धारण गरेको छ।

पाण्डेले आमाको देहावसानको १२ औं दिनका कारण आफू स्वयं उम्मेदवारी दाखिलामा उपस्थित हुन असमर्थ भएको जानकारी दिएका छन्। ‘म आमाको देहावसानको १२ औं दिन का कारण आफु स्वयं उम्मेदवारी दाखिलामा उपस्थित हुन असमर्थ भएको छु र वारेसवाट उम्मेदवारी दाखिला गर्दैछु।’उनले भने,‘पार्टीका सवै नेता, कार्यकर्ता, शुभेच्छुकसंग आज संगै हुनसकिन। २५ गतेदेखि म तपाईंहरुसँगै हुनेछु।’

आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले सोका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तत्पर रहेको स्पष्ट पारेका छन्।

२०७४ सालको निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं. १ बाट पाण्डे निर्वाचित भएका थिए। पाण्डेले प्रतिद्वन्द्वी राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतले पराजित गरेका थिए। पाण्डेले ५० हजार ८ सय ९६ मत प्राप्त गर्दा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याएका थिए।