सिन्डिकेट: भोलि सार्वजनिक यातायात ठप्प बनाउने तयारी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सिन्डिकेट: भोलि सार्वजनिक यातायात ठप्प बनाउने तयारी



काठमाडौं– यातायात समितिहरु खारेज गर्ने लगायतको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले शुक्रबार सार्वजनिक यातायात ठप्प बनाउने तयारी गरेका छन्।

गाडी ग्यारेजमा थन्काएर उनीहरुले सरकारलाई दबाव दिन लागेका छन्। तर, आधाजसो व्यवसायीहरु सवारी चलाउने नै पक्षमा रहेको स्रोत बताउँछ। सिन्डिकेटको विपक्षमा रहेका यातायात व्यवसायीहरुले गाडी चलाउने निर्णय गरेका छन्। यातायात व्यवस्था विभागका एक अधिकारीका अनुसार आधाजसो व्यवसायीहरु गाडी चलाउने पक्षमा छन्।

गत साता मात्र मन्त्रिपरिषद्को बैठकले यातायात क्षेत्रको हडताललाई निषेध गरेको थियो। सरकारले व्यवसायीहरुसँग वार्ताको पहल गरे पनि वार्ता हुन सकेको छैन। अनौपचारिक रुपमा भने कुराकानी भइरहेको यातायात व्यवस्था विभागका अधिकारीहरु बताउँछन्।

रुट परमिटका लागि कम्पनी दर्ता अनिवार्य गर्दै देशभरका सडकमा रुट परमिट खुला गरेपछि सिन्डिकेट पक्षधर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।

आफूहरुको आन्दोलन जारी रहेको र शुक्रबार गाडीहरु ग्यारेजमा थन्काइने नेपाल यायायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।