घोडाघोडीमा विकासे योजनाको अनुगमन, सूचना बोर्ड बिना नै निर्माण कार्य सम्पन्न
विशाल पाण्डेय / सुखड,कैलाली ।
घोडाघोडी नगरपालिकाका उप प्रमुख तथा योजना अनुगमन समितिका संयोजक प्रेम कुमारी थापाको संयोजकत्वमा नगरका विभिन्न आयोजनाहरूको अनुगमन गरिएको छ ।
बिहीबार घोडाघोडी नगरपालिकाका वडा नं १ र ३ मा भएका विभिन्न विकासका आयोजनाहरूको अनुगमन गरिएको हो । अनुगमनका क्रममा नगरका अधिकांश विकासका योजनाहरू सूचना बोर्ड बिना नै निर्माण कार्य सम्पन्न गरिएको पाइएको छ ।
आयोजनाको नाम , सुरु गरिएको मिति, सकिने मिति , लागत बजेट लगायतका अन्य कुराहरू उल्लेख गरी पारदर्शीताको लागि सूचना बोर्डको आवश्यकता पर्ने भएपनी घोडाघोडी नगरपालिकाका अधिकांश योजनाहरू सूचना बोर्ड बिना नै सम्पन्न गरिएको छ ।
सूचना बोर्ड बारे आफूहरूले सुरुमै जानकारी दिँदा पनि उपभोक्ता समितिहरूले अटेरी गरेको घोडाघोडी नगरपालिकाका सब इन्जिनियर विष्णु न्यौपानेले बताए । आयोजनाको नाम , लागत लगायतका अन्य कुराहरू समावेश गरेको सूचना बोर्ड बनाउन भनिएपनि काम सम्पन्न गरी सकेपछि मात्र पास नहुने भन्ने डरले फाइलमा सूचना बोर्डको फोटो हालेर ल्याउने गरेको बताए । आयोजनाको पारदर्शिताको लागी पनि महत्त्वपूर्ण हुने हुँदा सूचना बोर्ड बनाइ काम सुरु गर्न उपभोक्ता समितिलाई जानकारी गरेको समेत न्यौपानेले बताए ।
यता उपभोक्ता समितिका अध्यक्षहरूले भने आफूहरूले सूचना बोर्डको बारेमा थाहा नपाएको र बनाएको सूचना बोर्ड पनि चोरी भएको हुँदा आफूहरूले अन्तिममा सूचना बोर्ड बनाउन लागेको बताएका छन् ।
त्यस्तै अनुगमनका क्रममा सुखड – भजनी सडकको ४४५ मिटर लम्बाइ र १३ मिटर चौडाइ पिच सडकको पनि अनुगमनका गरिएको छ । अनुगमनका क्रममा उक्त सडकमा चिप्सहरू उक्किएको पाइएको छ । चिप्सहरू उक्किएको पाइएपछि विटोमिन छर्किएर माथिबाट तातो बालुवा हाल्न निर्देशन दिएको घोडाघोडी नगरपालिकाका सब इन्जिनियर विष्णु न्यौपानेले बताए । न्यौपानेले चिप्सहरू उक्किएर बर्खा समयमा सडकमै पानी जम्मा भई पिच उक्किने डर हुने हुँदा बिटामिन छर्किएर पुनः तातो बालुवा हालियो भने केही मात्रामा सुधार हुने बताए । सुखड – भजनी ४४५ मिटर सडक निर्माण गरेको जे.बि.निर्माण सेवा पहलमानपुरका प्रतिनिधिले भने आफूहरूले स्टिमेट अनुसार काम गरेको बताएका छन् ।
साथै घोडाघोडी नगरपालिका -३ मा रहेका विकासे योजनाहरूको पनि अनुगमन गरिएको छ । सृष्टि नगर सडक ग्राइभेल आयोजनाको अनुगमनका क्रममा करिब १०० मिटर लम्बाई ग्राइभेल सडक कम निर्माण गरिएको पाइएको छ । उक्त नपुगेको सडकमा १०० मिटर सडक ग्राइभेल हाली रोलर लगाउन निर्देशन दिएको नगरपालिकाका सब इन्जिनियर न्यौपानेले बताए । नगरपालिकाको १० लाख र जन श्रमदान २ लाख ५० हजार गरी कुल १२ लाख ५० हजार रुपैयाँमा ग्राइभेल सडक निर्माण गरिएको हो ।
त्यस्तै घोडाघोडी नगरपालिका वडा नं ३
जुरपानीमा चौकीदारको घर देखी प्रकाश चौधरीको घर हुँदै भोजपुर चोक सम्म माटो भटानी तथा ग्राइभेल सडक आयोजनाको पुनः अनुगमन गरिएको छ । यस अघि पनि अनुगमन गरी राम्रो सँग ग्राइभेल हाली रोलर गर्न निर्देशन दिइएको र अहिले पहिला भन्दा केही सुधारिएको सब इन्जिनियर न्यौपानेले बताए । १५ सय मिटर लम्बाई र ५.५ मिटर चौडाइ रहेको उक्त ग्राइभेल सडकका लागि घोडाघोडी नगरपालिकाले १० लाख तथा उपभोक्ता समितिद्वारा २ लाख ५० हजार गरी कुल १२ लाख ५० हजारमा निर्माण सम्पन्न गरेको उपभोक्ता समितिका अध्यक्ष छोटे लाल डगौरा थारुले जानकारी दिए ।
अनुगमनमा घोडाघोडी नगरपालिकाका लेखा अधिकृत देवराज जोशी , सम्बन्धित वडाका वडाध्यक्ष, उपभोक्ता समितिको अध्यक्ष , स्थानीय बासिन्दा तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।