कारबाहीमा परे मादक पदार्थ सेवन गरी धम्की दिने एसपी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कारबाहीमा परे मादक पदार्थ सेवन गरी धम्की दिने एसपी



सिरहा। नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादव र जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एसपी हीराबहादुर पाण्डेबीच सरुवाको विषयमा भएको विवादपछि एसपी पाण्डे निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले पाण्डेलाई तीन महीनाका लागि निलम्बन गरेको छ ।

सिरहा जिल्ला नेपाली कांग्रेसका सभापति रामचन्द्र यादवलाई धम्की दिएपछि छानबिनमा परेका एसपी पाण्डेलाई मंगलबार बेलुका निलम्बन गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले व्यवसायिक आचरणविपरित गतिविधिका कारण अनुसन्धानका लागि पाण्डेलाई तीन महीना कारबाही गरिएको बताए।

‘‘एसपी पाण्डेमाथि अनुसन्धान जारी रहेकाले अनुसन्धानलाई सहयोग पुर्‍याउन उहाँलाई तीन महीनाका लागि निलम्बन गरिएको हो,” उनले भने। निलम्बनपछि सिरहा प्रहरी प्रमुखको जिम्मेवारी अर्का एसपी अर्जुन तिमल्सिनालाई दिइएको छ।

कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको दाबी गरेका थिए ।

यादवले विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरी आइतबार राति १:२५ बजे धनगढीमाई नगरपालिका–९ जिरोमाइल स्थित घरमै आएर पाण्डेले अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका थिए।

ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहामा एसपी पाण्डे विरुद्ध जाहेरी परेको थियो ।