सुकरातको सहरमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सुकरातको सहरमा



-जीवा लामिछाने

एक साताको भ्रमण सकेर फर्कंदै गर्दा विश्वका ठूल्ठूला सभ्यता कसरी समयक्रममा ढल्दै जान्छन् र हराउँछन् भन्ने कुरा चिन्तन गर्न मन लाग्यो । प्राचीनकालमा अति विकसित मानिएको सिन्धुघाँटी सभ्यताको अहिले नामोनिसान छैन । कुनै जमानामा सूर्यास्त नहुने बेलायती साम्राज्य खुम्चिएर सानो टापुमा सीमित भएको छ । भारतको विशाल मुगल साम्राज्य केही सय वर्षमै हराएर गयो । र, आँखै अगाडि सोभियत साम्राज्यको पतन भयो। । त्यसै गरी ग्रिसको साढे दुई हजार वर्ष पुरानो सभ्यतामा अहिले नराम्ररी खिया लागेको छ ।

पश्चिमी सभ्यताको उद्गमविन्दुमा उभिएर म सोचिरहेको थिएँ, संसार परिवर्तनशील मात्रै होइन, क्षयशील पनि रहेछ !

एथेन्स सहर डुल्दै गर्दा मलाई लाग्यो, साढे दुई हजार वर्षअघि सुकरात पनि सायद यसै गरी यी सडकमा डुल्थे होला ।

सम्झ्रिहेको छु, सुकरातले आफ्ना शिष्यलाई दिएका जीवन–जगत्का अनौठा र तर्कपूर्ण कुरा ।
पश्चिमा सभ्यताका अद्भुत गाथाहरूमध्ये एउटाले भन्छ, सुकरात कहिलेकाहीँ साँझतिर ग्रिसको मुख्य बजारलाई एक चक्कर लगाउने गर्थे । बेच्न राखिएका नयाँ सामग्रीलाई पहिलो पटक आएको पर्यटकले झ्ैं छक्क परेर हेर्थे । स्नेहपूर्वक सुम्सुम्याउँथे । विशेषता र गुण सोध्थे । अन्त्यमा पसलेलाई प्रेमपूर्वक धन्यवाद भनेर बाटो लाग्थे । त्यति ठुलो बजारमा प्रत्येक दिन नयाँ सामग्री भित्रिनु सामान्य थियो । नयाँ सामग्री देखेपछि सुकरातले उही शैली पटक पटक दोहो¥याउनु भने आश्चर्य थियो । उनको यस्तो व्यवहारबाट व्यापारीलाई त दिक्क लाग्थ्यो नै, उनका शिष्य पनि वाक्क हुन्थे । स्थिति कस्तोसम्म भयो भने व्यापारीहरू सुकरात आएका बेला नयाँ सामग्री लुकाउँथे र उनी गएपछि बल्ल बेच्न राख्थे । एक दिन चेलाहरूले सुकरातलाई सोधे, ‘गुरु, हजुर किन यसरी नयाँ सामग्रीप्रति अपहत्ते गर्नुहुन्छ ? तपाईँजस्तो योगीले बजारिया सामानप्रति देखाएको मोहले हामीलाई लज्जा हुने गरेको छ ।’

‘हो, मलाई पनि लज्जा हुन्छ । ती सामग्रीका बनावट असाध्यै राम्रा हुन्छन् । पसलेहरूले भनेका विशेषता सुनेर म छक्क पर्छु,’ सुकरातले जवाफ दिए, ‘तर, ती सामग्री मलाई कहीँ कतै फिट हुँदैनन् । यति ठुलो बजारमा आएका हरेक कुरा मेरा लागि बेकामे पाउँछु । यो संसारमा म यी सामानजत्तिकै बेकम्मा छु ।’
सन् २०१५ को क्रिसमसको साँझ थियो । बजारमा धेरै भिड त थिएन तर सुकरातका पालामा झ्ैं पर्यटकलाई कुरेर बसेका अनगिन्ती सामग्रीको लस्कर थियो । सुकरातले घुम्ने भनिएको बजारमा म दुई छोरा, आमा र श्रीमतीसँग डुलिरहेको थिएँ । सुकरातले संसार छाडेको साढे दुई हजार वर्षपछि हामी उनको बजारमा अपरिचित यात्री भएर घुमिरहेका थियौँ । हामीलाई पनि त्यहाँका धेरैजसो वस्तुले लोभ्याउँथे र केही सामग्री किन्थ्यौँ पनि । हामीसँग सामग्रीको अभाव थिएन, तैपनि केही न केही थुपार्नुपर्ने मानवीय स्वभावमा हामी वशीभूत भएका थियौँ ।

ग्रिस घुम्ने योजना बनाउँदा हामी सबै उत्साहित थियौँ । कारण, ग्रिस त्यो भूमि हो, जसले सुकरातलाई जन्माएको थियो । तिनै सुकरातले सत्य कुरा बोलेबापत ज्यान गुमाउनुपरेको थियो । ग्रिस त्यो भूमि हो, जसले विश्वलाई पहिलो पटक खेलकुदमार्फत भाइचारा बढाउन सकिन्छ भनेर प्रमाणित गरेको थियो । त्यही भूमिले जिसस क्राइस्ट जन्मनुभन्दा ७ सय ७६ वर्षअघि ओलम्पिक खेलको सुरुवात गरेको थियो । ग्रिस त्यो भूमि हो, जसले पाइथागोरसजस्ता प्रसिद्ध गणितज्ञ जन्माएको थियो । उनकै कारण आज कम्प्युटरको गणना सम्भव भएको छ । पाइथागोरस नै ज्यामितीय र गणितीय सिद्धान्तका जन्मदाता बने । गणित र विज्ञानका यावत् सूत्रमा प्रयोग गरिने थिटा, बेटा, अल्फा, गामा, पाई, फाई, सिग्मा आदि सिग्नल ग्रिक अल्फाबेट हुन् । पृथ्वी गोलो छ कि चेप्टो भनेर पहिलो पटक बहस चलाउने हिम्मत पनि ग्रिसले नै गरेको थियो । प्लेटो र एरिस्टोटल जस्ता प्रख्यात दार्शनिक पनि ग्रिसले नै जन्माएको थियो, उनीहरूकै विचारको जगमा आज आधुनिक विश्व हिँडिरहेको छ । अपूर्ण नै सही, आधुनिक प्रजातन्त्रको पहिलो खाका पनि ग्रिसले नै कोरेको थियो ।

ग्रिसले आजको संसारलाई के दिएको छैन ? भ्रष्टाचारले प्रजातन्त्रलाई बर्बाद बनाउँछ भन्ने स्वीकारोक्तिको बीजारोपण ग्रिसमा भएको मानिन्छ । जङ्गली मानिसलाई सभ्यतातर्फ डो¥याउन सहरको विकास गर्नुपर्छ भनेर योजनाबद्ध विकास गर्ने राज्य पनि ग्रिस थियो । शिक्षा, कला र स्वास्थ्यको त्रिवेणीमै मानिस सभ्य हुन्छ भन्ने सोच पनि ग्रिसले नै बुझेको थियो । यही कारण त्यहाँ इलियड र ओडिसीजस्ता महाकाव्य लेखिए । मानिसको मनलाई विरेचन गर्न नाटक महत्वपूर्ण हुन्छ भन्ने बुझाउन विशाल नाट्य केन्द्र खोलिए । विभिन्न किसिमका स्वास्थ्य प्रयोगशाला बनाइए । आजको आँखाले हेर्दा यी कुरा सामान्य लाग्न सक्छन् तर भर्खरै सभ्यता सिक्दै गरेको मानिसका लागि ग्रिस सभ्यताले दिएको योगदान अतुलनीय छ ।

हामीलाई बोकेको स्विस एयरको विमान एथेन्समा ओर्लँदा साँझ ५ बजेको थियो । एयरपोर्ट बाहिर निस्कँदा इतिहासको यति ठुलो विरासत र क्रिसमसबीच यो भूमिमा ठुलो चहलपहल र भिड होला भन्ने मेरो अनुमान गलत साबित भयो । सहरमा न त जाम थियो न पश्चिमाको रौनकयुक्त पर्व मानिने क्रिसमस र नयाँ वर्षको चहलपहल नै । एथेन्स सहरले आर्थिक मन्दीका कारण विगतका सारा गौरव लुकाएर अरू नै केही खोजिरहेजस्तो प्रतीत भइरहेको थियो ।

एयरपोर्टबाट करिब एक घण्टाको यात्रा गरेर हामी अम्बेलोकिपी ट्रेन स्टेसननजिक अलेक्सान्द्रास सडकको जफोलिया होटेल छिर्दासम्म मैले मानिसका अनुहारमा विशेष आह्लादित भाव देखिनँ । आर्थिक मन्दीले ग्रिस थिलथिलो भएको प्रसङ्ग मैले नपढेको होइन तर क्रिसमस र नयाँ वर्षमा देखिने उमङ्गको कुनै आभास त्यहाँ थिएन । समयले मान्छेको आयु मात्रै होइन, सहर र देशकै खुसी पनि कसरी बिरानो बनाइदिन्छ भन्ने बुझ्न त्यही एक झल्को नै पर्याप्त थियो ।

ग्रिसमा ‘एभरेस्ट’ नामको फास्टफुड रेस्टुरेन्ट देख्दा खुसी र आश्चर्य दुवै भएँ । खुसी यस अर्थमा कि, यही चेन रेस्टुरेन्टका कारण नेपालको नाम यहाँ प्रायजसोले सुनेका रहेछन् । हामी नेपाली हौँ भनेर परिचय दिइरहँदा अरू केही युरोपेली मुलुकमा झैं ‘नेपल्स ?’ भन्दै लेघ्रो तानेको दृश्य त्यहाँ दोहोरिएन । आश्चर्य यस अर्थमा कि, हामीले सान र गौरव महसुस गर्ने यो नाममा विदेशी नागरिकले यहाँ ५० वर्षअघि नै प्याटेन्ट दर्ता गरिसकेका रहेछन् । केही समयअघि अस्ट्रेलियाको सिड्नीमा ‘काठमान्डु’ नाम गरेको एउटा प्रसिद्ध कपडा पसलमा हामीले केही किनमेल गरेका थियौँ । पछि थाहा भयो, त्यो ‘काठमान्डु’ ब्रान्डको पसल पनि न्युजिल्यान्डका एक नागरिकले प्याटेन्ट दर्ता गराएका रहेछन् ।

सन् १९६५ मा सुरु भएको फास्टफुड एभरेस्ट चेन रेस्टुरेन्टका शाखाहरू ग्रिसका सबै प्रमुख सहरमा रहेछन् । डाउन टाउन सिन्टाग्माको एभरेस्ट फास्टफुड रेस्टुरेन्ट पस्दा सँगै जोडिएको म्याकडोनाल्ड्समा भन्दा बढी मानिसको घुइँचो देखियो । सिट नपाएर केही बेर कुरेरै भए पनि कफी खाने मनसाय देखाउँदै गर्दा त्यहीँ घरजम गरेर बसेका कृष्ण पोखरेल भन्दै थिए, ‘एभरेस्ट रेस्टुरेन्ट विश्वका चर्चित अरू चेन रेस्टुरेन्टभन्दा कम छैन । ग्रिसभरि सयौँ एभरेस्ट रेस्टुरेन्ट खुलेका छन् ।’ रमाइलो कुरा के भने एभरेस्ट नाम भए पनि त्यहाँ कुनै नेपाली परिकार पाइँदैन । नेपालको गौरवगाथाको ट्याग भिरेर ग्रिसको एभरेस्ट रेस्टुरेन्ट आफ्ना ग्राहकलाई पश्चिमा शैलीमै स्यान्डविच, पिज्जा, सलाद, पाइज, टोस्ट, केक र थरिथरिका जुस बेचिरहेको थियो र त्यसैमा रमाइरहेको देखिन्थ्यो ।

हामीले एथेन्स सहरको केन्द्र प्लाकामा पैदलयात्रा सुरु ग¥यौं । प्लाकाका प्रायः सबै रेस्टुरेन्टले ग्राहक तानातान गरिरहेको देख्दा आर्थिक मन्दीले सबैलाई असर पारेको छ भन्ने प्रस्टै देखिन्थ्यो । प्लाका हाम्रो ठमेलजस्तै पर्यटकीय केन्द्र रहेछ ।

भोलिपल्टदेखि हामीले प्राचीन दरबारहरू अवलोकन ग¥यौं । एथेन्सको मुख्य आकर्षण भन्नु नै अक्रोपोलिसको पार्थेनन् मन्दिर वरपरको क्षेत्र रहेछ । त्यहाँको प्राचीन थिएटर र पार्थेनन् टेम्पल हेर्दाहेर्दै ३ बज्यो । प्राचीन क्षेत्र भएकाले हेर्नैपर्ने ठाउँ निकै रहेछन् । तर, ३ बजे सबै स्थान बन्द हुने भएकाले बाध्यतापूर्वक निस्कनुप¥यो । बाँकी समय सूर्यास्त अवलोकन गर्न लिकाबेटस डाँडातिर लाग्यौँ । डाँडाबाट मनमोहक सूर्यास्त देखिने रहेछ । किंवदन्तीअनुसार कुनै समयमा यो डाँडामा ब्वाँसाहरू डुल्थे रे । यही कारण यसको नाम लिकाबेटस अर्थात् ब्वाँसा डुल्ने पहाड राखिएको रहेछ ।

ग्रिस क्षेत्रमा कुनै मन्दिर, सङ्ग्रहालय वा पार्क घुम्न जाँदा हतारिँदै पुग्नुपर्छ । जतिसुकै पर्यटक हुन्, त्यसबाट जतिसुकै आम्दानी आउने किन नहोस्, सबै कार्यालय बिहान १० बजे खुलेर ३ बजे नै बन्द भइसक्दा रहेछन् । पर्यटकले खर्च गरेकै पैसाले जेनतेन चलिरहेको ग्रिसेली अर्थतन्त्रप्रति कर्मचारी उदासीन थिए । यही कारण हामीले अक्रोपोलिस क्षेत्रका प्रसिद्ध टेम्पल अफ ज्युस, प्राचीन आगोरा, रोमन आगोरा, केरामिकोस सिमेट्री जस्ता स्थान हतार–हतार घुम्नुप¥यो । हामीकहाँ मःम जति प्रचलित छ, झन्डै त्यही अवस्था यहाँ ‘सुब्लाकी’ को रहेछ । रोटीभित्र मासु ¥याप गरेर बनाइने ‘सुब्लाकी’ खाएपछि मात्र एथेन्स घुम्नुको आनन्द पाइने सुनेपछि हामीले पनि त्यसको स्वाद लियौँ ।

एउटा ट्याक्सीमा चार जना मात्र बस्न मिल्ने रहेछ । हामी पाँच जना थियौँ । दुइटा ट्याक्सी लिनुपर्ने हाम्रो समस्या बुझेर ट्याक्सीवालाहरूले केही थप पैसा तिरे एउटैमा सहर घुमाइदिने प्रस्ताव राख्न थाले । युरोपमा यसरी नियम विपरीत मानिस चढाएर ट्याक्सी चलाएको मैले अन्त कतै देखेको छैन । जर्मनीमा त त्यो कुनै पनि मूल्यमा सम्भव छैन । ग्रिसमा पनि कानुनी रूपमा सायद वर्जित नै होला तर आर्थिक मन्दीको चपेटाले उनीहरू यसो गर्न बाध्य थिए । केही बढी कमाइ हुने आशामा सानोतिनो कानुनी अड्चन मोल्न पनि उनीहरू तयार हुँदा रहेछन् ।

कोस्टास नामका ट्याक्सी ड्राइभरसँग हामी पाँच जना यात्रा गर्न थाल्यौँ । भोलिपल्ट बिहानै होटेलबाट कोरिन्थ क्यानलका लागि निस्कियौँ । राजधानी एथेन्सबाट केही घण्टाको ड्राइभपछि त्यो पर्यटकीय क्षेत्र पुगिँदो रहेछ । यात्रा गर्नुअघि धेरै कुराको ज्ञान राख्ने प्रयास गरे पनि कोरिन्थ खाडी र आजियान सागरलाई जोड्ने साढे छ किलोमिटर लामो यो क्यानलबारे मैले सुनेको रहेनछु । पानामा र स्वेज जस्तै यो क्यानल पनि पर्यटकीय र आर्थिक दृष्टिले कुनै जमानामा प्रसिद्ध रहेछ । १९ औँ शताब्दीको उत्तरार्द्धमा ठुलो खर्च गरेर निर्माण गरिएको २१ मिटर चौडाइको यो क्यानल अहिले उपयोगमा आउन सकेको छैन । भूकम्पीय दृष्टिले जोखिम र ठुला जहाज पार गर्न नसक्ने भएकाले पर्यटकलाई देखाउने काममा मात्रै यसको उपयोग भइरहेको छ । क्यानल घुमुन्जेल मेरो मनमा भने अल्पदृष्टिले गरिएको विकास देखाउने वस्तुमा सीमित हुँदो रहेछ भन्ने लाग्यो । यति विशाल संरचना केही फराकिलो बनाइएको भए अहिले पनि ठूल्ठूला जहाज वारपार हुन्थे ।
कोरिन्थ क्षेत्रमा हेर्नैपर्ने अर्को आकर्षण प्राचीन कोरिन्थको भग्नावशेष रहेछ । यो पुरातात्विक क्षेत्र सरसर्ती घुम्न मात्रै पनि १ घण्टा लाग्यो । त्यसपछि हामी कोरिन्थ क्यासलतिर लाग्यौँ । एक घण्टामा डाँडा उक्लिएर पुगिने त्यस क्षेत्रमा हिँडिरहँदा केबलकार बन्नुअघि मनकामना गएको याद आयो । ३० वर्षअघि काठमाडौँमा पढ्दा मनकामना दर्शन गर्न मैले त्यसै गरी पहाड चढेको थिएँ । डाँडाको टुप्पामा पुगेपछि भने उकालो चढ्दाको सबै दुःख बिर्सिइने रहेछ । त्यहाँबाट कोरिन्थ सहर र खाडीको मनमोहक दृश्य देख्न सकिँदो रहेछ, चन्द्रागिरी डाँडाबाट काठमाडौँलाई हेरेजस्तै ।

फर्कँदा हामी लुत्राकी समुद्री तटमा रोकियौँ । ग्रिसका केही समुद्री तटहरू कञ्चन पानी र सफा बालुवाका कारण विश्वप्रसिद्ध छन् । कोरिन्थ खाडीको लुत्राकी तट पनि तिनै प्रसिद्धमध्ये एक रहेछ । राजधानी एथेन्स सहर नजिकै पर्ने भएकाले पनि होला, गृष्म याममा यो तटमा मानिसको घुइँचो लाग्छ भनेर कोस्टास बताउँदै थिए ।
यात्रुलाई घुमाउँदा घुमाउँदै कोस्टास त्यस क्षेत्रका हरेक कुरामा पारङ्गत भइसकेका रहेछन् । उनैले बताए, ग्रिकहरू दुनियाँमा सबैभन्दा कामुक जाति मानिन्छन् । हुन पनि ग्रिसेली साहित्यमा वर्णित पुरुषहरूको कामवासना र त्यसले ल्याउने समस्या देखेर म सुरुमा छक्क परेको थिएँ । पुरुषको यही कमजोरीको फाइदा त्यहाँका महिलाले लिने गरेको र कतिपय देवतासमेत समस्यामा परेको कुरा इलियाड र ओडिसीका कथाहरूमा छन् । कोस्टासले ग्रिसेली जनता अहिले पनि उस्तै कामुक रहेको उदाहरणसहित बताइरहेका थिए ।

कोस्टासले बताएअनुसार युरोपमा सबैभन्दा कम अपराध हुने देश पनि ग्रिस नै रहेछ । ग्रिस युरोपको सबैभन्दा बढी भूकम्पीय जोखिम क्षेत्र पनि हो र धेरै पानीजहाज बनाउने देश पनि । कतिसम्म भने विश्वभरिकै जहाजमध्ये झन्डै १६ प्रतिशत ग्रिसमा छन् । गोर्खालीहरू युद्ध गर्न बहादुर मानिएझैं युरोपमा ग्रिक जातिलाई पनि बहादुर योद्धाका रूपमा गणना गरिँदो रहेछ । हिटलर र विन्स्टन चर्चिल दुवैले दोस्रो विश्वयुद्धमा ग्रिक योद्धाको प्रशंसा गरेको मैले कतै सुनेको थिएँ । यात्राभर कोस्टासले होमर, सुकरात, एरिस्टोटल, प्लेटो, आर्किमडिज, पाइथागोरस लगायतको चर्चा गर्दै गए । उनले आफूले बोलिरहेको भाषा ३ हजार वर्ष पुरानो भएको भन्दै गौरव पनि गरिरहे ।

ग्रिसमा १८ वर्षभन्दा माथिका नागरिकले निर्वाचनमा अनिवार्य रूपमा मतदान गर्नुपर्ने रहेछ । युरोपका अन्य देशजस्तो छोराछोरी हुर्किसकेपछि लाखापाखा लाग्ने चलन यहाँ रहेनछ । ओलिभ तेल उत्पादनमा ग्रिक तेस्रो रहेछ । ग्रिसमा दुई हजारभन्दा बढी टापु रहेछन् । युरोपको एक मात्र अफिसियल अर्थोडक्स क्रिस्चियन धर्म मान्ने र अत्यधिक मार्बल उत्पादन गर्ने देश ग्रिस हो । युरोपमा स्विट्जरल्यान्डपछि बढी हिमाल र पहाड भएको देश पनि ग्रिस नै रहेछ ।

ग्रिसेलीहरू आफ्नो मुलुक आर्थिक दुरावस्थामा पुग्नुको सबै दोष युरोपियन युनियनका अरू देशलाई दिँदा रहेछन् । युरोपियन युनियनले ग्रिसको अर्थतन्त्र उद्धार गर्न सयौँ अर्ब युरो लगानी गरिसकेको प्रसङ्ग मैले कोट्याउँदा कोस्टासलगायत त्यहाँ भेटिएका प्रायः सबै स्थानीयहरू उल्टै मसँग रिसाए । राजनीतिक दलले आफ्नो कमजोरी लुकाउन जनतालाई गुमराहमा राख्ने प्रवृत्ति युरोपमा पनि रहेछ ।

ग्रिसेलीहरू जर्मनीसँग बढी नै असन्तुष्ट रहेछन् । केही मानिसले त हिटलरले दोस्रो विश्वयुद्धमा ग्रिस राष्ट्रबैंकमा रहेको सबै सुन लुटेर लगेकाले नै अहिले यो अवस्था भएको समेत भने । अब जर्मनीले ब्याजसहित त्यो सबै फिर्ता गर्नुपर्छ रे । हिटलरले लगेको सबै रकम फिर्ता पाउने हो भने उनीहरूका सन्तान दर सन्तानलाई समेत केही नगरी खान पुग्छ रे । यी कुरा सुनिरहँदा मलाई भने अचम्म लाग्यो । खासमा मानिसहरू इतिहासलाई आफूअनुकूल व्याख्या गर्छन् । हिटलरका कारण जर्मनी आफैं पनि पीडित भयो । ७५ वर्षअघि भएको ज्यादतीको हिसाबकिताब अहिलेको पुस्तासँग मागेर उनीहरू दुई देशको सम्बन्धमा तिक्तता भरिरहेका थिए । जर्मनीले भने ग्रिसको आर्थिक मन्दी हटाउन युरोपियन युनियनका अन्य मुलुकभन्दा बढी नै रकम सहयोग गरिरहेको मलाई थाहा छ । अहिलेसम्म युरोपियन युनियनले ग्रिसलाई आर्थिक मन्दीबाट उकास्न करिब दुई सय अर्ब युरो खर्च गरिसकेको छ, त्यसमा जर्मनी एक्लैको ६८ अर्ब युरो छ । जर्मन करदाताले तिरेको यति ठूलो रकम ग्रिसलाई सहयोग गर्न खर्चिएको भन्दै जर्मन चान्सलरको विरोधसमेत भएको थियो । उता ग्रिसेलीहरू भने इतिहासलाई देखाएर जर्मनीलाई धारे हात लगाइरहेका छन् । यो राजनीति मेरा लागि यात्रा अवधिभर रमाइलो अनुभव दिन पर्याप्त थियो ।

यात्रा गर्दै जाँदा कोस्टासले बाटोमा कुनै जमानाका विश्व प्रसिद्ध अर्बपति अरिस्तो ओनासिसबारे केही सुनाए । पानीजहाज कम्पनीका मालिक अर्बपति ओनासिसको सन् १९७५ मा मृत्यु भएपछि उनको व्यापार साम्राज्यको अधिकांश हिस्सा उनकी नातिनी अथिनाले बेचेर हिँडिछन् । अमरिकी रास्ट्रपति जोन एफ केनेडीकी पत्नी ज्याक्लिनले केनेडीको मृत्युपछि ओनासिससँग विवाह गरेकी थिइन् । ओनासिसले आफ्नो निवासका लागि किनेको सिङ्गो टापु ‘स्कर्पिओस’ सन् २०१३ मा एक रसियन अर्बपतिले किनेको खबर पत्रिकामा आएको थियो । ओनासिसको त्यति ठूलो साम्राज्यको त्यो हालले सन्तानका लागि भनेर सम्पत्ति जम्मा गर्नु व्यर्थ रहेछ भन्ने महसुस गराउँथ्यो ।

ग्रिस आर्थिक मन्दीमा पर्नुका कारण धेरै छन् । त्यसको लेखाजोखा संसारभरिका अर्थशास्त्रीले गरिरहेका छन् । त्यसमा पनि राजनीतिक कारण मुख्य हो । ट्रेड युनियनको बढ्दो माग र त्यसलाई धान्न सरकारले गरेको प्रयास भने प्रस्टै देखिन्थ्यो । काम कम गर्ने तर अधिकार धेरै खोज्ने प्रवृत्ति कतिसम्म देखिन्थ्यो भने कार्यालय छुट्टी भएपछि एक मिनेट पनि उनीहरू काम गर्न चाहँदैनथे । सरकारलाई तलब दिन अप्ठेरो परिरहेको थियो तर मजदुरहरू आफूले खाइपाइ आएको सुविधा खोस्न हुँदैन भनेर हडतालमा थिए । उनीहरूकै हडतालका कारण हाम्रो भ्रमणको दुई दिन धेरै कुरा हेर्न पाएनौं ।

एक साताको भ्रमण सकेर फर्कंदै गर्दा विश्वका ठूल्ठूला सभ्यता कसरी समयक्रममा ढल्दै जान्छन् र हराउँछन् भन्ने कुरा चिन्तन गर्न मन लाग्यो । प्राचीनकालमा अति विकसित मानिएको सिन्धुघाँटी सभ्यताको अहिले नामोनिसान छैन । कुनै जमानामा सूर्यास्त नहुने बेलायती साम्राज्य खुम्चिएर सानो टापुमा सीमित भएको छ । भारतको विशाल मुगल साम्राज्य केही सय वर्षमै हराएर गयो । र, आँखै अगाडि सोभियत साम्राज्यको पतन भयो। । त्यसै गरी ग्रिसको साढे दुई हजार वर्ष पुरानो सभ्यतामा अहिले नराम्ररी खिया लागेको छ ।

पश्चिमी सभ्यताको उद्गमविन्दुमा उभिएर म सोचिरहेको थिएँ, संसार परिवर्तनशील मात्रै होइन, क्षयशील पनि रहेछ !

 

  • सरसर्ती संसारका लेखक जीवा लामिछाने लोकप्रिय नियात्राकार हुन् |