स्पोर्टस अवार्डलाई घोडाघोडी नगरपालिकाको साथ - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

स्पोर्टस अवार्डलाई घोडाघोडी नगरपालिकाको साथ



सुखड,कैलाली । कैलालीको धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई घोडाघोडी नगरपालिकाले साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई घोडाघोडी नगरपालिकाले प्रवर्द्धन गर्ने भएको हो ।

कार्यक्रमका लागी घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सचिव भानुभक्त आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीको पनि उपस्थिति रहेको थियो ।

खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई प्रोत्साहन गर्नका लागि थालनी हुन लागेको नयाँ अभियानमा नगरपालिकाले प्रवर्द्धन गरेको नगर प्रमुख चौधरीले बताए

पुस १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिइनेछ । वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।

चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने नेपाल खेलकुद पत्रकार मञ्चका सचिव भानुभक्त आचार्यले जानकारी दिए ।