विद्यार्थीसँग प्रहरीको आग्रह : प्रविधिप्रति सतर्क रहनुहोस् - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

विद्यार्थीसँग प्रहरीको आग्रह : प्रविधिप्रति सतर्क रहनुहोस्



काठमाडौ -पछिल्लो समय मोबाइल,सामाजिक सञ्जाल ,कम्प्युटर जस्ता प्रविधिका माध्यम मार्फत समाजमा अपराध बढ्दै गैरहेको पाइन्छ । फेसबुक,ट्वीटर, युटुब लगायतका प्रचलित माध्यमको दुरुपयोगका कारण चोरी, लुटपाट, ठगी, अपहरण, जबरजस्ती करणीजस्ता अपराध वृद्धि भैरहेको प्रहरी तथ्याङ्कले बताउछ ।

युवा पुस्ताका विद्यार्थीमा यो समस्याले एउटा स्थान नै बनाइरहेको छ । विद्यालय देखी विश्वविद्यालय सम्मका विद्यार्थीमा प्रविधि प्रतिको मोह र त्यसको गलत प्रयोग उत्तिकै बढ्दो छ । यस्तै समस्या समाधानको प्रयास साथै समुदाय र प्रहरी बीचको सुमधुर सम्बन्ध कायम गरी शान्तिपूर्ण समाजको परिकल्पनाका साथ नेपाल प्रहरिको समुदाय प्रहरी साझेदारी कार्यक्रम निरन्तर सञ्चालित छ ।

सोही बमोजिम सोमबार सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वरको आयोजना तथा कोटेश्वर बहुमुखी क्याम्पसको सहकार्यमा विद्यार्थीमा बढ्दो प्रविधि मोह, त्यसको असर र सतर्कताका विषयमा विद्यार्थीलाई प्रशिक्षण प्रदान गरिएको छ। कोटेश्वर बहुमुखी क्याम्पस र कोटेश्वर सरस्वती माध्यामिक विद्यालयका करिब १२० जना विद्यार्थीलाई प्रविधिको फाइदा र बेफाइदाका बारेमा उक्त कार्यक्रममा विशेष जानकारी गराइएको छ । कक्षा ११ र डिप्लोमा प्रथम वर्षका विद्यार्थी सहभागी कार्यक्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक एलिजा गिरीले विद्यार्थीले मोबाइल, आइफोन, आइप्याड, फेसबुक, युटुबजस्ता माध्यमको प्रयोगमा निकै सतर्कता अपनाउनु पर्ने बताइन ।

निरीक्षक गिरीले पछिल्लो समय फेसबुक समस्याकै रूपमा रहेको भन्दै यसमा विशेष ध्यान दिनु पर्ने उल्लेख गरिन । विद्यालय तथा कलेजका विद्यार्थीले अत्यधिक सामाजिक सञ्जाल तथा इन्टरनेट गेममा समय खर्चिने गरेको विषय उठान गर्दै उहाँले त्यस्तो नगर्न विद्यार्थीसँग आग्रह गरिन । निरीक्षक गिरीले इन्टरनेटबाट जस्तोसुकै अपराध पनि हुन सक्ने सम्भावना भएकाले त्यसको प्रयोगमा सचेत रहन समेत अनुरोध समेत गरिन ।

आफ्नै साथीभाइमा समेत आफ्ना गोप्य सामग्री सामाजिक सञ्जालबाट सेयर गर्ने,पासवर्ड अरूलाई दिने, मनपरी सामाग्रीहरू पोस्ट गर्ने जस्ता लापरबाही कदापी नगर्न समेत उनले विद्यार्थीसँग थप आग्रह गरिन । विद्यार्थीको उज्वल भविष्य निर्माणका बिसयमा प्रसङ्ग जोड्दै गिरीले वर्तमान समयमा मेहनत गरेकै आधारमा आफ्नो भविष्य निर्धारण हुने भएकाले पढाइसँगै अन्य आधारभूत विषयमा समेत जानकार रहन आवश्यक हुने बताइन ।

कार्यक्रममा अर्का प्रशिक्षक मनोपरामर्शकर्ता तेजेन्द्र पाण्डेले विद्यार्थीले आफ्नो इच्छा अनुसार कसरी अगाडि बढ्ने भन्ने विषयमा केही प्रशिक्षण प्रदान गरे। कार्यक्रममा प्रहरी सामुदायिक सेवा केन्द्र कोटेश्वरका प्रमुख प्रहरी सहायक निरीक्षक राजेन्द्र सिंह पुजाराले मुख्य सहजीकरण गरेका थिए ।