एसपीपी पहिलेकै कुरा हो, कसैले गर भने पनि सम्झौता गर्दिनँ: देउवा - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

एसपीपी पहिलेकै कुरा हो, कसैले गर भने पनि सम्झौता गर्दिनँ: देउवा



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता नगरिने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नगर्ने बताएका हुन्। बैठकमा गठबन्धनका नेताहरूले एसपीपी सम्झौताबारेको विषय उठाएका थिए।

त्यसबारे स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नहुने जानकारी दिएका थिए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एसपीपीबारे आइरहेका समाचारमा सत्यता नभएको प्रधानमन्त्रीले स्पष्ट पारेको बताए।

“हाम्रो परराष्ट्र नीतिमा कुनै विचलन हुन दिइनेछैन। कसैको पक्षमा ढल्कने कुरा हुँदैन,” बैठकमा प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै नेपालले भने, “हामी असंलग्न परराष्ट्र नीति छाड्दैनौं भनेर प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको छ।”

गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी पहिलेदेखिकै चर्चाको विषय भएको उल्लेख गरेका थिए। बैठकमा देउवाले भने, “एसपीपी पहिलेदेखि नै चर्चामा आएको कुरा हो। सबैको सहमति नहुने विषयमा सम्झौता हुँदैन। कसैले गर भने पनि सम्झौता गर्दिनँ।”

मुलुकको हितमा नहुने सम्झौता नगर्ने प्रधानमन्त्रीले बताएको नेपालको भनाइ थियो। “मुलुकको हितमा नहुने सम्झौता म गर्दै गर्दिनँ,” देउवाले भने।

गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी थिए।

प्रधानमन्त्री देउवा अमेरिकाको भ्रमणमा जाँदै छन्। उनको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौता गर्न खोजिएको भन्दै सांसदहरूले पनि प्रतिनिधि सभामा प्रश्न उठाएका छन्।

प्रधानमन्त्री देउवाले त्यसबारे पनि गठबन्धनको बैठकमा स्पष्ट पारेका थिए। एसपीपीको विषय सन् २०१५ मै अमेरिकाले प्रस्ताव गरेको र अहिले नियोजित रूपमा यसलाई उठाइएको प्रधानमन्त्री देउवाको भनाइ थियो।

गठबन्धनको बैठकमा माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालले एसपीपीका विषयमा प्रश्न उठिरहेकाले अहिले सम्झौता गर्न नहुने सुझाव दिएका थिए।