हैदराबाद १४ रनले पराजित, मुम्बईले थप्यो अर्को जित
सर्वाधिक पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २५ औं खेलमा सनराइजर्स हैदराबादलाई १४ रनले पराजित गरेको छ । मुम्बई तेस्रो जितसँगै अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ ।
जितको लागि १ सय ९३ रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.५ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । हैदराबादका ओपनर मयंक अग्रवालले ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४८ रन बनाए । कोलकाता नाइट राइडर्सविरुद्ध सानदार शतक हानेका युवा ओपनर ह्यारी ब्रुक मुम्बइसँगको खेलमा ७ बलमा २ चौकासहित ९ रनमा क्याच आउट भए ।
उनी तीव्र गतिका बलर जेसन बेहर्नडोर्फको दोस्रो ओभरको चौथो बलमा टप एज लागेर कभर प्वाइन्टमा सूर्यकुमार यादवबाट क्याच आउट भए । बेहर्नडोफले नै चौथो ओभरको चौथो बलमा राहुल त्रिपाठीलाई ७ रनमा विकेटकिपर ईशान किशनबाट क्याच आउट गराए ।
कप्तान एडेन माक्ररम १७ बलमा १ चौका र १ छक्कासहित २२ र अभिषेक शर्मा १ रनमा आउट भए । हैदराबादलाई जितको लागि ४२ बलमा ८७ रन चाहिँएको थियो । स्पिनर पियुष चवालालाई हेनरिक क्लासेनले १३ औं ओभरको दोस्रो बलमा चौका, तेस्रो, चौथो बलमा छक्का र पाँचौं बलमा चौका हानेपछि खेल रोचक बनेको थियो ।
तर अन्तिम बलमा क्लासेन ठूलो सट खेल्ने धुनमा लङअनमा टिम डेविडबाट क्याच आउट भए । क्लासेनको विकेट मुम्बईको जितको टर्निङ प्वाइन्ट बन्यो । आक्रामक ब्याटिङ गरेका क्लासेन १६ बलमा ४ चौका र २ छक्कासहित ३६ रनमा आउट भए ।
अन्तिम १२ बलमा हैदराबादलाई जितको लागि २४ रन चाहिँएको थियो । क्यामरन ग्रीनले १९ औं ओभरमा मात्रै ४ रन दिएपछि मुम्बई जिततर्फ अघि बढेको थियो । अन्तिम ६ बलमा जितको लागि २० रन चाहिँएको थियो । सचिनका छोरा अर्जुन तेन्दुलकरले पाँचौं बलमा भुवनेश्वर कुमारलाई रोहित शर्माबाट क्याच गराउँदै आइपिएलमा डेब्यू विकेटका साथ खेल सकाए ।
मुम्बईका तीव्र गतिका बलर जेसन बेहर्नडोफले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । राइली मेरीडिथले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । पियुष चवालाले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । अर्जुन तेन्दुलकर र क्यामरन ग्रीनले समान एक विकेट लिए ।
त्यसअघि राजिव गान्धी अन्तर्राष्ट्रिय रंगाशाला हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९२ रनको योगफल बनाएको थियो । मुम्बईका युवा अलराउन्डर क्यामरन ग्रीनले ४० बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६४ रनको अविजित इनिङ खेलेका थिए ।
उनको यो आइपिएलको पहिलो अर्धशतक हो । गत डिसेम्बरमा आइपिएल अक्सनमा मुम्बईले ग्रीनमाथि धनको वर्षा गर्नेक्रममा १७ करोड ५० लाख भारु (२८ करोड नेपाली रुपैयाँ) खर्चेर ग्रीनलाई किनेको थियो । सुरुवाती खेलमा भने ग्रीन चल्न सकेका थिएनन् । उनी पन्जाब किंग्सका साम करन १८ करोड ५० लाख भारुपछि आइपिएल अक्सन इतिहासमै सर्वाधिक मूल्य पाउने खेलाडी हुन् ।
टिम डेविड ११ बलमा २ चौकासहित १६ रनमा रन आउट हुन पुगेका थिए । ओपनर तथा कप्तान रोहित शर्मा १८ बलमा ६ चौकासहित २८ रनमा आउट भएका थिए । रोहित तीव्र गतिका बलर टि नटराजनको बलमा कप्तान एडेन माक्ररमबाट क्याच आउट भए ।
रोहित आउट हुँदा मुम्बई ४.४ ओभरमा ४१-१ को अवस्थामा थियो । ईशान किशन ३१ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोड्दै पेभेलिएन फर्किए । दोस्रो विकेटका लागि ग्रीन र ईशान किशनले ४६ रनको साझेदारी गरेका थिए । सूर्यकुमार यादव ७ रनमै क्याच आउट भए ।
सूर्य र ईशान दुबै तीव्र गतिका बलर मार्को यानसनको बलमा माक्ररमबाट क्याच आउट भएका थिए । चौथो विकेटका लागि ग्रीन र तिलक बर्माले २८ बलमा ५६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । सानदार प्रदर्शन गर्दै आएका युवा बायाँ हाते खेलाडी तिलक बर्माले १७ बलमा २ चौका र ४ छक्कासहित ३७ रन जोेडेका थिए ।
हैदराबादका युवा तीव्र गतिका बलर मार्को यानसनले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । टि नटराजन र भुवनेश्वर कुमारले समान एक विकेट लिए ।