शुक्रबार गाडी नचलाए रुट खारेज: सबै गाडीलाई रुट फ्री ! - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

शुक्रबार गाडी नचलाए रुट खारेज: सबै गाडीलाई रुट फ्री !



काठमाडौँ– सिन्डिकेटधारी यातायात व्यवसायीको आन्दोलनका कारण सरकारले शुक्रबार देशैभरि रुट फ्री गरेको छ। शुक्रबार जुनसुकै सडकमा सरकारले तोकेको भाडादर लिएर सवारीसाधान चलाउन सकिने छ।

सरकारले सिन्डिकेट तोड्ने निर्णय कडाइका साथ कार्यान्वयन गर्ने भएपछि व्यवसायीले आन्दोलन गर्ने घोषणा गरेका छन्। तर सरकारले भने छुट्टै तयारी गरेको छ। सरकारलाई सिन्डिकेटको विपक्षमा रहेका धेरै व्यवसायीले समेत साथ दिएका छन्। उनीहरुले विभिन्न रुटमा सवारिसाधान चलाउने जानकारी गराइसकेका छन्।

बिहीबार कम्पनीमा दर्ता भई सवारिसाधान पञ्जिकरण गराएका यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच भएको छलफलमा शुक्रबार ६ सय भन्दा बढी सवारिसाधान चलाउने सहमती भएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए।

शुक्रबार सिन्डिकेट पक्षले सवारीसाधान बन्द गर्ने घोषणा गरेका छन्। तर सरकारले भने यातायात नचलाउने व्यवसायीको रुट परमिट खारेज गर्ने चेतावनी दिइसकेको छ। सिन्डिकेटधारि व्यवसायीले यातायात व्यवसायी समिति नविकरण नगर्ने सरकारको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।

यो निर्णय भए कम्पनीमा गएर गाडी चलाउन तयार रहेको उनीहरुले बताएका छन् । तर सरकार भने यो निर्णयबाट पछि नहट्ने बरु वैकल्पिक उपायको तयारीमा लागेको छ।

कसले कहाँ चलाउँदैछन् ?
बीपी राजमार्ग ६७ वटा माइक्रो बस सञ्चालन गर्ने जानकारी आइसकेको छ । यस्तै साकिरा यातायातका ५० वटा गाडी इलाम, काकडभिट्टा, भद्रपुर, धरान, विराटनगर, चतरा लगायतका ठाउँमा चल्ने छन् । बुलबुले यातायातका २१ वटा गाडी सुर्खेत, नेपालगन्ज दैलेख, जाजरकोट लगायत ठाउँमा चल्दैछन् । रोल्पा यातायातले १० वटा गाडी काठमाडौं रोल्पा चलाउने भएको छ ।

नमस्ते प्यूठानले काठमाडौं– प्युठान, स्मार्ट नेपालले १३ वटा गाडि काडमाडौं दाङ नेपालगन्ज, रोल्पा चलाउनेछ भने देउती नागरिकका ४६ वटा गाडी सुर्खेत, दैलेख, जुम्ला नेपालगन्ज चलाउने भएको छ । आशिर्वाद यातायातले रोल्पा नेपालगन्ज सडकमा १७ वटा गाडी चलाउँदा धनगडी काठमाडौं रुटमा चलाउने घोडाघोडी यातायातले शुक्रबार ७ वटा गाडी काठमाडौंमै चलाउने यातायात व्यवस्था विभागले जनाएको छ। चुरिमाई यातायातले काठमाडौं जनकपुरमा १६ वटा गाडी चलाउने र रातुकमलाले ३३ वटा सुमो काठमाडौंबाट सर्लाही र जनकपुरका लागि छुटाउने जनाएको छ ।

काठमाडौंका विभिन्न ठाउँबाट २४ वटा गाडी मयुर यातायातले बनेपा, धुलिखेल, पनौतीसम्म चलाउने भएको छ भने, बज्रबाराहीले ४५ वटा गाडी उपत्यकामै चलाउने भएको छ । शुभबिहानीले काठमाडौं काकडभिट्टा ५ वटा गाडी, रुकुम यातायातले २५ वटा जिप र २७ वटा ठूला गाडी रुकुम–काठमाडौँ चलाउने भएको छ ।

नागरिक यातायात नेपालगन्ज, रुकुम, रोल्पा, काठमाडौंमा ४५ वटा, पब्लिक मेट्रो सर्भिसले कोहलपुर, सुर्खेत, काठमाडौं १६ वटा, भेरी यातायातले बर्दिया, बुटवल, काठमाडौं ३५ वटा, लंका यातायातले सन्धीखर्क–बुटवल १० वटा,मालिका कालिका यातायातले दाङ–काठमाडौँ २६ वटा, सहारा यातायातले दाङ– काठमाडौँ १५गाडी चलाउने भएको छ ।

यस्तै ७२ टुरिस्ट बस काठमाडौं, चितवन र पोखरामा चल्ने भएका छन् । शुुभ कामना यातायातले भक्तपुर–काठमाडौं सडकमा ५ वटा गाडी चलाउने यातायात व्यवस्था विभागलाई जानकारी दिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए ।