‘नो मोर सेम्’ नाटक: रजस्वला सम्बन्धी मिथकभित्रको मौनता तोड्दै बालविद्यार्थीहरूको सशक्त प्रस्तुति

लाजिम्पाटस्थित बेस्ट एलिमेन्टरी विद्यालयका विद्यार्थीहरूले समाजमा अझै गहिरोसँग जरा गाडेर बसेका रजस्वलासम्बन्धी लाज, मिथक र गलत धारणालाई चुनौती दिने उद्देश्यले तयार गरेको नाटक ‘नो मोर सेम्’ मंसिर ६ गते बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा सफलतापूर्वक मञ्चन गरियो। कक्षा ४ देखि १० सम्मका ३६ जना विद्यार्थी सहभागी भएर तयार गरिएको यो नाटक दिउँसो १ र ३ बजे गरी दुई चरणमा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा अभिभावक, शिक्षक तथा आमन्त्रित पाहुनाहरूको उत्साहजनक उपस्थिति थियो। दर्शकहरूले विद्यार्थीहरूको अभिनय, आत्मविश्वास र संवेदनशील विषयप्रतिको गम्भीरता देखेर बारम्बार ताली बजाए। यसअघि विद्यालयले प्रस्तुत गरेका ‘शिशिर बसन्त’, ‘चिप्ले ढुङ्गा’ र ‘ट्रान्जिट’ जस्ता सफल नाटकपछि, यस वर्ष विद्यालयले सामाजिक चेतनासँग प्रत्यक्ष सम्बन्धित विषय रोजेको देखियो।
नाटकमा कक्षा ८ मा अध्ययनरत मिरासोफी स्कट्ल्याण्डबाट नेपाल आएकी एक एक्सचेन्ज विद्यार्थीको रूपमा प्रस्तुत हुन्छे—जहाँ स्यानिटरी प्याड निःशुल्क र सजिलै उपलब्ध हुन्छन्। नेपाल आएपछि उसले यहाँका कठोर वास्तविकता र चुनौतीहरूसँग नजिकबाट परिचित हुन्छे।
उता, काठमाडौंका मिडिया पत्रकार घ्यान श्याम कञ्चनपुरमा महिनावारीका कारण छाउगोठमा बस्न बाध्य एक महिलालाई राति सर्पले टोकेको दर्दनाक घटनाको अनुसन्धानमा व्यस्त छन्। उनी समाजका पुराना मान्यता तथा गलत प्रथाले यस्ता दुर्घटनालाई निरन्तर उत्पन्न गर्नमा खेलेको भूमिकालाई गम्भीर रूपमा विश्लेषण गर्छन्।
दुवै पात्रले नेपालका गाउँ–सहरबीचको सोच, रजस्वला सम्बन्धी सामाजिक कलंक, स्यानिटरी प्याडको अभाव, तथा गलत प्रथाले मानसिक तनावदेखि ज्यान जानेसम्मका जोखिमलाई कसरी सामान्यीकृत बनाइदिन्छ भन्ने कुरा स्पष्ट रूपमा उजागर गर्छन्। अन्त्यमा विद्यालय, स्थानीय मिडिया र परिवारहरूको सहयोग पाएपछि उनीहरूले अझ व्यापक रूपमा सामाजिक चेतना फैलाउने प्रेरणा र दिशानिर्देशन प्राप्त गर्छन्।
कार्यक्रमको अन्त्यमा विद्यालयकी संस्थापक तथा प्रधानाध्यापक शुस्मा सुब्बा लामाले विद्यार्थीहरूको सिर्जनशीलता, साहस र सामाजिक उत्तरदायित्वप्रति प्रशंसा व्यक्त गर्दै भनिन्, “रजस्वला कुनै लाज मान्ने विषय होइन। बाल्यकालदेखि नै यसबारे खुलेर सिकाउन सके मात्र समाजमा अझै पनि रहने भेदभाव, छुवाछुत र मिथकहरू हट्दै जान्छन्।”
नाटककी निर्देशक सुनैना पन्थीका अनुसार, “विद्यार्थीलाई व्यावसायिक थिएटरमा प्रदर्शन गर्ने अवसर मिल्नु आफैंमा ठूलो सिकाइ हो। यसले उनीहरूलाई नाटक निर्माणका प्राविधिक पक्ष, प्रक्रियाहरू र कलात्मक अभिव्यक्तिको गहिरो ज्ञान दिन्छ। विद्यार्थीहरू प्रस्तुतिप्रति अत्यन्त उत्साहित, जुझारू र प्रतिबद्ध देखिए। नाटकको विषय उनीहरूको उमेरका लागि अत्यन्तै महत्वपूर्ण र सान्दर्भिक छ।”
‘नो मोर सेम्’ ले रजस्वला लुकाएर राख्नुपर्ने होइन, ज्ञान, समझ र सम्मानसहित खुलेर छलफल गर्नुपर्ने विषय हो भन्ने प्रभावकारी सन्देश सम्प्रेषण गर्यो। विद्यालयले आगामी दिनमा पनि सामाजिक विषयमा आधारित सिर्जनात्मक नाटक र कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

