सहयोगीको शवलाई काँधमा बोकेर स्मृतिले भनिन् – हत्यारालाई फाँसीको सजाय दिलाउँछु
नयाँ दिल्ली – राहुल गान्धीलाई हालैको लोकसभा निर्वाचनमा हराएर चर्चामा आएकी भाजपा नेतृ स्मृति इरानीले आफ्ना सहयोगी सुरेन्द्र सिंहको हत्यामा संलग्नलाई पातलमा भएपनि निकालिने बताएकी छन् । सिंहको गएको शनिबार राति हत्या भएको थियो । उनको अन्त्येस्टीका लागि इरानी समेत गएकी थिइन् । उनले सिंहको शव आफ्नो काँधमा बोकेर १ किमी लामो शवयात्रामा भाग लिएकी थिइन् । उनले सो अवसरमा हत्यारालाई फाँसीको सजाय दिलाउनका लागि आफू सर्वोच्च अदालतसम्म जाने बताएकी थिइन् । गएको शनिबार राति चारजना बन्दुकधारीले सुरेन्द्रको गाउँ बरौलियामा गएर उनलाई गोली प्रहार गरेका थिए । सुरेन्द्रले हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा स्मृतिलाई ठूलो सहयोग गरेका थिए । घटनपछि प्रहरीले तीन जना व्यक्तिलाई गिरफ्तार गरेको छ । स्मृतिले सुरेन्द्रकी पत्नीलाई पनि भेट्नुका साथै उनीहरुका छोराछोरीलाई आफ्नै छोराछोरी सरह हेरविचार गर्ने समेत बताएकी छन् । (बीबीसी)