हामीले जित्यौँ भने महिला सुरक्षित हुनेछन्: सुनिता डंगोल - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

हामीले जित्यौँ भने महिला सुरक्षित हुनेछन्: सुनिता डंगोल



काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेकी उपमेयर उम्मेदवार सुनिता डंगोलले आफूले जितेको खण्डमा श्रमिक महिलाहरूलाई कार्यस्थलमा सुरक्षित तरिकाले काम गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले महिला र पुरुषबीच ज्यालामा हुने विभेद हटाउने समेत बताइन् ।

उनकै दल एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार रहेका केशव स्थापितले केहीवर्ष अगाडी सँगै काम गर्ने दुई युवतीलाई यौन दुर्व्यबहार गरेको भन्दै चौतर्फी विरोध भैरहेका बेला उनले महिलालाई कार्यस्थलमा सुरक्षित बनाउने भाषण गरेकी हुन् ।

दुई दिनअघि मात्रै स्थापितले एक कार्यक्रममा प्रश्न गर्ने युवतीलाई तथानाम बोलेको भन्दै त्यसको पनि चर्को विरोध भएको थियो ।

श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डंगोलले महिनावारी भएका बेला महिलाहरूलाई कार्यालयमा बिदा दिलाउनका लागि पहल गर्ने पनि वाचा गरिन् ।

उनले भनिन्, ‘महिनावारीको पीडा महिलाले बाहेक पुरुषले राम्रोसँग बुझ्दैनन् । महिनावारीमा बिदा दिनका लागि हामी नीति-कार्यक्रम अघि सार्नेछौं । साथै कार्यस्थलमा महिलाहरु सुरक्षित महसुस गर्नुपर्छ । त्यसका लागि वातावरण बनाउने छौं ।’

उनले युवाको आवाज बुझेर एमालेले आफूलाई उपमेयरको उम्मेदवार बनाएको बताइन् । फेरि एमालेका अध्यक्ष देशको प्रधानमन्त्री बन्नुपर्ने बताइन् ।

डंगोलले कार्यक्रममा सांकेतिक भाषामा समेत आफ्ना कुरा राखेकी थिइन् ।