सिंहको ब्रिफिङ: 'अहिले पनि अवसर पाउने, प्रधानमन्त्री पनि बन्ने सम्झौता भएको छ' - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सिंहको ब्रिफिङ: ‘अहिले पनि अवसर पाउने, प्रधानमन्त्री पनि बन्ने सम्झौता भएको छ’



काठमाडौँ- कांग्रेस नेता प्रकाशमान सिंह र सभापति शेरबहादुर देउवाबीच राजनीतिक लेनदेनको सम्झौता भएको पुष्टि भएको छ । पौडेल समूहमा रहेर पनि दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गरेका सिंहलाई अहिलेको सरकारमा लैजाने र पछि प्रधानमन्त्री बनाउनेगरी सम्झौता भएको हो ।

काठमाडौंका एक निर्वाचन प्रतिनिधिका अनुसार सिंहले आफ्नानिकट प्रतिनिधिलाई राखेर यसबारे ब्रिफिङ गरेका छन् । ति प्रतिनिधिले सिंह र देउवाबीच भएको सहमतिले आफूहरू समेत उत्साहित भएको बताएका छन् ।

सिंहले बानेश्वर आसपासमा आफ्ना केहि प्रतिनिधिहरूसँग गोप्य भेला गरेका थिए । भेलामा उनले यति गर्न नसके राजनीतिमा टिक्न गाह्रो हुने समेत बताएका थिए । उनले कहिलेकाहीँ हार्दापनि जित हुने भन्दै आफू अहिले माथि परेको बताएका थिए । भेलामा केहि प्रतिनिधिले नैतिकताको कुरा आउने भन्दै यस्तो नगर्न सुझाव दिँदा सिंहले आफ्ना मतदाता र प्रतिनिधिको मुख हेरेर यस्तो निर्णयमा पुगेको बताएका थिए ।

उनले भनेका थिए, ‘तपाईंहरूको पनि त मुख हेर्नुपर्यो, तपाईंहरू सबैलाई फाइदा हुनेगरी सम्झौता भएको छ, देउवाजीसँग शक्ति बाँडफाँटसहित प्रधानमन्त्री बनाउने सम्मको सम्झौता भएको छ, अब हाम्रा कार्यकर्ताले पनि अवसर पाउनेछन् ।’

सिंहले आफू अहिलेको सरकारमा पनि सहभागी हुने र भावी प्रधानमन्त्री पनि बन्नेगरी संम्झौता भएको बताएका थिए ।

ति प्रतिनिधिका अनुसार सिंहले निकै सोँचेसम्झेर यो निर्णयमा पुगेको भन्दै निर्धक्क भएर देउवालाई भोट गर्न आग्रह गरेका थिए । ‘हाम्रा कार्यकर्ताले कहिलै मौका नपाउने सधै सौताको जस्तो व्यवहार भयो अब त्यस्तो हुँदैन, ढुक्क भएर भोट हाल्नुहोला ।’ सिंहको भनाई उद्घृत गर्दै ति प्रतिनिधिले भने ।

यसैबीच एक प्रतिनिधिले देउवाले फेरि पनि सौताकै व्यवहार गर्ने बताउँदा सिंहले त्यस्तो नहुने भन्दै लिखित सम्झौता समेत भएको आस्वासन दिन खोजेका थिए । उक्त गोप्य भेलामा प्रकाशमान पहिलेभन्दा बढी खुशी देखिएका थिए ।

पहिलो चरणमा सोमबार भएको मतदानमा पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीचको प्रतिष्पर्धामा सिंहले देउवालाई सघाउने निर्णय गरेका थिए।

आर्थिक लेनदेनबारे भने आफूलाई थाहा नभएको र भेलामा पनि कुरा नभएको ति प्रतिनिधिले बताए ।