सुन काण्डमा नयाँ खुलासा: तस्करीमा दाउदको कनेक्सन ! - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

सुन काण्डमा नयाँ खुलासा: तस्करीमा दाउदको कनेक्सन !



काठमाडौं–आजकल  बजारमा दुई कुराको चर्चा उत्कर्षमा छ, एउटा ३३ किलो सुन र अर्को ‘गोरे’ उर्फ चुडामणी उप्रेती । सोहि सुन तस्करी र सनम शाक्य हत्यामा मंगलबार पक्राउ परेका चूडामणि उप्रेती ‘गोरे’ले सुन काण्डको नयाँ खुलाशा गरेका छन् ।

उनले बयानमा नेपालमा हुने सुन तस्करीमा कुख्यात अन्डरवर्ल्ड डन दाउद इब्राहिम समूहको समेत संलग्नता रहेको बताएका छन्। गृह मन्त्रालयको विशेष अनुसन्धान समितिलाई दिएको बयानमा उनले यस्तो बताएका हुन्।

दिनभर पत्रपत्रिका र सामाजिक संजालमा उत्कर्षमा रहेको सुनकाण्डबारे भएको यो खुलासा अत्यन्तै सम्बेदनशील कुरा हो । गोरेलाई समितिले मंगलबार पक्राउ गरी सार्वजनिक गरेको थियो। सार्वजनिक गर्नुअघि भिडियोमा उनको बयान रेकर्ड गरिएको थियो। बयानमा उनले आफू सुन तस्करीको व्यवस्थापक मात्र भएको र मुख्य लगानीकर्ता दाउद समूहसँग मिलेको बताएका हुन्। समितिको अनुसन्धानमा दुबईबाट एक समूहले सुन पठाउने गरेको पाइएको छ। दुबईलाई दाउदको आधारभूमि मानिन्छ।

स्रोतका अनुसार, गोरेले सुन तस्करीमा ५ जना मुख्य लगानीकर्ता भएको बताएका छन्। मोहन अग्रवाल, भुजुङ गुरुङ, डा डेविड भन्ने छिरिङ घले नेपालका मुख्य लगानीकर्ता भएको उनको भनाइ छ। यसका साथै तस्करीमा दुई भारतीय व्यापारीको पनि लगानी रहेको उनले बताएका छन्। जैन भनिने कोलकाताका एक व्यवसायी र उनका साथीको विवरण गोरेले समितिलाई दिएका छन्।

‘उनीहरु दाउदकै मान्छे हुन्’, बयानमा उनले भनेका छन्, ‘धेरैजसो सुन उनीहरुले नै भारत लैजाने गर्थे। नेपालमा त यसको बजार नै छैन।’

सुन तस्करीमा दुबईदेखि नै दाउद समूहसँग सम्पर्क रहेको गोरेको दाबी छ। विमानस्थलबाट भित्रिएको करिब ३८ सय किलो सुन दुबईबाटै आएको थियो। दुबईबाट सुन पठाउने हरिशरण खड्काको पनि दाउदको समूहसँग सम्बन्ध रहेको सूचना उनले प्रहरीलाई दिएका छन्। खड्का लामो समयदेखि दुबईमा बसेर सुन र हुन्डीको धन्दा गर्दै आएका छन्। उनी गत वर्ष सिआइबीले बरामद गरेको साढे ३३ किलो सुनका पनि फरार अभियुक्त हुन्।

अनुसन्धान समितिका संयोजक ईश्वरराज पौडेल गोरेले थप केही सूचना दिएको र त्यसमा अनुसन्धान भइरहेको बताउँछन्।

अनुसन्धान समितिका अनुसार, समूहले पछिल्लो ५ वर्षमा ३८ सय किलो सुन तस्करी गरेको थियो। त्यसमध्ये ८० प्रतिशत सुन भारत जाने गरेको थियो।

‘सुनको पैसा पनि धेरैजसो भारतबाटै हुन्डीमार्फत दुबई जाने गरेको देखिन्छ’, स्रोत भन्छ, ‘गोरेको बयान र केही तथ्यहरु हेर्दा दाउद समूहका व्यक्तिहरु यसमा आबद्ध नहोलान् भन्न सकिन्न।’

अनुसन्धान समिति समक्ष गोरेले सुनमा आफ्नो लगानी नभएको दाबी गरे पनि उनको पनि तस्करीमा थोरै लगानी हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन्।

गोरेले बयानमा भनेका छन् ‘नेपालमा त यसको बजार नै छैन, धेरै सुन जाने भनेको त भारतमै हो ।’