प्लेअफमा पुग्ला सनराइजर्स हैदराबाद ? - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

प्लेअफमा पुग्ला सनराइजर्स हैदराबाद ?



एजेन्सी- उत्कृष्ट ओपनिङ साझेदारीमा सनराइजर्स हैदराबादले बिहीबार किंग्स इलेभेन पन्जाबलाई ६९ रनले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने सम्भावना पुनः ब्युँत्याएको छ।

हैदराबाद छैटौं खेलमा तेस्रो जित हात पारी तेस्रो स्थानमा उक्लिएको छ। आठमध्ये शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ। मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स ८–८ अंकसहित पहिलो दुई स्थानमा छन्। कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरको ६–६ नै अंक भए पनि राम्रो रनरेटमा हैदराबादभन्दा तालिकामा तल छन्। पन्जाब ६ खेलमा एक विजयसाथ पुछारमा छ।

वेस्ट इन्डिजका ब्याट्सम्यान निकोलस पूरनले ३७ बलमा ७७ रन बनाए पनि २ सय २ रनको लक्ष्य लिएर आएको पन्जाब १६.५ ओभरमै १ सय ३२ रनमा अलआउट भयो। अब्दुल समादको एक ओभरमा ४ छक्का र एक चौका प्रहार गरेका पूरनले कुल ५ चौका र ७ छक्का प्रहार गरे। रशिद खानले मेडन ओभर फाल्नेक्रममा १५ औं ओभरमा पूरन र मोहम्मद सामीलाई आउट गरे।

पूरनबाहेक दोहोरो स्कोर बनाउनेमा कप्तान केएल राहुल र सिमरन सिंह मात्र थिए। दुबैले समान ११ रन बनाए। ग्लेन म्याक्सवेल ७ रनमा आउट भए। रशिदले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। खलिद अहमद र टी नटराजनले २–२ तथा अभिषेक शर्माले १ विकेट लिए।

यसअघि कप्तान डेविड वार्नर र जोनी बेरिस्टोले बलियो साझदोरी गरी दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदराबादले ६ विकेट गुमाई २ सय १ रन बनाएर विजय आधार तयार पारेको थियो।

वार्नर र वेरिस्टोले १५ ओभरमा १ सय ६० रन जोडेर हैदराबादलाई सानदार सुरुआत दिलाएका थिए । युवा स्पिनर रवि विष्णोइले १६ औं ओभरमा दुवैलाई आउट गरे। ओभरको पहिलो बलमै वार्नरले म्याक्सवेललाई क्याच दिन पुगे। उनले ४० बलमा ५ चौका र १ छक्कासहित ५२ रन बनाए।

विष्णोइले बेरिस्टोलाई ९७ रनमा एलबीडब्लु आउट गरे। म्यान अफ द म्याच इंग्लिस ब्याट्सम्यान बेरिस्टोले ५५ बल खेली ७ चौका र ६ छक्का प्रहार गरे। बेरिस्टोले नै विष्णोइलाई एकै ओभरमा २ छक्का र १ चौका प्रहार गरेका थिए। केन विलियम्सन १० बलमा २० रन बनाई अविजित रहे भने अभिषेक शर्माले ६ बलमा १२ रन बनाए। विष्णोइले ३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। अश्रदीप सिंहले २ र सामीले १ विकेट लिए ।