सुदूरपश्चिम प्रदेश सरकारले निर्णय लुकाएर सांसदलाई ७ लाख उपचार खर्च दिने तयारी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सुदूरपश्चिम प्रदेश सरकारले निर्णय लुकाएर सांसदलाई ७ लाख उपचार खर्च दिने तयारी



धनगढी ,कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रीपरिषदको निर्णय लुकाएर दुईजना प्रदेशसभा सदस्यहरुलाई उपचार खर्च वापत ७ लाख रकम दिने तयारी गरेको छ ।

धनगढीमा दुर्घटनामा परी घाइते भएका नेकपाका प्रमुख सचेतक तारा लामा तामाङलाई ६ लाख र प्रदेशसभाको सार्वजनिक लेखा समिति संयोजक तथा नेपाली कांग्रेसबाट प्रदेशसभा बनेकी सांसद कुमारी नन्दा बमलाई उपचार खर्च वापत १ लाख दिने निर्णय मन्त्रीपरिषदले गोप्य राखेको हो ।

गत भदौको २८ गते बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले दुर्घटनामा परी घाइते भएका तामाङलाई ६ लाख र बमलाई एक लाख दिने निर्णय गरेको थियो । क्याविनेटको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकासबहादुर शाहले उपचार खर्चको निर्णय गोप्य राखेको खुलेको हो ।

त्यस दिनको मन्त्रिपरिषदको बैठकले सातवटा निर्णय गरेको थियो । बैठकले कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका कविता विष्टको परिवारलाई ५ लाख दिने, प्रदेश युवा परिषद विधेयक र खेलकुद विकास विधेयकलाई स्वीकृती प्रदान गर्ने, थारु समुदायको अटवारी पर्वका अवसरमा प्रदेशभरी सार्वजनिक विदा दिने, प्रदेश मन्त्रालय अन्तरगत थप कार्यालय स्थापना गर्ने र संघीय मन्त्रालय अन्तरगतका केही सरकारी कार्यालयहरु प्रदेश मातहत ल्याउने गरी ६ वटा मात्रै निर्णय सार्वजनिक गरेको थियो ।

तर बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नेकपाका प्रमुख सचेतक तामाङ र सांसद बमलाई उपचार खर्च दिने गरी सातौं निर्णय पनि गरेको थियो । जुन गोप्य राखिएको हो ।

सरकारनिकट स्रोतका अनुसार नेतालाई उपचार खर्च दिने कुराले आलोचना हुने भन्ठानेर सार्वजनिक नगरेको हो । तामाङले आफ्नो उपचारमा दश लाख खर्च लागेको भन्दै संसद सचिवालयमा निवेदन दिए पनि सामाजिक विकास मन्त्रालयले ६ लाख रकमका लागि मन्त्रिपरिषदलाई प्रस्ताव गरेको स्रोतको दावी छ ।

मन्त्रिपरिषदले भदौ २८ गते तामाङलाई ६ लाख र बमलाई उपचारका लागि एक लाख रकम उपलब्ध गराउन सामाजिक मन्त्रालयलाई निकासा दिनु भनेर आर्थिक मामिला तथा योजना मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

‘दुवैजना माननीयको रकम पनि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट अख्तियारी सहित आइसकेको छ’ सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत कृष्णबहादुर धामीले बताए । तर विल भरपाई नआएकाले भुक्तानी नभएको उनले बताएका छन् । साभार : अन्नपूर्ण पोस्ट .कम / फाइल तस्बिर :