५४ जनाको बथान र 'सिङ्गडा' खाएर फर्केका ओली ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

५४ जनाको बथान र ‘सिङ्गडा’ खाएर फर्केका ओली !



किङ खनाल

प्रधानमन्त्री ओलीलाई पनि थाहा थियो एउटा औंला अरूलाई देखाउँदा अरू बाँकी औंला आफैतिर फर्कन्छन भन्ने । प्रचण्ड प्रधानमन्त्री भएर भारत भ्रमण जाँदा ओलीले निकै छुद्र शैलीमा भनेका थिए प्रचण्ड जी भारत किन गएको “सिङ्गडा खान” ?

ओली बेलाबेला हिट भैरहन्छन यस्ता तुच्छ र छुद्र बोलीले । खास गरी कसैलाई होच्याउन निकै तुच्छ शब्द फुराउँछन् ओली ।

जहिले पानीमाथिको ओभानो बन्न खोज्ने ओलीलाई थाहा थियो र त सबै कार्यक्रम छोट्याएर मोदीलाई भेट्न रातीमा पुगे, त्यो पनि कसैलाई थाहै नदिई, किनकि प्रधानमन्त्रीले यसको कार्यसूची सार्वजनिक नगर्न उर्दी जारी गरेका थिए ।  त्यसैले दूतावासमा भएको कार्यक्रम छोट्याएर लागे समकक्षी मोदीसँग “सिंगडा खान” । यसैलाई नेपाली मिडियाले ‘सरप्राइज भेट’ भनेर बडा बडा हेडलाईनामा लेखे । यस्तो पनि कहीँ सरप्राइज हुन्छ ? सरप्राइज हुनलाई त मोदी आफै गाडी लिएर लिन आउनु पर्थ्यो, कि त विमानस्थलमा आउनुपर्थ्यो । खै त्यहाँ गुपचुपमा भएका सहमति र सल्लाह बाहिर आएको ? के नेपाली जनता बेवकुफ छन् भन्ने सम्झन्छन यिनीहरु ?

समकक्षी प्रधानमन्त्री पाहुनाको रूपमा आउँदा कारिन्दालाई लिन पठाएका मोदीलाई नेपाली मिडियाले चाकडी गर्दै सरप्राइज भन्दिने ? जे लेखेपनि हुने, जे भनेपनि हुने ? मिडिया हुन् कि मुखपत्र ?

अनि ५४ जना लिएर ओली भारत भ्रमण गएका हुन् कि जन्त ? समय फेरियो बिहेमा जन्त जाँदा त थोरै जाने प्रतिस्पर्धा हुन्छ, यो त भ्रमण हो, त्यो पनि भारतले निमन्त्रणा गरेको । के यत्ति थाहा छैन देशको प्रधानमन्त्रीलाई ? नाक फुलाएर, धाक लगाएर ५४ जना बोकेर जान केहि त लाज हुनुपर्छ नि ! मलाई त शंका छ यिनले केहि त ठुलै गडबडी गरेका छन्, भोलि पर्दाफास हुँदा मैले ५४ जनालाई साक्षी राखेको भन्नेछन । होइन भने किन चाहिन्छ मान्छेको जात्रा ? होइन भने ओली र चौवन्न जना सबैले भन्नुपर्छ हामी भारतमा जात्रा गरेर आयौं ? नत्र चौवन्न जनाले गरेका एक एक कामको हिसाब देखाउ । नत्र राज्यलाई पेवा सम्झेर किरा पार्ने तिमीहरु र मेवा सम्झेर चिरा पार्न खोज्ने अरुमा के फरक छ ?

जनताले त यतिखेर भारत भ्रमण नै चाहेका थिएनन, छिटो छिटो चाइना जाउन र पुराना सम्झौताहरू कार्यान्वयन गरुन भन्ने आशामा छन् । भारतको पटक पटकको हेपाहा प्रवृत्तिले आजित बनेका नेपालीको आशामा उज्यालो किरण थप्छन कि भन्ने भरोसा लगभग गुमिसकेको छ धेरैको । गठबन्धन गरेर चुनाव जितेपछिको ओलीको रवाफ नै बेग्लै छ ।  कहिले शुस्मा स्वराजलाई खाना खुवाउन सोल्टी होटेलमा रात्रिभोज गर्छन् त कहिले  भारतसँग कहिले पनि असमझदारी छैन भनेर उचालिन्छन ।

एकातिर नाकाबन्दीमा बनाएको छविको खाता नेपाली जनताको मनबाट बिस्तारै घट्दै छ भने उनको राष्ट्रबाद भित्रका विभिन्न पाटाहरू खुल्दै छन् । प्रधानमन्त्री बनेपछि दैनिक जसो कार्यक्रममा बोल्ने, अरूलाई गाली गर्ने र जनता हँसाउने बाहेकका उपलब्धि लगभग शून्य नै छन् ।

भारतबाट फर्केपछि पहिले नै सुनेर कान फुटिसकेको पुरानै डाइलग गुन्जिन सुरु भयो नेपाली मिडियामा “नेपाल भारतको सम्बन्धमा नयाँ उचाइ’ ‘फलानाले नगरेको यस्तो काम ओलीले गरे’ यो गरे, त्यो गरे आदि इत्यादि । हामी नेपाली त यति धेरै सकारात्मक छौँ कि दर्जनौँ प्रधानमन्त्रीले अहिलेसम्म झुकेर, लुकेर, फुकेर गरेका हजारौँ सम्झौता खै भन्न सम्म सक्दैनौँ । दर्जन भन्दा बढी प्रधानमन्त्रीले हजारौँ यस्ता सम्झौता गरिसके यो कुनै भर्जिन काम नै होइन, बस यो त बेश्यावृत्तिको पुरिने निरन्तरता हो ।

जानकारहरूका नुसार भारतसँग अहिलेसम्म हुनुपर्ने सबै सम्झौता भैसकेछन । अब बाँकी भएको सम्झौता त रकेट मात्रै रहेछ, यति धेरै सम्झौता र सन्धिले जलिएको नेपाल-भारत सम्बन्ध अर्को सम्झौता गरेर उच्चतम बिन्दुमा पुराएको दुहाई दिने बाहेक के नै बचेको छ र ?

पटक पटक धोका र दुख दिन जानेको भारतसँग कुनै आशा बाँकी छैनन् नेपालीका, भूकम्पको आहालमा दबिएको बेला पुनर्निर्माणको लागी दिने बाचा गरेको अरबौं रुपैयाँ मध्ये सुको पैसो पनि दिएन, मोदीले नेपालकै संसदबाट नेपाललाई सहायता गर्नको लागी घोषणा गरेको सौलियत ऋण र सहायता दिने भनेको अरबौं रकम मध्यको कुनै पैसा नेपालले पाएको छैन । सदियौं देखि नेपालका दर्जनौँ प्रधानमन्त्रीहरूले गरेका हजारौँ सन्धि सम्झौता मध्ये कुनै पनि कार्यान्वयन भएका छैनन् । हेप्ने, चेप्ने र छेक्ने यस्तो छिमेकी देश सायद नेपालको मात्र छ होला तर यति विधि हुँदा पनि भारतीय नेताको शरणमा पर्न र खालि ठाउँ भर्न हाम्रै नेतालाई हतारो हुन्छ ।

अझ यो भन्दा ठुलो कुरा त के भने हरेक नेता वा मन्त्रीले अरू लम्पसार जाँदा आलोचना गर्छन्, दोहोलो काट्छन, जनताको मन जित्न जे पनि भन्छन् ।  आफू भने गिरेको र छिरेको थाहा सम्म पाउन्नन । सायद यसैलाई भन्छन् अर्काको आङ्गको जुम्रा पनि देख्नेले आफ्नो आङ्गको भैँसी पनि देख्दैनन । हिंजो तिनै ओलीले प्रचण्डलाई सिङ्गडा खान गएको संज्ञा दिए तर आज पासा त पल्ट्यो प्रचण्डले मनमनै भने होलान् अब खाऊ सिङ्गडा ओली जी ।