सोचेभन्दा सामान्य जीवनशैली भएका यी विश्वका केही नेताबाट पनि सिक्न सकिन्छ ! - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

सोचेभन्दा सामान्य जीवनशैली भएका यी विश्वका केही नेताबाट पनि सिक्न सकिन्छ !



काठमाडौं। विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सोचेभन्दा सामान्य छ । कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमा समेत पढाउँछन् । उनीहरूलाई साइरन बजाउँदै सडकमा ‘भिभिआइपी दम्भ’ देखाउनु बेतुक लाग्छ । राज्यको व्ययभार कम गर्न तलब कटौती गर्ने पनि छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले त आफ्नो आलिसान सरकारी निवास क्याम्पस सञ्चालन गर्न दिएका छन् । यस्ता विश्व नेताको सामान्य जीवनशैलीबाट सबैले ज्ञान लिन सक्छन् । नयाँ पत्रिका दैनिकबाट साभार

कोलिन्डा ग्राभर
क्रोएसियाकी राष्ट्रपति
कोलिन्डाको सामान्य जीवनशैली संसारभर चर्चित छ । आफ्नो घरको काम आफैं गर्छिन् । केही समयअघि उनले आफ्नो घरमा रङ लगाइरहेको तस्बिर सार्वजनिक भएको थियो । ०१८ को विश्वकप फुटबलमा क्रोएसियाले फाइनलसम्मको यात्रा तय गर्दा उनी खेलाडीको हौसला बढाउन रसिया पुगेकी थिइन्, तर इकोनोमिक क्लासको टिकटमा । प्याराफिटमा पनि भिआइपीको सिट छाडेर उनी सामान्य दर्शकसँगै बसिन् । पानी पर्दा पनि छाता खोजिनन् । मैदानमै पुगेर खेलाडीहरूलाई हौसला दिन कत्ति पनि कञ्जुस्याइँ गरिनन् ।

मार्क रुटी
नेदरल्यान्ड्सका प्रधानमन्त्री

रुटी राजनीतिमा आउनुअघि व्यवसाय गर्थे । अहिले पनि स्मार्टफोन प्रयोग गर्दैनन्, नोकियाको सामान्य मोबाइल चलाउँछन् । प्रधानमन्त्री भएपछि पनि साताको एक दिन प्राथमिक विद्यालयमा पढाउन जान्छन् । साइकल चढेरै कार्यालय जाने–आउने गर्छन् । अगाडि–पछाडि साइरन बजाउँदै हिँड्ने सुरक्षाकर्मी हुन्नन् ।

बाराक ओबामा
अमेरिकी पूर्वराष्ट्रपति
ओबामा राष्ट्रपतिबाट अवकाश पाएपछि आफ्नै फाउन्डेसन मार्फत समाजसेवामा सक्रिय छन् । सर्वसाधारणकै शैलीमा व्यस्त सपिङ कम्प्लेक्समा किनमेल गरिरहेका भेटिन्छन् । कहिलेकाहीँ सडकपेटीमा बेच्न राखिएका फलफूलको मज्जा लिन्छन् । सुरक्षागार्डविना नै यात्रा गर्न रुचाउँछन् । बिरामीदेखि युद्धपीडितसम्मका लागि सहयोग लिएर पुग्छन् ।

जस्टिन ट्रयुडो
क्यानडाका प्रधानमन्त्री
प्रधानमन्त्री जस्टिन शरणार्थीका प्रिय नेता नै हुन् । सिरिया द्वन्द्वबाट विस्थापित ५० हजारलाई उनले क्यानडामा स्वागत गरे । कतिपयलाई लिन त विमानस्थल नै पुगे । आफू हिँड्ने बाटोमा साइरन बजाउँदै यात्रुलाई दुःख दिँदैनन् ।

डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति
ट्रम्प विलासी र सन्काहा नेताका रूपमा जति चिनिन्छन् त्यत्तिकै मनकारी पनि छन् । राष्ट्रपतिमा निर्वाचित हुनुअघि नै उनले तलब नलिने घोषणा गरेका थिए । तर, अमेरिकी कानुनले उनलाई त्यस्तो छुट दिएन । उनी अहिले वार्षिक एक डलर मात्रै तलब लिन्छन्, बाँकी ३९ हजार नौ सय ९९ डलर सामाजिक काममा खर्च गर्छन् ।

इमरान खान
पाकिस्तानका प्रधानमन्त्री
सरकारको नेतृत्व पाएलगत्तै इमरानले सरकार प्रमुखका सुविधा कटौती गरेर विश्वव्यापी चर्चा कमाए । आलिसान महलमा रहेको प्रधानमन्त्री कार्यालयलाई तीनकोठे सैनिक सचिवालयमा सारे र त्यहाँ क्याम्पस सञ्चालन गरे । प्रधानमन्त्रीको सुरक्षाका लागि रहेका हेलिकोप्टर, ३३ बुलेटप्रुफ कारसहित ८० गाडी र आठवटा भैँसी लिलामीमा राखे । दुईवटा गाडी मात्रै आफ्नो सचिवालयमा राखे । आफ्नो निवासमा कार्यरत पाँच सय २४ कर्मचारी कटौती गरेर दुईजना मात्र राखे । प्रधानमन्त्रीका रूपमा आफूले पाउने चिया र खाजा खर्च पनि कटौती गरे । आफूसहित सरकारी कर्मचारीको तलब र विदेश भ्रमण खर्च पनि कटौती गरे ।

जुली एनी गेन्टर
न्युजिल्यान्डकी यातायातमन्त्री
जुली साइकल चलाउन वकालत गर्छिन् । आफू पनि साइकलमै कार्यालय ओहोरदोहोर गर्छिन् । सुत्केरी बेथाले च्याप्दा पनि उनी साइकल चलाउँदै अस्पताल पुगिन् र बच्चा जन्माइन् । उनको सामान्य जीवनशैलीको सञ्चारमाध्यमले सधैँ चर्चा गर्छन् ।

आन्द्रेस म्यानुअल लोपेज
मेक्सिकोका राष्ट्रपति
गत डिसेम्बरमा राष्ट्रपति निर्वाचित भएलगत्तै आन्द्रेसले आफ्नो पारिश्रमिक ६० प्रतिशत कटौती गरेर मासिक चार हजार तीन सय अमेरिकी डलर मात्रै लिने निर्णय गरे । उनको निर्णयबाट बाँकी मन्त्री र कर्मचारीको तलब पनि कटौती भएर राज्य कोषलाई फाइदा भयो । उनले राष्ट्रपतिनिवासलाई सांस्कृतिक केन्द्र बनाए । पूर्वराष्ट्रपतिको पेन्सन पनि कटौती गर्ने निर्णय गरे ।

जस्टिन ट्रयुडो क्यानडाका प्रधानमन्त्री
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्युडो नेता–जनता सबैले समान अधिकार पाउनुपर्ने मान्यता राख्छन् । ४५ वर्षीय जस्टिन शासनसत्तामा आएसँगै सन् २०१६ मा क्यानडाले ४० वर्षयताकै सबैभन्दा धेरै शरणार्थीलाई देशमा प्रवेश दिएको थियो । सिरियामा द्वन्द्वबाट विस्थापित ५० हजारलाई उनले स्वागत गरे । कतिपयलाई स्वागत गर्न टुडेउ आफैँ विमानस्थल पुगे । शरणार्थीलाई न्यानो कोट लगाइदिएर स्वागत गरे । उनी आफ्नो आगमनको समयमा ‘भिआइपी सान’ साइरन बजाउँदै अन्य यात्रुलाई रोकेर दुःख दिन रुचाउँदैनन् । भारत भ्रमण आएका वेला पनि उनले सडकमै ओर्लिएर सर्वसाधारणलाई अभिवादन गरेका थिए । सामान्य होटेलमा खाना खाएर स्वदेश फर्किएका थिए ।

केट मिडिल्टन बेलायती राजकुमारी
बेलायती राजकुमारी केट मिडिल्टन शाही तडकभडक होइन, सामान्य जीवनकी सौखिन हुन् । उनी औपचारिक कार्यक्रममा पनि सरल पोसाकमा देखिन्छिन् । राजकुमारीले वर्षौँसम्म एउटै कपडा लगाएर शाही प्रोटोकल तोडेको गुनासो पनि कतिपयले गर्ने गरेका छन् । तर, यस्ता गुनासामा उनको ध्यान जाँदैन । उनी समाजसेवामा सक्रिय छिन् । उदार मनकी यी राजकुमारीलाई धेरैले उनकै दिवंगत सासू डायनासँग तुलना गर्छन् । उदार मनकी डायना पनि समाजसेवामा तल्लीन थिइन् । उनले धेरै गैरसरकारी संस्था, अस्पताल र च्यारिटीमार्फत दुःखी र विपन्न नागरिकको सहयोग गरिन् । जसका कारण मृत्युपछिका दुई दशकभन्दा लामो समयसम्म पनि बेलायती जनताको मनमा छिन् ।

एपिजे अब्दुल कलाम भारतका पूर्वराष्ट्रपति
एपिजे अब्दुल कलाम भारतको राष्ट्रपति छँदा आफ्नो निवासमा आउने निजी पाहुनालाई चिया र खाजा आफ्नै खर्चमा खुवाउँथे । राष्ट्रपति हुनुअघि उनी एउटा कोठा भाडामा लिएर सामान्य जीवन बिताउँथे । राष्ट्रपतिनिवासबाट बिदा भएपछि पनि सरल जीवन बिताए । उनले ट्विटरमा आफूलाई फलो गर्ने सर्वसाधारणलाई जन्मदिन र अन्य अवसरमा शुभकामना दिने गरेका थिए । आमसर्वसाधारणले झैँ सामान्य रेस्टुरेन्टमा पुगेर मिठाई र चाट खान्थे । एकपटक समारोहका दौरान मञ्चमै आएर एक बालिकाले उनीसँग हात मिलाउन अनुरोध गरेकी थिइन् । कलामले मुस्कुराउँदै उनको अभिवादन स्विकारेर हात मिलाएका थिए । यस्ता धेरै अवसरमा कलाम सादगी देखिए । अविवाहित कलामले संसार छोड्दा भारतका धेरैले आँसु चुहाएका थिए ।

राइरिल रामाफोसा दक्षिण अफ्रिकाका राष्ट्रपति
दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामाफोसा सफल व्यवसायी पनि हुन् । उनी दक्षिण अफ्रिकाका धनाढ्यमध्ये पर्छन् । जनताको जीवनस्तर उकास्न लामो समयदेखि प्रयासरत रहेका रामाफोसालाई नेल्सन मन्डेलाले पनि प्रशंसा गर्थे । मन्डेलाले उनलाई भावी राष्ट्रपति भनेका थिए । गत वर्षको फेब्रुअरीदेखि रामाफोसा शासनसत्तामा छन् । राष्ट्रपति निर्वाचित भएलगत्तै उनले आफ्नो तलबको आधा रकम नेल्सन मन्डेला फाउन्डेसनलाई दिने घोषणा गरेका थिए । व्यवसायसँगै समाजसेवा र राजनीतिमा सक्रिय छन् ।

जोसे मुजिका उरुग्वेका पूर्वराष्ट्रपति
उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिका साधारण जीवनका पर्याय हुन् । सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपति छँदा उनलाई ‘संसारकै गरिब राष्ट्रप्रमुख’ भनिएको थियो । अवकाशपछि सरकारले उपलब्ध गराएको आवास छाडेर उनी आफ्नी श्रीमतीसँगै सानो घरमा सरे । त्यहाँ उनले फूल रोपेका छन्, आफैँ बजार लगेर बेच्छन्, आम्दानीले घरखर्च चलाउँछन् । पूर्वराष्ट्रपति भएका नाताले पाउने तलब (१२ हजार अमेरिकी डलर) मध्ये ९० प्रतिशत रकम उनले समाजसेवामा खर्चने गरेका छन् । ‘संसारका गरिब व्यक्तिहरू ती हुन् जसले केवल खर्चिलो जीवनशैली बिताउने लक्ष्यले काम गर्छन् र सधैँ असन्तुष्ट रहन्छन्,’ उनले भनेका छन् ।

जोयसी बान्डा मालाबीकी पूर्वराष्ट्रपति
सन् २०१२ देखि २०१४ सम्म बान्डा मालाबीकी राष्ट्रपति थिइन् । आफ्नो देशको आर्थिक अवस्था सुधार्न उनले मितव्ययी कार्यक्रम ल्याइन् र त्यसको सुरुवात आफैँबाट गरिन् । यी प्रथम महिला राष्ट्रपतिले राष्ट्रपतिका लागि प्रयोग हुने जेटप्लेन र ६० वटा मर्सिडिज कार बेच्ने निर्णय गरेकी थिइन् ।

आयाको मोरिया जापानी पूर्वराजकुमारी
सामाजिक सञ्जालमा आफ्नो सरल जीवन र प्रेमप्रतिको गहिरो प्रतिबद्धताले जापानकी २८ वर्षीया पूर्वराजकुमारी आयाको मोरियालाई चर्चामा ल्यायो । उनले आफ्ना प्रेमीसँग विवाह गर्न राजकुमारीको पद तिलाञ्जली दिइन् । जापानको संविधानअनुसार शाही परिवारका सदस्यले सर्वसाधारणसँग विवाह गरे उनीहरूको शाही पद गुम्नेछ । यसको पर्वाह नगरी उनले व्यवसायी केई मोरियासँग २०१८ अक्टुबरमा गरिन् ।