सुचना प्रविधीमैत्री बन्दै घोडाघोडी नगरपालिका - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

सुचना प्रविधीमैत्री बन्दै घोडाघोडी नगरपालिका



विशाल पाण्डेय / सुखड,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका सुचना प्रविधीमैत्री बन्दै गएको छ । सेवाग्राहीलाई छिटो, छरितो र सहज रुपमा सेवा दिनको लागि नगरपालिका प्रविधी मैत्री बन्दै गइरहेको हो ।

यसै क्रममा राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवसको अवसरमा नगरपालिकाले डिजिटल नागरिक वडा पत्र बिहीबारदेखि संचालनमा ल्याएको छ । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले स्विच अन गरेर डिजिटल नागरिक वडा पत्रको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले डिजिटल नागरिक वडा पत्रमा नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाका बारेमा सजिलै जानकारी पाईने र सो सेवा सुविधा लिन के के प्रक्रिया अपनाउने तथा के कस्ता कागजातका आवश्यक पर्छ ? भन्ने बारेमा बुझ्न सहज हुने बताए । संसारमा सबैभन्दा धनी मानिस सुचना भएको व्यक्ति रहेको नगर प्रमुख चौधरीले बताए । उनले भने , ‘संसारमा सबैभन्दा धनी मानिस त्यो हो जो संग सूचना बढी छ , सुचना प्रविधीको सहि सदुपयोग गर्न सकियो भने जीवनलाई सुख ,सरल तथा छिटोछरितो बनाउन सकिन्छ ।’

डिजिटल नागरिक वडा पत्रमा नगरपालिकाका आवश्यक पर्ने सवै खाले सुचनाहरु राखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले जानकारी दिए ।

डिजिटल नागरिक वडा पत्रमा नयाँ सुचनाहरु,बिषयगत शाखा कुन कहाँ छन ? शाखा मार्फत के के काम हुन्छन ? शाखामा को को कर्मचारी छन् ? लगाएतको सुचनाहरु अब नगरपालिकाको गेटमै सेवा ग्राहीले सहजै थाहा पाउने सुचना प्रविधि शाखा प्रमुख राम प्रसाद चौधरीले बताए ।
नगरपालिकाले करिब २ लाख ५० हजारको लागतमा डिजिटल वडा पत्र भित्र्याएको हो ।

बचाउ सुचना प्रणाली संचालनको तयारी

नगरपालिकाकाले डिजिटल नागरिक वडा पत्रसंग्गै बचाउ सुचना प्राणाली संचालनमा ल्याउने तयारी गरेको जनाएको छ । मानिसलाई कुनै पनि समस्या परेको खण्डमा आफ्नो मोबाईल मार्फत प्रहरी तथा नगरपालिकामा सुचना पुर्‍याउन सकिने सुचना प्रविधि शाखा प्रमुख राम प्रसाद चौधरीले बताए ।

सुचना प्रणाली संचालनमा ल्याएसंगै जो कोहि मानिसलाई पनि केही समस्या परेमा प्रहरी , नगरपालिका ,अस्पताल ,एम्बुलेन्स लगाएतका ठाउँमा साइरन बजेर सुचना प्राप्त हुने चौधरीले बताए । समस्यामा परेको व्यक्तिको नाम, ठेगाना र कुन ठाउँ छ भनेर समेत खबर पुग्ने चौधरीले बताए ।

त्यसको लागी नगरपालिकाबाट व्यक्तिगत परिचय पत्र प्रणालीको कोड नम्बर लिएको खण्डमा मात्र प्रयोग गर्न सकिने व्यवस्था रहेको चौधरीले बताए । घोडाघोडी नगर क्षेत्र भित्र मात्र उक्त प्रणाली प्रयोग गर्न मिल्ने बनाउनु पर्ने चौधरीले बताए । कोहि मानिस नगरपालिका भन्दा बाहिर जादा पनि साइरन बजाउन सक्ने भएकोले नगर क्षेत्रमा मात्र प्रयोग गर्न मिल्ले बनाउन लागिएको चौधरीले बताए ।

बचाउ सुचना प्रणालीले नगरबासिलाइ परेको समस्या तुरुन्तै जानकारी हुने हुँदा यो संचालनमा आएसङ्गै विभिन्न किसिमका अपराधीक घटना तथा आपतकालीन समस्याको न्यूनीकरण गर्न सकिने अनुमान गरिएको छ ।