मेयरमा पराजित भएकी सिर्जना सिंहले भनिन्- अब गठबन्धनको काम छैन
काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर उम्मेदयवार बनेर पराजित भएकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले यो निर्वाचनमा गठबन्धन गर्न नहुने बताएकी छन् ।
उनले संसदीय चुनावमा दलहरूले आ-आफ्ना उम्मेदवार उठाएर एक्लाएक्लै प्रतिस्पर्धा गर्नु उपयुक्त हुने बताएकी छन् । गठबन्धनबाटै मेयरको उम्मेदवार बनेर पराजित भएकी उनले चुनावपछि मात्रै गठबन्धन गर्नु उपयुक्त भएको बताईन ।
सत्ता गठबन्धनका दलहरूले मिलेर चुनाव लड्ने भन्दै बनाएको कार्यदलले चुनावी सीट बाँडफाँटका लागि प्रयास गरिरहेका बेला आएको उनको सुझावलाई अर्थपूर्ण मनिएको छ ।
सिंहले ट्वीटरबाट महानगरको गठबन्धन अनुभव शेयर गर्दै उनले बहुमत नआएमा चुनावपछि गठबन्धन गर्दा उपयुक्त हुने बताएकी छन् ।
आफ्नो सुझाव सार्वजनिक गर्दै गठबन्धनले अन्यौल र अस्तव्यस्तमात्र हुने गरेको बताएकी छन् । उनको सुझाव छ, ‘संसदीय चुनावमा आ-आफ्नो पार्टी आफ्नै चुनाव चिन्ह र गठबन्धन नगरी सबैले आ-आफ्ना उम्मेदवार उठाउने बरू बहुमत नआए गठवन्धन गर्दा हुन्छ। स्थानीय चसनावमा देखेको भोगेको, गठबन्धनले अन्यौल र अस्तव्यस्तबाहेक केही गर्दैन ।’
माओवादी र नेकपा एसले काठमाडौका महत्वपूर्ण सिटमा दाबी गर्ने तयारी गरेका बेला सिर्जना सिंहको यो सुझावलाई अर्थपूर्ण रूपमा लिइएको छ ।