सिट बाँडफाँडबारे टुंगो लगाउने बैठक थियो, अनि सिटौला बिरामी परे
काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्ण सिटौला बिरामी परेको भन्दै निस्किएपछि गठबन्धनको बैठक अनिर्णित बनेको छ ।
आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुंगो लगाउन बसेको पाँचदलीय गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको हो।
कार्यदल र शीर्ष नेताहरुबीच सो विषयमा टुंगो लगाउने गरी मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पनि बिना सहमती टुंगिएको छ।
कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला बिरामी भएर अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक स्थगित भएको राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए। बैठक बुधबार (आज) अपरान्ह ५ बजे फेरि बस्नेछ।
राजमो सचिव पुरीले २०७४ सालको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन, हालै सम्पन्न स्थानीय तह निर्वाचन र दलहरुले जित्ने ठाउँलाई समेत आधार बनाएर सिट बाँडफाँड गर्ने विषयमा छलफल भइरहेको र भदौ ९ गते बिहीबार भित्र त्यसलाई टुंगोमा पुर्याउने गरी गठबन्धनमा आवद्ध दलका नेताहरुबीच छलफल भइरहेको बताए।
नेता पुरीले भने, ‘आज निष्कर्षमा पुग्न सकिएन। कार्यदलको संयोजक पनि हुनु भएन आज। त्यसले गर्दाखेरी हाम्रो छलफल चाहिँ जारी रह्यो। आज निष्कर्षमा पुग्न सकेन। भोलि फेरि बैठक बस्ने तय भएको छ। भोलि पाँच बजे बैठक छ। त्यसमा छलफल भएर हामी अब टुंग्याउँछौं।’
उनले ९ गतेभित्र सिट बाँडफाँटको विषयलाई टुंग्याउन प्रयत्न गर्ने बताए। सिट बाँडफाँडको आधारहरुको विषयमा छलफल भइरहेको र ९ गतेभित्र टुंगिने उनले बताए।
‘निर्वाचनको प्रत्यक्षतर्फको एउटा आधार छ। समानुपातिकको अर्को आधार छ। स्थानीय तह निर्वाचनलाई पनि आधार बनाउने कुरा गरिराखेका छौं। विभिन्न आधारहरुको विषयमा छलफल गरिराखेका छौं’ उनले भने, ‘छलफल सकारात्मक रुपमा अगाडि बढिराखेको छ।’