अनुवाद कथा : सहपाठी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अनुवाद कथा : सहपाठी



–सत्यजित रे

बिहानको नौ बजेको छ ।

मोहित सरकारले घाँटीमा टाइको गाँठो मात्र के लगाएका थिए, उनकी पत्नी अरुणा कोठामा आएर भनिन् “तिम्रो फोन ।”

“अब यतिबेला कसले फोन गर्न सक्छ होला ?”

मोहितको ठ्याक्कै साढे नौ बजे कार्यालय जाने नियम रहेको छ । अब घरबाट निस्कने बेलामा “तिम्रो फोन” सुनेर मोहितको पारो चढ्यो ।

अरुणाले भनिन् “ऊ कुनै समयमा तिमीसँगै स्कुलमा पढ्थ्यो रे ।”

“स्कुलमा……. हो र ? ……… नाम भन्यो ??”

“उसले– जय नाम भन्दा उसले बुझिहाल्छ– भन्यो ।”

मोहित सरकारले स्कुल छोडेको करिब तीस वर्ष भयो होला । उसका क्लासमा चालीसजना जति केटाहरू थिए । धेरै ध्यान दिएर सोच्दा पनि बढी से बढी बीसजनाको नाम सम्झन सक्छ साथै उनीहरूको अनुहार पनि सम्झन गाह्रो नपर्ला । सौभाग्यले जय या जयदेवको नाम र अनुहार राम्रैसँग उसलाइ याद छ । जयदेव क्लासका राम्रा केटाहरूमध्ये एक थियो । गोरो, सुन्दर अनुहार, पढाइलेखाइमा तेज, खेलकुदमा पनि अगाडि, र हाईजम्पमा चाहिँ प्रथम । कहिलेकाहीँ उसले तासको खेल पनि देखाउने गर्थ्यो र कैसेबियाँकाको गणनामा उसले कुनै पदक पनि जितेको थियो । स्कुलबाट निस्केपछि मोहितले उसको कुनै खोजीनिती गरेन । आज यतिका वर्ष पछि बन्धुत्वको कारणले वा कुनै समय सहपाठी रहेको यो मानिससँग खासै अपनत्व महसुस गरिरहेका थिएनन् । तै पनि, मोहितले रिसिभर समाते ।

“हेलो……..”

“को ? मोहित…….. । मलाई चिन्यौ साथी…… म तिम्रो जय क्या …… जयदेव बोस । बालिगञ्ज स्कुलको सहपाठी ।”

“आवाजले त चिन्न सकिनँ……. अँ तर अनुहारचाहिँ याद छ ………. भन के छ ?”

“तिमी त ठूला अफिसर भइहाल्यौ यार, मेरो नाम नै बिर्सेनौ यही ठूलो कुरा भइहाल्यो नि ।”

“अरे छोड यी सब कुरा…… भन के छ ?”

“ठीकै छ………. अलि आवश्यक थियो । एकपल्ट भेट्न चाहन्छु तिमीसँग ।”

“कहिले ?”

“जहिले तिमी भन्छौ, तर अलिक छिटो भए राम्रो….. ”

“त्यसो भए आजै भेट । म बेलुका छ बजे नै घर आइपुग्छु, तिमी सात बजे आउन सक्छौ ?”

“किन नसक्नु……… अवश्य आउँछु, ल त धन्यवाद, त्यसै बेला सबैकुरा गरौँला ।”

हालसालै किनेको आकासे रङको कारमा कार्यालय जाँदा मोहित सरकारले स्कुलमा घटेका केही घटनाहरू सम्झने कोसिस गरे । हेडमास्टर गिरीन्द्र सुरको तीखो नजर र गम्भीर स्वभाव हुँदाहुँदै पनि स्कुलका दिनहरू साँच्चै कस्ता– कस्ता खुसीले भरिएका थिए । मोहित आफैँ पनि एउटा राम्रा बिद्यार्थी थिए । शंकर, मोहित र जयदेव– यी तीनजनामा मात्र प्रतिद्वन्द्विता चलिरहन्थ्यो । पहिलो, दोस्रो र तेस्रो स्थानमा यिनै तीनजनाको पालैपालो कब्जा रहन्थ्यो । छ कक्षादेखि लिएर मोहित सरकार र जयदेव बोस सँगै पढ्ने गर्दथे । धेरैपल्ट त एउटै बेन्चमा बसेर पढेका थिए । फुटबलमा पनि दुईजनाको स्थान बराबरी मै थियो । मोहित राइट–इन खेलाडी थिए भने जयदेव राइट–आउट । त्यसबेला मोहितलाई यो दोस्ती आजकै मात्र नभएर युगौँको हो जस्तो लाग्थ्यो । तर स्कुल छाडेपछि दुईजनाकै बाटाहरू छुट्टिए । मोहितका बाबु एक रइस थिए, कोलकाताका नामी वकिल । स्कुलको पढाइ सकिनेबित्तिकै मोहित एउटा राम्रो कलेजमा भर्ना भए र यहाँको पढाइ समाप्त भएको दुई वर्षमै एउटा ठूलो व्यावसायिक कम्पनीमा अफिसरको पदमा उसको नियुक्ति भएको थियो । जयदेवचाहिँ अर्कै सहरको कुनै कलेजमा भर्ना भएको थियो । वास्तवमा उसको बुबाको नोकरीमा सरुवा भइरहन्थ्यो । अचम्मको कुरा के थियो भने कलेजमा गएपछि मोहितलाई जयदेवको कमी कहिल्यै महसुस भएन । उसको स्थान कलेजमा अर्कै साथीले लियो र कलेजको जीवन समाप्त भएर जागिर सुरु भएपछि त्यही साथी पनि फेरियो । अहिले मोहित आफ्नो कार्यालयको दुनिया“मा चार ठूला अफिसरहरूमध्ये एक छन् र उनका राम्रा साथीहरूमध्ये एक आफ्नै सहकर्मी छ । स्कुलका साथीमध्ये एकजना प्रज्ञान सेनगुप्त छ । तर स्कुली जीवन स्मृतिमा प्रज्ञानको कुनै स्थान छैन । तर जयदेव– जोसँग गएको तीस वर्षसम्म भेटसम्म भएको छैन– उसको स्मृतिले राम्रै ठाउँ बनाएको छ । मोहितले पुराना दिनहरू याद गर्दै यही कुराको वास्तविकता महसुस निकै गहिराइमा गरे ।

मोहितको कार्यालय सेन्ट्रल एभेन्युमा छ । चौरङ्गी र सुरेन्द्र बनर्जी रोडमा पुग्दापुग्दै गाडीको भीड, बसका हर्न र धुवाँले मोहित सरकारको स्मृतिको दुनियाँ ढल्यो र उनी अगाडि उभियो वर्तमान । आफ्नो नाडी–घडीमा दृष्टि दौडाँउदा उनले आज तीन मिनट ढिलो कार्यालय पुगिन्छ भन्ने कुरा बुझे ।

कार्यालयको कार्यसम्पादनपछि, मोहित जब ली रोडस्थित आफ्नो घरमा पुगे तब बालिगञ्ज स्कुलको बारेमा उनलाई रत्तिभर सम्झना बाँकी थिएन । यहाँसम्म कि बिहान टेलिफोनमा भएको कुराकानी पनि बिर्सिसकेका थिए । आफ्नो नोकर विपिन ड्रइङ रुममा आएर एउटा चिट दिँदा मात्रै उनले यो कुरा सम्झे । कुनै अभ्यास पुस्तिकाबाट च्यातेको कागजको टुक्रा थियो– पट्याइएको । त्यसमा अङ्ग्रेजीमा लेखेको थियो– ‘जयदेव वोस…….. एज पर एपाइन्टमेन्ट ।’

रेडियोमा आउँदै गरेको बी.बी.सी. को समाचार सुन्न छाडेर उनले विपिनलाई भने, “उसलाई भित्र आउन भन ।”

तर तुरुन्तै फेरि उनले महसुस गरे कि जय यतिका दिनपछि भेट्न आउँदैछ, उसको नास्ताका लागि केही त मगाउनै पथ्र्यो । कार्यालयबाट फर्किँदा पार्कस्ट्रिटबाट आरामले केक या पेस्ट्री जे पनि ल्याउन सक्थे तर जय आउने कुरा सम्झनामै रहेन । खै घरवालीले कुनै बन्दोवस्त गऱ्या छ कि छैन यस बारेमा !

“चिन्दैछौ ?”

यो प्रश्न सुनेर र सोध्ने मान्छेतिर हेर्दा मोहित सरकारको मनोदशा बैठक कोठाको सिँढी पार गरेपछि एक कदम पछाडि बढ्दा सिँढी नभएको ठाउँमा खुट्टा राखेजस्तो भयो ।

कोठाको चौखट नाघेर जो सज्जन भित्र पसेका थिए उनले खुकुलो सुती पतलुन लगाएका थिए । त्यसमाथि साधारण छापावाला सुती सर्ट थियो । दुइटैमा कहिल्यै इस्त्री लगाएजस्तो थिएन । सर्टको कलरबाट जुन अनुहारले चिहाइरहेको थियो, त्यो देखेर मोहितले आफ्नो स्मृतिमा बसेको जयदेवको कुनै तालमेल बसाउन सकेनन् । आउने मानिसको अनुहार सुकेको, गाला भासिएका, आँखा गाडिएका जीउको रङ पनि घाममा डडेर कालो थियो । यही अनुहारमा तीन–चार दिनका सेताकाला जुँगा पनि उम्रिएका थिए । निधारमा एउटा कोठी र कनसिरीतिर जताततै छरिएका कपाल ।

ती मानिसले यो प्रश्न नक्कली हाँसो बनाएर सोधेका थिए– उनका दाँतका लहर मोहितले देखेका थिए । पान खाएर सडेका दाँत देखाउँदै हाँस्नेले चाहिँ सबभन्दा पहिले आफ्नो मुख हत्केलाले छोप्नुपर्ने हो ।

“प्रशस्तै फेरिएँ नि……… हैन ?”

“बस ।”

मोहित अझै उभिइराखेकै थिए । अगाडिका व्यक्ति सोफामा बसेपछि मोहित पनि आफ्नो ठाउँमा बसे । मोहितको विद्यार्थी–जीवनको फोटो एलबममा छ । त्यस फोटाको चौध वर्षको मोहित र अहिलेको मोहितलाई दाँज्ने हो भने चिन्न खासै गाह्रो नपर्ला । फेरि सामुन्ने बसेको जयलाई चिन्न किन यति गाह्रो भइरहेको छ ? मात्र तीस वर्षमा अनुहारमा त्यतिविघ्न परिवर्तन हुन्छ र ?

“तिमीलाई चिन्न कुनै कठिनाइ भएको छैन । बाटामै भेटेको भए पनि चिन्ने थिए“ ।” आएका भलादमीले सुरु गरे “वास्तवमा ममाथि दुःखको पहाड नै खस्यो । कलेजमा हुँदै पिताजी खस्नुभयो । म पढ्न–लेख्न छोडेर नोकरी खोज्न थालेँ । बाँकी त तिमीलाई थाहा छ नै । राम्रो भाग्य र सिफारिस नभए आजको जमानामा हामीजस्ताका लागि……..”

“चिया त खान्छौ नि ?”

“चिया ? हुन्छ तर………. ।”

मोहितले विपिनलाई बोलाएर चिया ल्याउन अह्राए । साथै केक र मिठाई नभए पनि चल्छ भन्ने सोचेर केही राहत महसुस गरे । यसलाई त बिस्कुट नै पर्याप्त हुन्छ ।

“ओहो……… ” ती भलादमी भन्न लागे “आज दिनभरि कतिपय पुराना कुराहरू सम्झिरहेँ । के भनौँ र तिमीलाई ………. ।”

मोहितको समय पनि त्यसै गरी बितेको थियो । तर उनले केही भनेनन् ।

“एल सी एम र जी सी एम को कुरा थाहा छ ?”

मोहितलाई यो बारेमा थाहा थिएन तर प्रसङ्ग उठेपछि उनले सम्झे एल सी एम अर्थात् पी टी मास्टर लालचन्द मुखर्जी र जी सी एम अर्थात् गणित शिक्षक गोपेन्द्रचन्द्र मितिर ।

“स्कुलमा हामीलाई जबरजस्ती पानी–ट्याङ्कीपछाडि उभ्याएर कसैले हाम्रो फोटो खिचेको थियो, याद छ ?”

ओठका कुनामा मीठो मुस्कान ल्याएर मोहितले जनाए उनलाई त्यो कुरा याद छ । आश्चर्य यी सबै कुराहरू सत्य थिए । तर यो मान्छे जयदेव नभए उसलाई यो सबै कुरा कसरी थाहा भयो त ?

“स्कुले जीवनका ती पाँच वर्ष, मेरा जीवनका सबैभन्दा राम्रा वर्षहरू थिए ।” आउने आगन्तुक बताइरहेका थिए र फेरि अफसोस प्रकट गरे “ती दिन त फेरि फर्केर आउँदैनन् हगि ?”

“तर तिमी त मेरै उमेरका हौ नि ।” मोहित यसपल्ट नबोली सकेनन् ।

“म तिमीभन्दा तीनचार महिना कान्छै हुँ ।”

“फेरि तिम्रो हालत यस्तो कसरी भयो ? तालु पनि खुइलिएछ ?”

“समस्या र तनावदेखि बाहेक के कारण होला र ?” आगन्तुकले भने “तर तालु खुइलिने त हाम्रो परिवारमा पहिलेदेखि नै हो । मेरा बुबा र हजुरबा पैँतीस वर्षमै चिन्डे भइसकेका थिए । मेरा गाला पनि भासिएका छन् । हाड– तोड मेहनतले र समयमा राम्रो खाना नपाउनाले होला । फेरि तिमीहरूजस्तो कुर्सीटेबलमा बसेर हामी काम गर्दैनौँ । गएको सात वर्षदेखि एउटा कारखानामा काम गर्दैछु, त्यसपछि मेडिकल सेल्समेनको नाताले यता–उताको भागदौड, बीमाको दलाली, यसको दलाली, उसको दलाली………. । कुनै एउटै काममा जुटिरहन आफ्नो भाग्य कहाँ छ र ? आफ्नै जालमा फ“सेको माकुरोजस्तो यताउति डुलिरहन्छु । भन्छन् नि देह बोकेको दण्ड । हेर्नु छ यस देहले कहाँसम्म साथ दिन्छ । तिमीले त मेरो हालत देख्यौ नै ।”

विपिनले चिया लिएर आयो । चियासँग सन्देश र समोसा पनि थियो । ओहो श्रीमतीले त चासो लिइछन् है । तर उसको सहपाठीको टुटेफुटेको नक्सा देखेर के सोचिरहेकी होलिन् ?– यस कुराको भान उनलाई भएको थिएन ।

“तिमी लिँदैनौ ?” आगन्तुकले भने ।

मोहितले टाउको हल्लाउँदै भने “अह“, भरखर पिएको ।”

“सन्देश त लेऊ न ।”

“अहँ…… तिमी त सुरु गर……. ।”

भलादमीले समोसा टिपेर मुखमा हाले र एक टुक्रा चबाउँदै भन्न लागे “छोराको जाँच आइसक्यो र मेरो समस्या यही हो कि मैले उसको फीस जुटाउन सकिरहेको छैन । बडो मुस्किलमा छु । केही बुझ्न सकिरहेको छैन कसो गर्नुपर्ने हो ।”

अब अगाडि भन्न जरुरी छैन । मोहितले बुझिहाले । यो मान्छे आउनुभन्दा अघि नै उनले बुझ्नुपर्थ्यो मामला के हो भनेर ? आर्थिक सहायता र त्यसका लागि प्रार्थना । आखिर यसले कति रकमको मद्दत माग गर्छ होला ? यदि बीस–पच्चीस रुपैयाँ दिएर पिण्ड छुट्ने हो भने त राम्रै हो तर यो मद्दत दिइएन भने यो बला टल्छ जस्तो लाग्दैन । “थाहा छ…. मेरो छोरो निकै बाठो छ । उसले यो मद्दत पाएन भने उसको पढाइ त बीचमा नै रोकिने भयो……….” म जबजब यस बारेमा सोच्न थाल्छु रातको निद्रै गायब हुन्छ । प्लेटबाट अर्को समोसा पनि उडिसकेको हुन्छ । मोहितले मौका छोपेर किशोर जयदेव र आगन्तुकको अनुहार भिडाएर हेरे, र अब उनलाई पूरा विश्वास भयो त्यो बालकसित यो अधेडको कुनै मेल छैन ।

“यसैकारण भन्दै थिएँ कि……..” चियाको चुस्की लिँदै आगन्तुकले थपे, “यदि तिमी डेढ सय रुपैयाँ यो पुरानो साथीलाई दिन सक्छौ भने……….”

“भेरी सरी………”

“के ?”

मोहितले मनमनै निश्चय गरेका थिए– रुपैयाँ–पैसाको कुरा भयो भने सिधै हुन्न भन्दिन्छु । तर अहिले आएर उनलाई लाग्यो यति रुखो भएर नाइँ भन्नु पनि ठीक हुन्न । त्यसैले आफ्नो गल्तीलाई मरम्मत गर्दै नरम भएर भने “सरी भाइ, अहिले मसँग नगद छैन ।”

“म भोलि आउन सक्छु ।”

“म कलकत्ताबाहिर रहन्छु र तीन दिनमा मात्र फर्कन्छु । तिमी आइतवार आऊ ।”

“आइतवार ?”

आगन्तुक एकछिन चुप लागेर बसे । मोहित पनि मनमनै केही निधो गर्दै थिए । यो त्यही जयदेव हो यसको कुनै प्रमाण थिएन । कलकत्ताका मानिसले एकअर्कालाई ठग्न हजार तरिकाहरू सिकिसकेका छन् । जोसँग पनि तीस साल पहिलेको वालिगञ्ज स्कुलका केही घटनाहरूका बारेमा जानकारी लिन कठिन काम थिएन । त्यै सही ।

“म आइतवार कति बजे आऊँ ?”

“बिहानै, बिहानै ठीक हुन्छ ।”

शुक्रवार इदको छुट्टी छ । मोहितले यो सप्ताहान्त आफ्नी पत्नीसित बाइपुरको एउटा साथीको बङ्गलामा मनाउने निश्चय गरिसकेका थिए । त्यहाँ दुई–तीन दिन बसेर आइतवार बेलुकामात्रै फर्केर आउन सकिन्छ । त्यसैले आइतवार बिहान ती भलादमी आउँदा मलाई भेट्दैनन् । यदि उनले दुई शब्दमा “हुन्न” भनिदिएको भए यो बहानाको आवश्यकता नै थिएन । तर धेरै मानिसहरूले सिधै त्यसो गर्न सक्दैनन् । मोहित पनि त्यस्तै स्वभावका मानिस थिए । आइतवार मोहितलाई नभेटेर उसले अर्को उपाय निकाल्यो भने मोहित फेरि पनि बच्ने कोसिस गर्नेछन् । सायद त्यसपछि अर्को समस्याको सामना गर्ने झन्झट नआओस् ।

आगन्तुकले चियाको अन्तिम घुट्को पिएर कप तल राख्दाराख्दै अर्का एकजना सज्जन भित्र आए । यी आउने मोहितका अन्तरङ्ग मित्र थिए– वाणीकान्त सेन । अरु दुई मित्रहरूको पनि आउने कुरा छ त्यसपछि त तासको अड्डा यहीँ जम्छ । उनले आगन्तुकलाई शङ्काको दृष्टिले हेर्न लागे । आगन्तुकसित साथीको परिचय गराउने कुरा मोहितले टारेरै छाडे ।

“ल त फेरि भेटौँला…… अहिले जान्छु…….. ।” भन्दै आगन्तुक उठ्न लागे “त“ मलाई यो उपकार गरिदे, म साँच्चै ऋणी हुनेछु ।”

ती भलादमी गएपछि वाणीकान्त सेन अचम्भित भएर मोहिततिर फर्केर भने “यो मान्छे त तिमीसँग ‘तँ’मा कुरा गर्दै थियो– के कुरा छ ?”

“यतिन्जेल त तिमी नै भनीरहेको थियो । पछाडि तिमीलाई सुनाउन अचानक तँ भनेर गयो ।”

“को हो यो मान्छे ?”

मोहित जवाफ नदिईकन बुकसेफतिर गएर त्यहाँबाट एउटा पुरानो फोटो अलबम निकालेर ल्याए । त्यसपछि एउटा पातो पल्टाएर वाणीकान्तका अगाडि राखिदिए ।

“यो तिम्रो स्कुलको ग्रुप हो कि क्या हो ?”

“अँ बोटोनिक्समा हामी सबैजना पिकनिक गएका थियौँ त्यही बेलाको हो ।”

“यी पाँचजना को को हुन् ?”

“मलाई चिनेनौ ?”

“खै हेरौँ ।”

अलबम आँखाको छेउमा ल्याउनेबित्तिकै वाणीकान्तले आफ्नो साथीलाई चिनिहाले ।

“ल मेरो देब्रेतिर उभिएको केटालाई राम्ररी हेर त ।”

फोटोलाई अझै आँखाको छेउमा ल्याएर वाणीकान्तले भने “अँ, हेरेँ त ।”

“अरे, त्यही हो त त्यो भलादमी अहिले भर्खर यहाँबाट उठेर जाने !” मोहितले भने ।

“स्कुलदेखि नै जुवा खेल्ने लत त लागेको छैन त्यसलाई ? अलबमलाई छिट्टै बन्द गरेर सोफामा फ्याँक्दै वाणीकान्तले भने “मैले यो मान्छेलाई कमसे कम तीस–बत्तीसपल्ट रेसकोर्समा देखिसकेको छु ।”

“तिमी ठीकै भन्दै छौ……..” मोहित सरकारले स्वीकृति जनाएर ती आगन्तुकसित भएको कुराकानी सबै सुनाए ।

“थानामा खबर गरिहाल तँ वाणीकान्तले उनलाई सल्लाह दिए “कलकत्ता त अब यस्तै चोर, लुटेरा र उचक्काहरूको अड्डा भएको छ । यो फोटोमा भएको केटो यस्तो पक्का जुवाडी बन्नु असम्भव……… इम्पोसिबल ।”

मोहितले बिस्तारै हाँस्दै भने “आइतवार जब म घरमा भेटिन्न नि, अनि थाहा हुन्छ त्यसलाई । मलाई लाग्छ त्यसपछाडि यस्ता कामबाट ऊ चेत्नेछ ।”

वाइपुरवाला मित्रका घरबाट पोखरीको माछा, पोल्ट्रीको ताजा अन्डा, रूखमा फलेका आँप, अम्बक, जामुन र डाब खाँदै, छातीमा सिराने लगाएर तास खेल्दै तन–मनको सारा थकान र पीडा भगाएर आइतवार बेलुका घर आइपुग्दा आफ्नो सेवक विपिनबाट पहिले बेलुका आएका सज्जन– आज बिहान पनि आएका थिए भन्ने खबर मोहितले पाए ।

“केही भनेर जानुभएको छ ?”

“अँहँ भन्नुभएन” विपिनले भन्यो ।

ठीक छ, ज्यान बच्यो । एउटा सानो जुक्तिले दशा टऱ्यो । ऊ फेरि आउँदैन । पिण्ड छुट्यो ।

 

तर अँहँ होइन । आपत रातभरिलाई मात्रै टरेको थियो । अर्को दिन बिहान आठ वजे, मोहित बैठक कोठामा बसेर समाचारपत्र पढ्दै गर्दा विपिनले एउटा पट्याएको पुर्जा ल्याएर दियो । मोहितले खोलेर हेरे । त्यो तीन लाइनमा लेखेको चिठी थियो– साथी मोहित, मेरो दाहिने खुट्टा मर्किएको छ । त्यसैले छोरो पठाउँदै छु सहायताका रूपमा धेरथोर जे हुन्छ, यसको हातमा हालिदिनू, ठूलो कृपा हुनेछ । निराश गर्दैनौ भन्ने आशासहित । इति ।

– तिम्रो जय ।

मोहितलाई लाग्यो अब कुनै उपाय छैन । जसरी हुन्छ धेर–थोर दिएर नै फुत्कनु प¥यो– भन्ने निश्चय गरेर नोकरलाई बोलाएर भने “ठीकै छ, केटालाई बोलाऊ ।” एक छिनपछि एउटा तेह्रचौध वर्षको केटो भित्र पस्यो । मोहितका छेउमा आएर प्रणाम गऱ्यो र केही पाइला पछि हटेर चुपचाप उभियो ।

मोहितले उसलाई केही बेर ध्यानले हेरे । त्यसपछि भने “बस ।”

केटो केही क्षण अलमलिएजस्तो भयो र फेरि सोफाको छेउमा दुइटै हात काखमा राखेर बस्यो ।

“म आइहालेँ है ।”

मोहितले दोस्रो तलामा गएर श्रीमतीको आँचलबाट चाबीका गुच्छा निकाले । त्यसपछि दराज खोलेर पचास रुपैयाँका चारवटा नोट निकालेर एउटा खाममा राखेर बैठकमा ओर्लिए ।

“तिम्रो नाम के हो ?”

“हजुर ! सञ्जयकुमार बोस ।”

“यसमा रुपैयाँ छन् । जोगाएर लैजानुपर्छ ।”

केटाले टाउको हल्लाएर स्वीकृति दियो ।

“कहाँ राख्छौ ?”

“यहाँ माथिल्लो गोजीमा ।”

“ट्राममा जान्छौ कि बसमा ?”

“हजुर, पैदल जान्छु ।”

“पैदल ? तिम्रो घर कहाँ छ ?”

“मिर्जापुर स्ट्रिटमा ।”

“यति टाढा पैदल कसरी जान्छौ ?”

“पिताजीले पैदल नै आउनु भन्नुभएको छ ।”

“ल, त्यसोभए एउटा काम गर । तिमी एक घण्टा यहीँ बस…… हुन्छ ? नास्ता गर । यहाँ थुप्रै पुस्तकहरू छन्– हेर । म नौ बजे कार्यालय निस्कन्छु । मलाई कार्यालय पुऱ्याएर मेरो गाडीले तिमीलाई घरै पुऱ्याइदिनेछ । तिमी ड्राइभरलाई आफ्नो घरको बाटो देखाउन सक्छौ ?” मोहितले सोधे ।

केटाले टाउको हल्लाएर भन्यो, “हजुर, सक्छु ।”

मोहितले विपिनलाई बोलाएर सञ्जय बोसकालागि चिया आदि ल्याउने आदेश दिए । फेरि कार्यालय जानकालागि तयार हुन आफ्नो कोठातिर लागे ।

आज मोहितले आफैँलाई एकदमै हलुङ्गो महसुस गर्दै थिए र साह्रै खुसी पनि । जयलाई देखेर चिन्न नसके पनि उसको छोरो सञ्जयमा मोहितले आफ्नो तीस वर्ष पुरानो सहपाठी भेटेका थिए ।

मूल बङ्गालीबाट अनुवाद : कुमुद अधिकारी