सुन काण्ड: कर्मचारीको बयान, एक पटकमा २ लाख ५० हजार कमिसन ! - Himal Post Himal Post
  • ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
Logo

सुन काण्ड: कर्मचारीको बयान, एक पटकमा २ लाख ५० हजार कमिसन !



 

थाई एयरलाइन्सका कर्मचारी दोराम खत्रीको बयान 

मैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको थाई एयरवेजमा काम गरेको ३०/३१ वर्षजति भयो। काम गर्ने सिलसिलामा थाई एयरवेजमा टेक्निसियनको काम गर्ने गोपालकुमार श्रेष्ठ, जिओको काम गर्ने वीरेन्द्रमान श्रेष्ठ लगायत बालकृष्ण श्रेष्ठ, एलबी मगर भन्ने लालबहादुर मगर, सम्बिर प्रसाद तोलाङ्गे, सानु बन, कपिलराज पुरी र हेमन्त गौतम लगायतसँग राम्रो चिनजान र आपसी सम्बन्ध बढ्दै गयो।

सन् २०१३ को डिसेम्बर महिनातिर एकदिन काम गर्ने सिलसिलामा गोपालकुमारले मलाई हामी अब सबै मिलेर सुन तस्करीको काम गर्नुपर्छ, समय मिलाएर हामी सबै होटलमा बसेर सल्लाह गरौं भने। त्यस अनुसार हामी साँझतिर सिनामंगलको एक होटलमा गोपालकुमार, वीरेन्द्रमान लगायत हाल मसँगै पक्राउ परी आएका एलबी मगर भन्ने लालबहादुर मगर, कपिलराज पुरी, हेमन्त गौतम, बालकृष्ण श्रेष्ठ, सानु बन लगायत बसेर सुन तस्करी गर्ने सल्लाह गर्‍यौं।

गोपालकुमारले भुजुङ गुरुङको मानिसहरुले थाई एयरलाइन्सबाट सुन लिएर आउँछन्, सुन पास गराएपछि एक केजीको ३५ हजारको दरले पैसा पाइन्छ भने। हामीले एयरपोर्टबाट बाहिर पास गराउनुपर्छ भनेपछि हामी पनि सहमत भयौं। सल्लाह गर्न बसेको २/३ दिनपछि कसले के काम गर्ने भनेर कामको बाँडफाँट भयो।

सोही अनुसार हाम्रो टिमले भुजुङ गुरूङसँग पनि एक होटलमा भेट गर्‍यौं। भेटमा भुजुङ गुरूङले हामीलाई सुन मेरो घरमा कसले ल्याउने हो भनेर सोध्यो। वीरेन्द्रमानले सुन म पुर्‍याउन आउँछु भन्यो। पैसाको कुरा गर्दा निजले एक केजीको ३५ हजार दिने कुरा गर्‍यो। सल्लाह गरेको १ महिनापछि पहिलो पटक दुबईबाट बैंकक हुँदै आउने थाई एयरलाइन्सको फ्लाइट नम्बर टिजी ३१९ को जहाजमा ट्वाइलेटमा सुन आयो।

सुन आउने कुरा अघिल्लो दिन नै भुजुङ गुरुङले गोपाललाई भनेको रहेछ। गोपालले हामीलाई खबर रिले गर्‍यो। हाम्रो टिमको सल्लाहमा हामीले जहाजमा चढ्ने–झर्ने भर्‍याङमा बनाएको प्वालमा ट्वाइलेटबाट सुन झिकेर हाल्ने भनेर अघिल्लो दिन नै सल्लाह भएको थियो। सोही अनुसार कपिलराज पुरीले त्यो दिन जहाजभित्र ट्वाइलेट लगायत सफा गर्ने ड्युटी मेरो टिमलाई दिएको थियो। मैले सोही अनुसार प्यासेन्जरहरू सबै ओर्लिएपछि म ट्वाइलेटमा छिरेँ। ट्वाइलेटभित्र रहेको मानिसले ट्वाइलेट गर्ने कमोडको कभरभित्र खैरो रंगको टेपले बेरेर ४ पिस सुन राखेको रहेछ। मैले उक्त सुन झिकेर फोहोर भएको डस्टबिनमा हालेर जहाजको ढोकामा ल्याएर प्वालबाट इञ्जिनसहितको भर्‍याङमा खसालिदिएँ।

बालकृष्ण श्रेष्ठ लगायतले एयर होस्टेजहरूलाई छेक्ने, वीरेन्द्रमान र गोपालले मानिसहरुको आवतजावत व्यवस्थापन गर्ने काम गरे। त्यसपछि जहाजले उडान भरेपछि भर्‍याङलाई ड्राइभ गरेर हाम्रो अफिस अगाडि ल्याएर राख्ने काम एलबी मगरले गर्‍यो।

रात परेपछि उक्त सुन गोपालले भर्‍याङबाट झिक्यो र वीरेन्द्रमानले सुन गोपालको स्कुटीमा बनाएको फल्स बटनमा राखेर भुजुङ गुरूङको घरमा पुर्‍याइदियो। भोलिपल्ट मैले सुन तस्करी काम गरेवापत गोपालको हातबाट ५० हजार पाएँ। गोपाल र वीरेन्द्रमानले अलि धेरै पाउँछौ भन्थे। अरूले पनि काम अनुसारको पैसा पाएँ भन्दै थिए। महिनामा ४ पल्ट, ६ पल्ट हुँदै १०/१२ पल्टसम्म सुन आउन थाल्यो। हामीले पनि सोही अनुसार विदेशबाट जहाजमा आएको सुन एयरपोर्टबाट बाहिर पास गराउँदै गयौँ। हामीले भुजुङ गुरुङबाट पहिलेभन्दा क्रमशः बढी पाउन थाल्यौँ।

अलि पछि सम्बिरप्रसाद तोलाङ्गे र तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङ पनि हाम्रो ग्रुपमा सामेल भए। सुन पुर्‍याउने काम राति अन्दाजी १०/११ बजेतिर सानु बन र गोपालकुमारले गर्थे। निजहरूले कहिले धेरै गोजी भएको जिनको ज्याकेटमा लुकाइछिपाई र कहिले सानु बनको मोटरसाइकलको तेलको ट्यांकीमा र कहिले गोपालको स्कुटीमा बनाएको फल्स बटनमा लुकाएर एयरपोर्ट बाहिर लैजाने गर्थे। यसरी पास गरिएको सुन धेरैजसो वीरेन्द्रमानले, कहिलेकाहीँ गोपालले र कहिलेकाही एलबि मगर र सानु बन समेतले हामीलाई सुन तस्करीको सेटिङ मिलाउने भुजुङ गुरूङको घरमा पुर्‍याइदिने गर्थे।

यसरी सुरू–सुरूमा एक पटकमा ६/७ केजीबाट थालिएको सुन तस्करी ८/१० केजी, १५/१६ केजी, हुँदै ३३ केजीसम्म आउन थाल्यो। यसरी सुन तस्करीको काम गरेवापत एक पटकमा मैले कम्तीमा ५० हजारदेखि बढीमा २ लाख ५० हजारसम्म बुझ्ने गर्थेँ। कहिलेकाहीँ महिनामा १०/१५ चोटिसम्म सुन आउँथ्यो भने कुनै महिना आउँदैन थियो। २०७२ सालमा नेपालमा आएको भुइँचालोका कारण केही समय सुनको तस्करी भएन। त्यसको ४/५ महिनापछि फेरि सल्लाह भई काम सुरू भयो।

सुन तस्करी गर्ने क्रममा सबैले तोकिएको आ–आफ्नो जिम्मेवारी पूरा गर्ने गरेका थियौँ। हेमन्त गौतम, तक्ले भन्ने पुण्यप्रसाद लामा, सम्बिर प्रसाद, बालकृष्ण श्रेष्ठ समेतले मान्छे रोक्ने, हेर्ने लगायतको काममा सहयोग गर्थे भने मेरो काम भनेको ट्वाइलेटमा छिरेर डस्टबिनमा सुन राखेर भर्‍याङमा हाल्ने हुन्थ्यो। म बाहेक अरूले त्यो काम गर्दैन थियो। त्यसै क्रममा भुजुङ गुरूङले अबदेखि मेरो घरमा सुन नल्याउनू, घरमा शंका हुन्छ, मेरो एक जना भान्जा आउँछ, उसैलाई दिनू भनेपछि हाम्रो टिमले सोही अनुसार गर्न थालेको छ भन्ने कुरा साथीहरू मार्फत थाहा पाएको थिएँ। भुजुङ गुरुङको भान्जालाई विदेशबाट आएको सुन करिब २०/२२ चोटि लगेर दिने काम भयो।

त्यही क्रममा वीरेन्द्रमान र गोपालकुमारले अब हामी काम नगरौँ, अरूको घरघरमा लगेर सुन दिन सकिँदैन, रिस्क हुन्छ, हामी चाहिँ अब काम गर्दैनौँ भनेपछि सुन तस्करीको काम करिब ५÷६ महिना बन्द भयो। त्यसपछि सानु बनले गोपालकुमारको ठाउँमा अब म जिम्मा लिएर काम गर्छु भनेर भुजुङ गुरूङ मार्फत फेरि सेटिङ मिलायो र सोही बमोजिम फ्लाई दुबई हुँदै आएको सुन नेपाल एयरलाइन्सका कर्मचारी राजु महर्जन मार्फत हाम्रो अफिसमा आउने र पुनः भुजुङ गुरुङले भनेको ठाउँमा पुर्‍याउने काम सुरु भयो। पछि गोपालकुमारलाई समेत सानु बनले त्यो समूहमा समावेश गर्‍यो। त्यो बेलामा वीरेन्द्रमान श्रेष्ठ बिदा बसेको थियो।

वीरेन्द्रमान बिदाबाट फर्किएपछि थाई एयरबाट फेरि सुन तस्करीको काम सुरु भयो। सन् २०१८ जनवरी २०, २१ र २३ तारिखमा थाई एयरवेजबाट सुन आउँदै छ भन्ने कुराको जानकारी हामी सबैलाई भयो, सोही अनुसार जनवरी २० र २१ तारिख थाई एयरवेजबाट सदा झैं १२÷१२ पिस सुन तस्करी भएर आयो र हामीले पनि पहिलेको जस्तै गरी आ–आफ्नो काम सफलतापूर्वक सम्पन्न गर्‍यौं। रात परेपछि उक्त सुन पुर्‍याउन सानु बनसँग को–को गयो, मलाई थाहा भएन। भोलिपल्ट अफिस आउँदा सुन सम्बन्धित ठाउँमा पुग्यो भन्ने कुरा सुनेँ।

त्यसैगरी जनवरी २३ तारिख (२०७४ माघ १९) को दिन थाई एयरवेजमा १२ पिस सुन आयो। सुन जहाजबाट निकाल्यौँ, साँझ परेपछि म घर गएँ। सुन पुर्‍याउन सानु बनसँग को गयो थाहा भएन। सो दिन राति म घरमा खाना खाएर बसिरहेको थिएँ, अन्दाजी रातिको ८ बजेतिर एलबी मगर भन्ने लालबहादुर मगरले मलाई फोन गरेर ‘आजको सामान सानु बनले पुर्‍याउन जाँदा बाटोमा लुटियो रे सानु बनले फोन गरेर भनेको’ भन्दै सुनाएपछि म छक्क परेँ। अनि तुरून्तै गोपालकुमार श्रेष्ठलाई मैले फोन गरेर सोधेँ। उसले पनि सुन लुटिएको कुरा हो भनेर भन्यो।

हप्तामा बुधबार र बिहीबार मेरो छुट्टी हुने भएकाले भोलिपल्ट २०७४ माघ १० गते बुधबार र ११ गते म अफिस गइनँ। शुक्रबार १२ गते अफिस जाँदा सबैले सुन लुटिएको कुरा गरे। सो दिन दिनको ४ बजेतिर सुन हराएको विषयमा कुरा गर्न सिनामंगलतिरको एक होटलमा हाम्रो ग्रुपको सबै जना त्यहाँ पुग्यौँ। त्यहाँ पुग्दा हाम्रो ग्रुपका साथीहरू बाहेक मैले पहिले नदेखेको, भुजुङ गुरुङको भान्जा भन्ने व्यक्ति, छिरिङ भन्ने व्यक्ति र मोहन काफ्ले लगायतका मैले नचिनेको ७÷८ जना मानिस थिए। सुन कसरी कसले लुट्यो, कता लग्यो भनेर सानु बनलाई केरकार गर्‍यो। उनीहरूले थाई एयरलाइन्सको टिमको बदमासी हो भन्ने निष्कर्ष निकाल्यो र हामी सबैलाई पठाइदियो।

म माघ १३ गते पनि अफिस गएँ, त्यो दिन मलाई सोधपुछका लागि कसैले बोलाएन। तर, अरू साथीहरूलाई पालैपालो सोधपुछका लागि विभिन्न ठाउँमा बोलायो। माघ १४ गते अफिसमा भएको समयमा मलाई पनि मैले नचिनेको मान्छेले नयाँ नम्बरबाट फोन गरेर शम्भु मार्गमा बोलायो। म अफिसबाट एक्लै गएँ। उनीहरूले भनेको होटलको कोठामा पुग्दा हाम्रो टिमको एलबी मगर भन्ने लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ सहित अरू हाल नाम–थर थाहा हुन आएका मोहन काफ्ले, मृतक सनम शाक्य लगायतका ८÷१० जना मानिस थिए।

त्यहाँ उनीहरूमध्येका १ जनाले मलाई छुट्टै एउटा कोठामा लगेर मैले कहिल्यै नाम नसुनेको हाल मात्र नाम–थर थाहा पाएका गोरे भन्ने चुडामणि उप्रेतीसँग मोबाइलमा भिडियो कलमा कुरा गरायो। भिडियो कलमा कुरा गर्ने क्रममा निज गोरे भन्नेले सुरुमा के छ खबर भनेर सोध्यो अनि यसको मुटु छाम भनेर अरूलाई खटायो। उसका एक जनाले मेरो छातीमा हात राखेर मुटु छाम्यो, ६०÷७० छ भनेर यस्तै जवाफ दियो। त्यसपछि गोरे भन्नेले मेरो सामान हरायो, कसले खायो भन् भनेर सोध्यो। मैले मलाई केही पनि थाहा छैन, म निर्दोष छु, मेरो काम भनेको जहाजबाट सुन झिक्ने मात्र हो भनेर भनेपछि मलाई पहिलेकै कोठामा लग्यो। त्यसपछि वीरेन्द्रमान श्रेष्ठलाई गोरे भन्ने चुडामणि उप्रेतीसँग भिडियो कलमा कुरा गर्न लग्यो।

त्यसपछि मलाई मुटुको औषधि खानुपर्ने रैछ भनेर घर पठाइदियो। माघ १५ गते पनि गोरे भन्ने चुडामणि उप्रेतीका केटाहरूले ड्युटी सकेर घर पुग्नेबित्तिक्कै फोन गरेर पहिलेकै ठाउँमा बोलायो। पहिले जस्तै हाम्रो टिमलाई सामूहिकमा भिडियो कलमा गोरे भन्नेसँग कुरा गरायो। भुजुङ गुरूङको टिमलाई पनि फोन गरेर बोलायो। तर, उनीहरू कोही पनि आएनन। हामी सबै घरतिर गयौँ। माघ १६ गते अन्दाजी ६/७ बजे तिर पनि हामीलाई पहिलेकै होटलको कोठामा बोलायो। त्यहाँ भिडियो कलमा कुरा गर्ने गोरे पनि थियो। ऊ बाघ जस्तो गज्रेर आयो। हामीलाई अलग–अलग कोठामा लगेर ‘सामान कहाँ छ, निकाल्’ भनेपछि मैले ‘लगेको छैन, निर्दोष छु’ भन्ने बित्तिक्कै गोरेले लात्ती उठाएर अनुहारमा हान्यो। मैले छल्दा मेरो दाहिने हातको माझीऔंला भाँचियो। रगत बग्यो, म रोएँ।

मलाई अर्को कोठामा लगेपछि गोरेले मलाई तँ निर्दोष होस् भने माफ पाउँछस्, तर दोषी होस् भने छाड्दिनँ भन्यो। सबैलाई छुट्टाछुट्टै राखेर उसले सोधपुछ र कुटपिट गर्‍यो। बालकृष्ण श्रेष्ठले मलाई अस्पताल लग्यो। त्यही रात एलबी मगर, पुण्यप्रसाद लामा, गोपालकुमार र सानु बनलाई गोरेले सिन्धुली लगेछ। सो कुरा मैले भोलिपल्ट थाहा पाएँ।

माघ १७ र १८ गते मेरो बिदा भएकाले अफिस गइनँ। त्यसपछि एलबी मगर लगायतलाई सिन्धुलीबाट फिर्ता ल्याएपछि हामी सबै जना मिलेर भुजुङ गुरुङको घरमा सुन हराएको विषयमा कुरा गर्न पनि गयौँ। २/३ दिन सानु बन अफिस नआएपछि हामी उसलाई खोज्न निजको घर कोटेश्वर र बौद्धमा पनि गयौँ, दुबैतिर उसको फोन पनि लागेन, परिवार समेत भेटिएन।

मिति याद भएन, एकदिन गोरेले मलाई र बालकृष्ण श्रेष्ठलाई फोन गरेर ‘सुन लुट्ने मान्छे पत्ता लाग्यो, छाती फुलाएर हेर्न आऊ’ भनेर सोह्रखुट्टेस्थित एउटा घरको कोठामा बोलायो। त्यहाँ जाँदा गोरे, मोहन काफ्ले, सनम साक्य सहित ४/५ जना र उनीहरूसँग एक जना अन्दाजी ५/६ वर्षको बच्ची थियो। बच्चीले हातमा कालो रंग दलेर नक्सा जस्तो बनाएको थियो। उक्त नक्सा हामीलाई पनि हेर्न भन्यो। हामीले केही पनि देखेनौँ। उक्त नक्सामाथि मोबाइलको क्यामेरा अन गरेर हेर्दै बच्चीले सुन हराएको स्थानमा सानु बन, पुण्यप्रसाद लामा (तक्ले) को लोकेसन देखायो भनिन्।

हात हेर्ने बच्चीसहित हामीलाई कोटेश्वरमा रहेको सानु बनको घरमा लगियो। गोरेसहित अरू गाडीमा नै बसे। बच्चीलाई सानु बनको घरभित्र लगेर कोठा देखाएर ल्याऊ भनेपछि मैले उनलाई भित्र लिएर गएँ। सानु बनको श्रीमतीलाई दाइ खोइ भनेर सोधेँ। घरमा छैन भन्नुभयो। बच्चीले एउटा कोठा हेरेपछि हामी बाहिरियौँ। बाहिर आएर बच्चीले गोरेलाई यो घर होइन भनिन्। अनि हामीलाई सुन हराएको ठाउँतिर घुमायो। ठाउँ यकिन भएन। बच्चीलाई घरमा लगेर छाडेपछि हामीलाई पनि छाडिदियो।

यस्तैमा माघ २२ गते सानु बन अफिस आएको थियो। दिनको अन्दाजी साढे ३ बजेतिर उसको एयरपोर्टभित्रै फ्युल ट्यांकरले किचेर मृत्यु भएछ। सो दिन गोरेका केटाहरू एयरपोर्ट बाहिर सानु बनलाई समाउन बसिरहेका छन् भन्ने कुरा एलबी मगरले मलाई पनि भनेको थियो।

सानु बन मरेको करिब १ हप्तापछि गोपालकुमार श्रेष्ठले मलाई भेटेर ‘गोरेले पैसा मागेको छ, कति सक्छौ देऊ’ भनेपछि मैले उसको हातमा ३० लाख दिएँ। उसले गोरेको मान्छेलाई दिएँ भन्थ्यो। त्यसपछि हामी सबै जना आ–आफ्नो ड्युटी गर्न थाल्यौँ। गोरे र उसका केटाहरूले समेत फोन गर्न र बोलाउन छाडे। सुन हराएको कुरा सेलाउदै गयो।

त्यही क्रममा २०७४ फागुन २०÷२१ गतेतिर होला, साढे ३३ केजी सुन हराएको विषयमा मोरङ जिल्लामा सनम शाक्यको लाश गाडीमा भेटियो, गाडीसहित ३ जना मान्छे पनि पक्राउ परेको कुरा पत्रपत्रिका र साथीहरूबाट थाहा पाएँ। सनमको हत्या गोरे र उसका केटाहरूले गरेको भन्ने कुरा पनि हल्ला भयो। सुन तस्करीको लागि एमके अग्रवाल भन्ने मोहनकुमार अग्रवालले लगानी गर्ने गरेको कुरा पछि थाहा पाएँ।

त्यसरी नै सेटिङ हुँदै सुन ल्याउन अग्रवाल मार्फत गोरे र भुजुङ गुरूङले जिम्मेवारी दिएका मानिस छिरिङ समेतले हामीलाई शंका गरिरहेका थिए। हाम्रो थाई एयरलाइन्सको ग्रुपका ३ जनालाई गोरेले विभिन्न ठाउँमा लगेर यातना समेत दिइरहेका थिए। गोरेले उक्त सुन नभेटिए तिमीहरूबाट असुल उपर गर्छु र असुल भएन भने तिमीहरूलाई सिध्याउँछु भनी धम्की दिएको थियो। उसले पैसा आवश्यक प¥यो, ‘एयरपोर्टको सबै टिमसँग उठाएर ४/५ करोड जति देऊ’ भनेर मागेपछि हामीले अब सुन भेटिएन भने हाम्रो उपाय छैन, बरु हामी समेत मिलेर उसलाई उक्त सुन खोज्न अनुरोध र उक्साउने काम गर्नुपर्छ अनि गोरेलाई उक्त सुन खोज्न आर्थिक सहयोग समेत गर्नुपर्छ भनेर सबैसँग उठाई २ करोड रुपैयाँ जति दिएका थियौँ।

यसका साथै गोरेका लागि एक महिना फ्रि मा काम गरिदिने सल्लाह गरेका थियौँ। हामीले शारीरिक र मानसिक यातना पनि पाएको र पैसा पनि उठाएर दिएका थियौँ। यसैले हामी सबैले सल्लाह गरेर गोरेलाई हामीलाई तपाईँकै ग्रुपका केटाहरूले भुजुङ गुरुङ र छिरिङका मानिसहरूसँग मिलेर उक्त सुन लुटेकोमा शंका छ, जोसुकैलाई जस्तोसुकै यातना दिएर भए पनि, कसैलाई सिध्याएर भए पनि उक्त सुन पत्ता लगाउनुपर्‍यो भनेर गोरेलाई अनुरोध र उक्साहट गरेका थियौँ। उसले पनि मैले बोलाएको बेला तिमीहरू आउनुपर्छ, क–कसलाई सिध्याउनुपर्छ, जस्तोसुकै रिस्क लिएर भए पनि म सुन पत्ता लगाउँछु भनेको थियो।

सोही बमोजिम सुन पत्ता लगाउने क्रममा हाम्रो ग्रुपका पुण्यप्रसाद लामा तामाङ र एलबी मगरलाई समेत गोरे र उसका केटाहरूले धरान र मोरङमा लगेर यातना समेत दिएका थिए। गोरेले आफ्नो टिमका मानिसहरुलाई समेत यातना दिने गरेको थियो। सोही क्रममा टिमभित्रका केटाहरूमध्ये सनम शाक्यलाई करेन्ट समेत लगाएर यातना दिने क्रममा उसको मृत्यु भएछ।

ad