कम्युनिस्टको सिद्धान्त सत्तामा पुग्ने हतियार मात्र हो : सिटौला - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कम्युनिस्टको सिद्धान्त सत्तामा पुग्ने हतियार मात्र हो : सिटौला



विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्तामा पुगेपछि कम्युनिष्टहरूले आफ्नो सिद्धान्त र पहिचान बिर्सिने गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्दै नेता सिटौलाले सत्ताबाहिर हुँदा मात्रै कम्युनिष्टहरूले वर्गीय मुद्दालाई उठाउने गरेको प्रस्ट पारे । “सत्ताबाहिर हुँदा मात्रै कम्युनिष्टहरू वर्गीय मुद्दा उठाउँछन्,” सिटौलाले भने, “तर, सत्तामा पुगेपछि आफू कसरी बन्ने, नातागोता, आफन्त र कार्यकर्तालाई कसरी पोस्ने भन्ने ध्यानमा हुन्छन् उनीहरू ।”

तत्कालीन नेकपा माओवादीले पचिानको मुद्दालाई वाग्मतीमा बगाएको उल्लेख गरे । उनले मधेसी, जनजाति, आदिवासी, विछडा वर्गको मुद्दा बोक्ने नेताहरूले नवसामन्तवादलाई अंगिकार गरिसकेको आरोपसमेत लगाए । उनले नेकपाका नेताहरूलाई पहिचान गुमाए पनि नैतिकता नगुमाउन सुझाए ।

वर्तमान सरकार इतिहासमै सबैभन्दा भ्रष्ट भएको उनले दाबी गरे । सरकारले भ्रष्टाचारलाई संस्थागत गरिरहेको सिटौलाले बताए । कांग्रेस नेतृत्वको सरकारले मात्रै मुलुकमा आर्थिक अनुशासन, भ्रष्टाचार नियन्त्रण, विकास निर्माण गर्ने उनको दाबी थियो । कार्यक्रममा महिला संघकी केन्द्रिय सदस्य गोमा भट्टराई र कांग्रेस मोरङका कार्यबाहक सभापति शिजनारायण सिंह गनगाइले जागरण अभियानले कांग्रेसलाई सशक्त बनाउने विचार व्यक्त गरे ।