केशव स्थापितले भने: मलाई माफ गरिदिनुहोला - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

केशव स्थापितले भने: मलाई माफ गरिदिनुहोला



काठमाडौँ- नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले माफी मागेका छन् । मेयरमा उम्मेदवारी दर्ता गरेदेखि प्रचारप्रसारमा दिएका अभिव्यक्ति र व्यवहारलाई लिएर स्थापितले माफी मागेका हुन् ।

स्थानीय तह निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्थापितले माफी मागेका हुन् ।

‘मैले माफी माग्नुपर्छ । यो चुनावी युद्धमा, युद्ध नै हो भने हतियार प्रयोग गरिन्छ । मिसाइल प्रयोग हुन्छ । हामीमाथि पनि हमला होला, आरोप होला । त्योभन्दा चर्को हमला हामीले पनि गर्‍यौं,’ माफी माग्दै उनले भने, ‘अझ जिउ फुलाएर देखायौं । नदेखाए त हेप्छ नि ! मैले नाचेँ होला, गाएँ होला र तिक्त भाषा बोले होला ।’

आफ्नो जित निश्चित भएको भन्दै स्थापितले थप माफी मागे, ‘मेरो वाणीले कसैलाई अप्ठ्यारो परेछ, माफ पाउँ । मेयर हुने मान्छेले माफ माग्न सिक्नुपर्छ । क्षमा पाऊँ । मेरो हाउभाउले दुःख भएछ, पीडा भएछ माफ पाउँ । मेरो लेखनले पीडा भएछ भने माफ पाउँ ।’

आफूमाथि आक्रमण भएको बेला छेकेको स्थापितको भनाइ थियो । ‘केही महिला वृन्दहरूलाई यो मान्छे कठोर छ कि भन्ने लागेको छ भने यो मान्छे फूलजस्तो हो । सेवा गर्न पाउँ । माफ पाउँ मैले केही गल्ती गरेको भए ।’ ‘क्षमाको कमी भएको भए स्वीकार (कन्फेस) गर्छु’ भन्दै उनले माफी मागेका हुन् । उनले कार्यक्रममा पटकपटक माफी मागेका थिए ।

स्थापितलाई लागेको महिलालाई यौन दुर्व्यवहारको आरोप चर्चामा आएको थियो । उनी उम्मेदवार बनेपछि उक्त आरोप सार्वजनिक भएको थियो । मनोनयन दर्ता गरेको दिन स्थापितले आफूलाई आरोप लगाउने महिलालाई ‘पागल’ को संज्ञा दिएका थिए ।

चुनाव प्रचारको क्रममा पनि स्थापितले विवादित अभिव्यक्ति दिएका थिए । उनले निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले २ पटक स्पष्टीकरण सोधेको थियो ।