आलम काण्ड: सशस्त्रका एसपीले लास बोकेको ट्रयाक्टरको स्कर्टीङ गरे - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

आलम काण्ड: सशस्त्रका एसपीले लास बोकेको ट्रयाक्टरको स्कर्टीङ गरे



काठमाडौं- बमकाण्डका घाइतेलाई जिउंदै जलाएको आरोप लागेका मोहम्मद अफताल आलम यतिबेला प्रहरीको हिरासतमा छन्। रौतहट राजपुरमा भएको यो घटनामा मृतक र घाइतेलाई बोक्ने ट्रयाक्टर भेटिएपछी केहि तथ्य खुल्ने आशा गरिएको छ।

मृतक र घाइतेलाई बोकेर इटाभट्टाको चिम्निसम्म पुर्याउने ट्रयाकटर भेटिएको र यसबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएको ना१त ६४७२ नम्बरको ट्याक्टर फेला परेको र त्यसको अनुसन्धान थालिएको रौतहट प्रहरीले जनाएको छ । त्यसबेला उक्त ट्रयाकटरलाई तत्कालिन सशस्त्र प्रहरीका एसपी रामकृष्ण लामाले स्कर्टिङ गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गहुबारीमा लुकेर घटना हेरेका मृतक ओशी अख्तरका ससुरा सरुअठाका समसुल आलमले पनि घटनाका बेला ट्याक्टरमा घाइतेहरुलाई बोरामा राखेर इँटाभट्टासम्म लगेको बताइ सकेका छन् ।

समसुलले लामाले नै स्कर्टिङ गरी उक्त ट्रयाकटर लगेको दाबी गरेका छन् ।

यता, उक्त प्रकरणका मुख्य नाइके सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताल आलम १२ वर्षपछि पक्राउ गरिएका थिए । उनीमाथि अनुसन्धान जारी छ । तर, मंगलबार उनले पोलिग्राफ टेस्ट गर्न मानेका छैनन् ।

अनुसन्धानका क्रममा आलमले झूठ बोले नबोलेको पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय रौतहटले पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको थियो ।