केशव स्थापित भन्छन्: म रिसको भाँडा हुँ, नरिसाउ भन्न पाईन्न - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

केशव स्थापित भन्छन्: म रिसको भाँडा हुँ, नरिसाउ भन्न पाईन्न



नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले ‘मि टु’ बारेमा अराजक जवाफ दिएपछि एउटा कार्यक्रममा हंगामा भएको छ। धुम्बाराहीस्थित नेसनल कलेजले विहिवार आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा भावना राउत नामकी विद्यार्थीले स्थापितलाई लागेको ‘मी टु’ आरोपको बारेमा प्रश्न गरेकी थिईन।

जवाफ दिने क्रममा मेयर उम्मेदवार स्थापित अराजक रुपमा प्रस्तुत भएका थिए । उनी वसिरहेको कुर्सीबाट उठेर प्रश्नकर्तामाथि नै जंगिए। ‘मलाई आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ। यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन’– उनले भने।

रिसले चुर भएका स्थापितले ‘केशव स्थापित रिसको भाडा हो । नरिसाउनु भन्न पाइन्छ’ भन्दै जवाफ दिए । स्थापितले आरोप लागाउने महिलालाई भ्रष्टाचार गरेकाले निकालिएको जवाफ दिए। त्यसपछि राउतले ‘तपाईंमाथि आरोप लागिसकेपछि कि त खण्डन गरेर निर्दोष रहेको प्रमाणित गर्नुप-यो नभए मेयर जस्तो पदमा बस्ने नैतिकता तपाईंलाई हुन्छ? ’ भनेर सोधेकी थिइन्।

त्यसपछि स्थापित उठेर जंगिएका थिए । स्थापित जंगिएपछि होहल्ला भएको थियो। राउतका अनुसार अन्तरक्रियामा सहभागी विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समीक्षा बाँस्कोटाले पनि स्थापितको व्यवहारप्रति मञ्चमै आपत्ति जनाइन्।

चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले आफूहरूमाथि स्थापितले यौन दुर्व्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए।

आफूमाथि कुनै बेला भएको दुर्व्यवहारबारे विश्वभरका महिलाले आवाज उठाइरहेको त्यो समयमा रश्मिला र उज्जलाले पनि स्थापितबाट भएका यौन दुराचारको घटना बाहिर ल्याएका थिए। विश्वभरिका महिलाहरूले सुरू गरेको उक्त अभियान ‘मिटू’ भनेर चिनिएको थियो।