सुदुरपश्चिम स्पोर्टस अवार्डमा घोडाघोडी अस्पतालको साथ - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

सुदुरपश्चिम स्पोर्टस अवार्डमा घोडाघोडी अस्पतालको साथ



सुखड,कैलाली । कैलालीको धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई घोडाघोडी अस्पतालले साथ दिने भएको छ ।

नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई सुखडमा रहेको घोडाघोडी अस्पतालले सहयोग भएको हो । कार्यक्रमका लागी घोडाघोडी अस्पतालका संचालन समिति अध्यक्ष बिष्णु प्रसाद सापकोटा र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सचिव भानुभक्त आचार्यले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि अस्पतालका सुपरिटेन्डेन्ट धर्मेन्द्र केसि र स्त्री तथा प्रस्तुति डाक्टर मेनुका तामाङले पनि स्पोर्ट्स अवार्ड सफल बनाउनुपर्ने बताएका छन् ।

खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई प्रोत्साहन गर्नका लागि थालनी हुन लागेको नयाँ अभियानमा अस्पतालका तर्फबाट सहयोग गरेको घोडाघोडी अस्पतालका अध्यक्ष बिष्णु सापकोटाले बताए । उनले अवार्डमा सहभागी १८ जना खेलाडीहरुको लागि स्वास्थ कार्ड उपलब्ध गराउने समेत जानकारी दिए । उनले स्वास्थ कार्ड लिएर आउँदा अस्पतालको नियम अनुसार सेवामा छुट दिने जानकारी दिदै अस्पतालले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी अस्पतालले हाडजोर्नी , महिला प्रस्तुति रोग लगायतका अन्य रोगहरु सम्बन्धि अत्याधुनिक सेवा सुविधा सहित ५ जना डाक्टरहरुबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, अत्याधुनिक प्रयोगशाला, डिजिटल रेडियोग्राफी (डिजिटल एक्स–रे ) सेवा लगायतका सेवासहित चौबिसै घण्टा फार्मेसी लगायतको सेवा सुविधा रहेको छ । नयाँ व्यवस्थापनका साथ थप सेवा सुविधासहित सुदुर पश्चिम प्रदेशमै आफ्नै नयाँ भवन निर्माण गरि सेवा दिन लागिरहेको अस्पतालले जनाएको छ ।

पुस १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ । चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने नेपाल खेलकुद पत्रकार मञ्चका सचिव भानुभक्त आचार्यले जानकारी दिए ।