सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रेड कार्पेट ‘काण्ड’ पछि मालाले पुरिए - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रेड कार्पेट ‘काण्ड’ पछि मालाले पुरिए



काठमाडौँ । प्रदेश नम्बर ७ (सुदूरपश्चिम प्रदेश) को मुख्यमन्त्रीका लागि त्रिलोचन भट्टको नाम सिफारिस भएसँगै सञ्चार माध्यमहरुमा छापिएका ‘चौकीदार मुख्यमन्त्री’ शिर्षकका समाचारहरु भाइरल बने ।

हुन पनि कुनै बेला भारतमा चौकीदारी गरेका व्यक्ति मुलुक संघीयतामा गएसँगै मुख्यमन्त्री बन्नु चानचुने कुरा थिएन । तर ‘भाग्यमा लेखेको कुरा जसरी पनि हुन्छ पूरा’ भन्ने कथन अनुसार त्रिलोचनको भाग्यमा मुख्यमन्त्री बन्न लेखेकै थियो होला सायद ।

त्यसैले होला कुनै बेला भारतमा चौकीदारी गरेको डोटीको एक सामान्य परिवारमा जन्मेको व्यक्ति सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बने । त्यसपछि त्रिलोचन भट्टको चर्चा चौकीदार मुख्यमन्त्रीको रुपमा मात्रै सीमित रहेन ।

मुख्यमन्त्रीको सपथ खाएलगत्तै ‘अब सुदूरपश्चिमका छोराहरुले भारतमा चौकीदारी गर्न जान नपर्ने’ भन्दै उनले गरेको भाषण पनि सञ्चार माध्यममा मुख्य खबर बनेर प्रकाशन भए ।

प्रदेश सरकार गठन भएको धेरै समय भएको थिएन, एक अर्काे खबरले मुख्यमन्त्री भट्टलाई फेरि चर्चामा ल्यायो । त्यो खबर हो ‘छोरालाई बोर्डिङ्ग स्कूलमा पढाएर छोरीलाई सरकारी स्कूलमा भर्ना गरेको ।’

मुख्यमन्त्री भट्टले आफै धनगढीको एक सरकारी विद्यालयमा आफ्नो छोरीलाई भर्ना गर्न पुगेको खबर सर्वत्र छाएको थियो । छोरालाई बोर्डिङ्ग स्कूलमा पढाएको आरोप लागेपछि उनी फेरि आलोचित बने ।

उनको आलोचित हुने र चर्चामा आउने सिलसिला रोकिएन । गत वैशाख २५ गतेको एक अर्काे खबरका कारण पनि भट्ट फेरि चर्चामा आए । उक्त खबर थियो, रेड कार्पेटको ।

दार्चुलालाई खुला दिसा मुक्त जिल्ला घोषणा गर्ने क्रममा प्रमुख अतिथि बनेका मुख्यमन्त्री भट्ट आयोजकले बिच्छ्याएको रातो कार्पेटमा हिँडे । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो ।

हिजोका दिनमा आफूले पाएका दुःख र अहिले पनि धेरै सुदूरपश्चिमका युवाहरुले पाइरहेको दुःखलाई बिर्सँदै राजकीय छाँटमा रेड कार्पेटमा हिँडेको भन्दै उनी आलोचित भए ।

यसबारेमा उनले सबै कार्यक्रम तय भइसकेको र अन्तिममा त्यहाँ पुग्दा मात्रै रातो कार्पेट बिच्छ्याइएको थाहा पाएको प्रष्टिकरण दिएका थिए ।
त्यसपछि पनि प्रदेशको राजधानी प्रकरणमा डोटीका आन्दोलनकारीसँग लाचार शैलीमा कुरा गरेको अडियो टेप बाहिर आएको र उक्त घटनामा मुख्यमन्त्री कार्यालयबाट विज्ञप्ति जारी गरिएको काण्डमा पनि उनी आलोचित बने ।

बेला–बेला चर्चामा आइरहने र आलोचनाको शिकार भइरहने मुख्यमन्त्री भट्ट अहिले फेरि एक पटक चर्चामा आएका छन् । यसपटक उनी जनताले लगाइदिएको मालाले ‘थचारिए’ को भन्दै आलोचना खेपिरहेका छन् ।

सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक भएको छ, जसमा मुख्यमन्त्री भट्टको घाँटीमा माला थुपारिएको छ, उनको शिरसम्मै मालाको थुप्रोले पहाड बनेको छ, आँखा छोपिएको छ तर उनी अझै माला पहिराउन खोज्नेहरुलाई स्वागत गरिरहेका देखिन्छन् ।

अचम्मको कुरा त के भने नाक, कान र मुख सहित आँखा छोपिने गरि मालाको थुप्रो बनिसक्दा समेत माला थप्न रोकेका छैनन् मुख्यमन्त्रीले र हटाउन पनि खोजेका छैनन् बरु उनी दाँत देखाएर खिसिक्क हाँसेका छन् । छेउमै रहेका उनका सहयोगीहरुले पनि माला हटाउन चासो दिएको देखिँदैन ।

मुख्यमन्त्री भट्टलाई आयोजक र जनताले उनको शरीरले धान्नै नसक्ने गरी माला लगाइदिएका विषयमा अहिले चर्चा भइरहेको छ ।

‘२०७४ माघको महिना सपथका बेला बोले अनुसार भारतमा जाने मजदुर मध्ये कतिलाई स्वदेशमै काम दिनुभयो ? एक वर्षमा सुदूरपश्चिमको ४७ प्रतिशतको गरिबी कति घटाउनुभयो ? संघीय सरकारले खर्च गर भनेर दिएको २५ अर्ब रकममा अहिले सम्म डेढ प्रतिशत भन्दा बढी विकास खर्च किन गर्न सक्नु भएन ? सोध्नुको सट्टा जनताले मालाले यसरी थचारे पछि किन गर्नुपर्याे र विकास?’ धनगढीका पत्रकार शिवराज भट्टले फेसबुकमा लेखेका छन् ।

साभार : देशसञ्चार