३३ किलो सुन काण्ड: एकमहिने अनुसन्धान नै शंकाको घेरामा ! - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

३३ किलो सुन काण्ड: एकमहिने अनुसन्धान नै शंकाको घेरामा !



७ माघमा त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तलाई बुधबार जिल्ला अदालत मोरङमा पेस गरिँदै छ । विभिन्न मितिमा पक्राउ परेका उनीहरूको मुद्दा आजबाट पूर्ण रूपमा अदालत प्रवेश गर्ने भए पनि मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई भने प्रहरीले अहिलेसम्म पत्तो लगाउन सकेको छैन । गायब भएको सुनबारे पनि प्रहरी बेखबर छ ।

सुन तस्करी प्रकरण छानबिन गर्न गृह मन्त्रालयबाट गठित सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिको म्यादसमेत आजबाटै सकिँदै छ । उक्त छानबिन समिति एक महिनाका लागि भन्दै २० चैतमा गठन गरिएको थियो । गृह प्रवक्ता रामकृष्ण सुवेदीले महिना दिनको अनुसन्धानपछि समितिले अध्ययन प्रतिवेदन तयार पारेको बताए । समितिकै छानबिनका आधारमा २८ जना पक्राउ परेका हुन् । तर, एकमहिने छानबिनले तस्करीको मुहान भने पहिल्याउन सकेन ।

पक्राउ परेकाविरुद्ध संगठित र ज्यान मुद्दा लगाइएको छ । सुन तस्करीसँगै भरिया सनम शाक्यको हत्यामा संलग्नता ठहर गर्दै उनीहरूविरुद्ध ज्यान मुद्दा लगाइएको हो ।

तर, छानबिन समितिले केही एयरलाइन्समा कार्यरत तल्लो तहका केही कर्मचारी तथा प्रहरीलाई मात्रै निसाना बनाएर कमजोर अनुसन्धान गरेको नेपाल प्रहरीका पूर्वएआइजी तथा विमानस्थल सुरक्षा गार्डका पूर्वप्रमुख विज्ञानराज शर्मा बताउँछन् ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।