१० लाख लिएर सुन व्यवसायीको हत्या !
काठमाडौं – झापा बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्या गर्न १० लाख ५० हजार रुपैयाँ सुपारी दिइएको प्रहरी अनुसन्धानले देखाएको छ ।
हत्या योजनाकार स्थानीय ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय पारसकुमार देवले मुखियाको हत्या गर्न दुई जनालाई १० लाख ५० हजार रुपैयाँ सुपारी दिएको खुलेको हो ।
थप दुई जनालाई देवले ‘बाँकी’ मै मुखियाको हत्यामा संलग्न गराएको अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् ।
शुक्रबार भारतको भन्टाबारीबाट पक्राउ परेका बिर्तामोड–३ का २२ वर्षीय राहुल भनिने राजेश शाहलाई देवले १० लाख रुपैयाँ दिएका थिए ।
उनी समातिएपछि घटनामा बिर्तामोड–५ का २१ वर्षीय मामा भान्जा भनिने सुरज चौधरीको पनि नेक्सस खुल्यो । र, अनुसन्धानमा क्रममा उनले ५० हजार रुपैयाँ भुक्तानी लिएको खुलेको छ ।
‘देवले आईएमईबाट पठाएको रकम चौधरीले इटहरीबाट निकालेको भेटिएको छ’, प्रहरी स्रोतले भन्यो, ‘उनले ३ लाख रुपैयाँ मागेको भए पनि अरु रकम पछि दिने गरी ५० हजार रुपैयाँको मात्रै कारोबार भएको भेटिएको हो ।’
घटनामा प्रत्यक्ष रुपमा संलग्न १९ वर्षीय दिपेश पौडेल र तेह्रथुमका २३ वर्षीय प्रकाश भनिने चिरञ्जीवी ओलीलाई भने देवले रकम दिएका थिएनन् ।
‘आफ्नै ज्वलर्समा कार्यरत उनीहरुलाई देवले घटना सेटल भएपछि रकम दिने आवश्सन दिएका थिए’, ती प्रहरी अधिकारीले भने, ‘चारले जम्मा २५ लाख रुपैयाँ मागेको देखिन्छ ।’