सिप सप्ताह शुरु : स्वदेशी बस्तुको प्रबद्र्धन गर्न आग्रह
आचार्य प्रदीप
बुटवल । स्वदेशी लगानीका उद्योग,व्यवसाय र सिपमा आधारित बस्तुको प्रयोगलाई बढाउन सकेमा मात्र देश आर्थिक रुपमा समृद्ध हुने एक कार्यक्रममा बताइएको छ ।
सस्तोको नाममा विदेशीमा उत्पादित बस्तुको प्रयोग बढ्दै गएकाले जननिर्वाचित प्रतिनिधिहरुले यस बिषयलाई बिशेष ख्याल गर्न उनीहरुको सुझाव छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ केन्द्रीय समितिको आयोजना तथा जिल्ला शाखा रुपन्देहीको सहआयोजनामा शुक्रबारदेखि बुटवलमा शुरु भएको पाँचौ राष्ट्रिय सिप सप्ताह कार्यक्रमको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले यस्तो विचार व्यक्त गरेका हुन ।
नेपालमा उत्पादन भएका कपडाको प्रयोग बढाउने र स्वदेशकै जनशक्तिले तयार पारेका पोशाकलाई बढावा दिने गरि निति ल्याउन व्यवसायीहरुले माग गरेका छन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले समृद्ध देश निर्माणका लागि उद्योग,व्यापार र व्यवासयलाई प्रबद्र्धन युगको आवश्यकता भएको बताए ।
उनले पाँच नम्बर प्रदेशको प्रदेशसभाले सीप र कलालाई सम्मान गर्ने गरि निति ल्याउने प्रतिबद्धता समेत जनाए ।कार्यक्रमम नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले सिलाई व्यवसायीहरुले स्वदेशमै रोजगारी सृजना गरेकाले सरकारले यस्ता उद्योगलाई प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए ।
उनले हजारौंलाई रोजगारी दिएको सिलाई व्यवसायलाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन स्थानीय तह, प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने खाँचो औल्याए ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, पूर्वराज्यमन्त्री प्रकाश चित्रकार, बुटवल उपमहानगरका नगर प्रमुख शिवराज सुवेदी, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष लाल बहादुर परियार, संघका महासचिव सुदेश श्रेष्ठ, संघका केन्द्रीय सदस्य रामकुमार रणपाल, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, जिल्ला अध्यक्ष सुर्वणकुमार परियार,परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोकबहादुर नेपाली लगायतले बोल्दै सिलाई व्यवसाय विश्वमै लोकप्रिय र अनिवार्य भएकाले यसलाई सम्मान गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा विभिन्न कलाकारिता क्षेत्रमा लागेका व्यक्तिहरुलाई सम्मान समेत गरिएको संघका जिल्ला कोषाध्यक्ष तुल्सिराम भण्डारीले बताए ।
कार्यक्रम अघि बुटवल सुख्खानगर स्थित मेरीगोल्ड होटलबाट बाजागाजा सहित र्याली निकालेर बुटवल बजार परिक्रमा गरेको थियो ।
शुक्रबारदेखि शुरु भएको सिप सप्ताह अन्तर्गत शनिबार र आईतबार बुटवलमा लेडिज तथा जेन्सका बिशेष सिलाई कटाई प्रशक्षिण हुनेछ ।
पुस १७ गते कोहलपुर, १८ र १९ मा दाङमा प्रशिक्षण त्यसपछि २० गते सिप सप्ताह कार्यक्रमको समापन गरिने संघका रुपन्देही उपाध्यक्ष सुभाष परियारले जानकारी दिए ।