सुनको जलपमा पित्तलको राष्ट्रवाद ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सुनको जलपमा पित्तलको राष्ट्रवाद !



~~किङ खनाल~~

चर्का चर्का भाषणमा भारत र नाकाबन्दीको त्यो समयको विरोध, गतिला गतिला उखान टुक्का र राष्ट्रवादी भजन जनतालाई गिज्ज्याउने र भर्‍याङ बनाएर सत्तामा छिर्ने, जनता पिर्ने, र भारतको गुनको ऋण तिर्ने जुक्तिमात्र थियो भन्ने प्रमाणित गर्ने हामीसँग यो भन्दा ठुलो अवसर केही नआउला अब । अहिले राष्ट्रबाद र बाम एकतालाई मोदी भ्रमणले नंग्याउँने हो कि भन्ने शङ्काको चिसो पसिसकेको छ ।

कुन्नि कसले हो नाकाबन्दीताका एउटा लेख लेखेका थिए नाम बिर्सेँ तर लेखको पुरै आशय कण्ठस्थ छ । यस्ता जलप मात्र लगाएका राष्ट्रबादका धेरै चरण पार गरे जनताले यो एउटा खेती नै हो । यस्तो खेती जो सत्ता बाहिर रहँदा र शक्तिहीन हुँदा जनताको भावनासँग चोर पुलिस खेल्न प्रयोग सधैँ गरियो । त्यही राष्ट्रवादको खेतीबाट मौलाउने सत्ताको खेतीको यो अर्को श्रिङ्गखला मात्र थियो । खेती लाग्ने तर कसैले हार्भेस्ट गर्न नपर्ने राष्ट्रवादको खेती । सधैँजसो राष्ट्रवादको खेती कुहिएर गन्याएकै छ चाहे मालेको होस् या मण्डलेको । राष्ट्रवादको सागर धेरै चोटि बन्यो नेपालमा तर, सागर बनाउन प्रयोग गरिएका कुलाहरू, खोलाहरू र नहरहरू सत्ताको स्वादले जहिले पनि भत्किए । र स्वयम् पनि भत्किए जस-जसले सागर बनाए ।

यो सधैँ चल्ने प्रक्रिया हो, राजा, राप्रपा, काँग्रेस र अन्य शक्तिहरूले सादियौं देखि यसरी नै आफू सत्ता र शक्ति विहीन हुँदा गरेको सबैभन्दा भरपर्दो खेती ! र यसमा बाली जहिले पनि लाग्यो तर हार्भेष्ट भने कसैले गर्न सकेनन् । पछिल्लो समय यही खेतीको अत्यन्त उत्तम सिजन बन्यो जोतिबेला भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लगायो । अन्य सबै खेतीबाट नित्रिसकेका ओलीको लागी यो खेती ‘जेनेटिक मोडिफाई’ गरेको बिरुवा जस्तै भयो, हर्लक्कै हुर्कियो । भारतलाई नै कर्णाली बेच्न सबै भन्दा बढी सक्रिय र संलग्न भएको आरोप लागेका केपी ओलीले आफूलाई भारत निकट भन्ने र पाप पखाल्न गरिने गङ्गा स्नान नै थियो यो राष्ट्रवाद ।

आवेगमा र उत्तेजनामा सोल्टीको भाँडो जस्तै तात्ने हामी केही नेपालीलाई चर्को उत्ताउलो राष्ट्रवादको आगो लगाउन सफल भएका केपी शर्मा ओली आफ्नो अभियानमा उतिबेला निकै सफल पनि भए, यहाँ हरेक त्यस्ता अभियान सफल हुन्छन् जुन भावानासँग खेलेर चलाइन्छ । आखिर भाँडो तात्यो पनि चुनावको खाजा यही आगोको रापले पाक्यो । कर्णाली बिर्सेर, र’अको नजिकको सम्बन्ध बिर्सेर आवेगमा, हतासमा र हतारमा हामी मध्यका केही जमातले राष्ट्रबादी रात दिन लगाएर राष्ट्रवादी उत्पादन गरी छाड्यौँ पनि । चुनावको लगत्तै सोल्टीमा दिदी आइन, भोज भतेर भयो मैले तिमीलाई गाली गरेर चुचुरोमा पुगेँ माफ गर भनेर बिन्ती बिसाइयो । के यत्ति हैन त राष्ट्रवाद ?

राजनीतिमा जस्तो पनि सम्भव छ भन्ने उखानलाई चरितार्थ बनाउन उद्धत केही राजनीतिज्ञ मध्ये ओली पनि हुन् भन्दा अतिशयोक्ति नहोला । जनताको संवेदना जोडिएको नाकावन्दीवाला राष्ट्रवादल प्रस्ट गरिसकेको छ कि ओली झिना कुरामा अडान देखाएजस्तो गर्छन् तर स्वाभिमान र संस्कार जोडिएका ठुला कुरामा भताभुङ्ग छन् । उनी आवेगमा निर्णय गर्छन् र फुर्सदमा पछुताउँछन् ।

नाकाबन्दीमा सामान्य जनता प्रताडित भएको, दाउराका मुढा बोकेको, १४ सयको ग्यासलाई ५ हजार देखि ८ हजारसम्म तिरेको मात्रै समस्या थिएनन त्यति बेला, त्यति बेला साँच्चै भन्नेहो भने अनताले पनि ठुलै चुनौती लिएका थिए ओलीको भरोसामा । जनताको चुनौतीलाई ढाल बनाएर चुनाव जित्ने र भारत र मोदी समक्ष लम्पसार पर्नुनै मुख्य उद्देश्य भएको एमाले र ओलीको राष्ट्रवाद पित्तलको थियो यसमा ओलीले सुनको जलप लगाएका थिए भन्ने कुरामा दुईमत हुने कुरा नै भएन ।

जलप खुइलिने अवधि १-२ वर्षको हुन्छ, राष्ट्रवाद पनि यही समयमा खुइलियो । जलपको त विकल्प हुन्छ फेरी लगाउन सकिन्छ तर जनतालाई ढाल बनाएर चढेको सिँढीमा भने विकल्प हुँदैन । तल फर्किने खुड्किला मेटिसकेको हुन्छ ।

आज पनि सामान्य जनताको भावनामा कुठाराघात नगर्ने हो भने सिमानामा कांडेतार लगाउन सक्छन् जनता, गाडी नाचालाएरै केही दिन सरकारलाई सघाउन तयार छन् जनता, सास्ती जति सबै आफैले खेपेर कसैलाई राजनेता बनाउन तयार छन् जनता, भारत प्रति आजपनि जनताको दृष्टिकोण उस्तै छ जुन नाकाबन्दीमा थियो मोदीप्रति पनि जनताको हेराई उही छ जुन हिंजो थियो ।

जनताले कन्दमूल खान तयार छन्, नेताले आफ्नो बोलीमा अडान लिन सक्दैनन् । जनताले दाउरामा खाना पकाउन तयार छन्, नेताको बुद्धिमा बिर्को लगाएर बस्छन । जनता सीमामा ढाल बनेर उभिन तयार छन्, नेताले जनतालाई ढाल बनाएर सिँढी मात्र चढ्छन ।

सबै जसो ठुला दल र पुराना सरकारको हुतिमा विश्वास गर्न जनताले छाडिसके अस्मिता र देशको सवालमा, तर पछिल्लो समय ओलीबाट आशामात्र गरेरन भर परे जनता, यिनले गर्छन् कि भनेर विश्वास मात्र गरेनन जनता, यिनको विकल्प छैन भनेर लागे ।

अब लागौँ मोदी भ्रमण तर्फ

मोदी नेपाल आउंदैछन, यसलाई राजनैतिक भाषामा राजकीय भ्रमण भनिएको छ तर यो कुनै हालतमा पनि यो राजकीय भ्रमण भने होइन किनकि नाकाबन्दी पछाडि मोदीले नेपालीको सेन्टिमेन्ट बुझेका छन्, उनलाई काठमाण्डौमा सुरक्षित छु भन्ने लाग्दैन किनकि यहाँ उनी र भारतविरोधी नेपाली छन् भन्ने प्रस्ट थाहा छ । त्यसैले पहिले मधेसमा झर्दैछन, र अवस्था बुझेर माहौल बनाएर काठमाडौँ छिर्नेछन ।

खासमा उनलाई यो भ्रमण नखाउँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार जस्तै बनेको छ नेपाल आउन पनि पर्ने, काठमाडौँ र जनतादेखि डर पनि लाग्ने अवस्था छ उनलाई । चीनको प्रभाव रोक्नुपर्ने पनि छ, कम्युनिस्ट एकतालाई भाँड्न पनि छ, नेपालमा अस्थिरताको खेती पनि गर्नु छ, हामीलाई आत्मनिर्भर बन्नबाट रोक्नु पनि छ तर पछिल्लो समय पाएको वाहवाही पाउँदिन भन्ने पनि प्रस्ट छ त्यतिमात्र होइन सुरक्षाको चुनौती पनि छ ।

नत्र महन्त ठाकुर दिल्लीमा १८ दिन बसेर उनको भ्रमणको माहौल बनाएर तराईमै भ्रमण गराउने र केपी शर्मा ओली जस्तो राष्ट्रवादी प्रधानमन्त्रीलाई लुरुलुरु तराईमै बोलाएर भोज भतेरको आयोजना गर्नु पर्ने पटक्कै थिएन | देशको राजधानी काठमाडौँ हो, केन्द्र सरकार यहीँ छ र उनी पछिल्लो समय काठमाडौँ आएर अन्यत्र गएका हुन् ।

रह्यो स्वागत गर्ने कुरा मोदी जहाँ आएर उत्रिन्छन त्यै अलक निरन्जन गर्दै स्वागत गर्न पुग्नुपर्ने कस्तो राष्ट्रवाद हो वा कस्तो स्वाभिमान हो ?

भारत र मोदी नेपालको हित र नेपालको आत्मनिर्भरता चाहन्नन् भन्ने प्रस्ट छ र पनि हामीले नै गलफत्ती गर्नु कति आवश्यक छ ? यो विचारणीय सवाल हो | के हामी आफू आफ्नो ठाउँमा बस्न पनि सस्कने गरी परनिर्भर बनिसकेका छौँ त ?

सामाजिक सञ्जालमा केही युवाहरूले मोदी र भारतको विरोध अहिले पनि गरिरहेकाछन्, उनीहरू जस्तै अभिव्यक्त गर्न नसक्ने तर विरोध गर्ने एउटा ठुलो जमात छ खै जनताको सोंच र बिचारको कदर गरेको ?