सीमा विवादबारे प्रधानमन्त्रीद्वारा पहल सुरु - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

सीमा विवादबारे प्रधानमन्त्रीद्वारा पहल सुरु



काठमाडौं : सीमा विवाद समाधानको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहल थालेका छन् ।

भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि चर्किएको सीमा विवादको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

दलका शीर्ष नेता र केही विज्ञलाई बैठकमा बोलाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। स्रोतका अनुसार शनिबारका लागि सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको छ । दिउँसो ४ बजे बस्ने बैठकले सीमा विवादका विषयमा सामूहिक धारणा तय गर्ने बताइएको छ ।

भारतको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि नेपालमा त्यसको चर्को विरोध भइराखेको छ। सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका युवा संगठनले संयुक्त आन्दोलन चर्काइरहेका बेला सरकारले सर्वदलीय बैठक बोलाएको हो।

भारतले लिपुलेक र कालापानी समेटर सार्वजनिक गरेको नयाँ नक्सा सरकारले अस्वीकार गर्ने बताएको छ। नेपाली भूमिलाई समेट्दै भारतले एकपक्षीय ढंगबाट नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको प्रति सरकारले बिहीबार पत्रकार सम्मेलन गरेरै आपत्ति जनाएको हो।