प्रेस युनियनको बैठकमा गएपछि जागिर चैट ! - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

प्रेस युनियनको बैठकमा गएपछि जागिर चैट !



नेपाल प्रेस युनियनको केन्द्रीय समिति बैठकमा सहभागी हुन गएकै कारण केन्द्रीय समिति सदस्य समेत रहेकी एक पत्रकार जागिरबाट निकालिएकी छन्। टिभी टुडे टेलिभिजनमा कार्यरत रहेकी प्रेस युनियनकी केन्द्रीय सदस्य शीतल स्नेही जागिरबाट निष्काशनमा परेकी हुन्।

साउन ६ र ७ गते हेटौंडामा सम्पन्न नवौं महाधिवेशनमा स्नेही केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्। सो महाधिवेशनपछि केन्द्रीय समितिको दोस्रो बैठक भदौ २३ र २४ गते जनकपुरधाममा सम्पन्न भएको थियो। सोही बैठकमा सहभागी हुन गएकै कारण स्नेहीलाई टेलिभिजन व्यवस्थापनले कामबाट हटाएको छ।

बैठकपछि आज अफिस जाँदा अब काममा नआउन भनेको पत्रकार स्नेहीले बताएकी छन्। ‘आज अफिस गएर काम गर्न खोज्दा अबदेखि काममा नआउन भन्ने उर्दी जारी भयो। त्यसपछि कामै नगरी फर्किएँ,’ उनले भनिन्।

बैठकमा जानुअघि नै आफूलाई अवरोध गर्न खोजिएको उनी बताउँछिन्। ‘बैठकमा जानलाई बिदा माग्दा नाइनास्ती गरिएको थियो। मैले दुःख गरेर जितेकोले बैठकमा जाने निर्णय गरेँ। बरु तलब काट्न भनेकी थिएँ,’ उनले भनिन्,‘फर्किएपछि कामबाटै निकालियो।’

श्रमजिवी पत्रकारहरुको हकहित संरक्षण र पेशागत सुरक्षाका लागि स्थापित नेपाल प्रेस युनियनको बैठकमा जाँदा पत्रकार जागिरबाट निकालिनु अत्यन्त दुःखद र निन्दनीय घटना भएको प्रेस युनियनका केन्द्रीय सदस्य पुष्पराज जोशीले बताए। उनले भने,‘टिभी टुडेले एकदमै दुःखद र निन्दनीय काम गरेको छ। यस विषयमा युनियनले कठोर कदम चाल्छ।’