गल्ती नगरेको भए किन भागे सिलवाल ? (रिपोर्ट) - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

गल्ती नगरेको भए किन भागे सिलवाल ? (रिपोर्ट)



किङ खनाल

ललितपुर १ बाट चुनाव जितेर प्रतिनिधि सभाको सांसद बनेका नवराज सिलवाल यति बेला फरार छन् । उनले प्रहरीको जागिरबाट राजीनामा गरेर एमालेको राजनीतिमा होमिएका हुन् ।

आइजीपी बन्ने दौडमा कार्यसम्पादनको आधारमा आफुनै उपयुक्त रहेको भन्दै सर्वोच्च अदालतमा बुझाएको कार्यसम्पादन तथा मूल्याङ्कनको कागजातमा किर्ते गरेको भेटिएपछि अदालतले थप अनुसन्धान गर्नको लागि नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई जिम्मा दिएको थियो । प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा प्रहरीकै गोप्य संलग्नतामा अघिल्लै दिन उनलाई भगाउने काम गरेको भन्ने केही मिडियाले समाचार बनाए ।

केही दिन मलेसियामा रहेका नवराज सिलवाल कतिपय नेपाली पत्रकारको सम्पर्कमा रहेको पनि बुझियो । मङ्गलवार सरकारले सातै प्रदेशका प्रहरीलाई सिलवाललाई जहाँ भेटेपनि पक्राउ गरी उपस्थित गराउन आदेश दियो । यो आदेश पछि उनी मलेसियाबाट अमेरिका पुगेको समाचार केही मिडियामा छापियो ।

के हो सिलवालको गल्ती ?

सिलवालले पेस गरेको कार्यसम्पादनको फाइल नै किर्ते गरेको भेटिएपछि र अदालतले बोलाउँदा उनी भागेपछि उनी दोषी भएको र किर्ते गरेको प्रमाणित भएको जानकारहरू बताउँछन् । यधपी उनले केही पत्रकारहरुसंग कामको सिलसिलामा मलेसियामा रहेको बताएका थिए । यदि त्यस्तो हुन्थ्यो भने अदालतले आदेश गरेको हप्तौँ बित्दा काम छोट्याएर फर्किसक्नु पर्थ्यो । अदालतलाई कानुनत: काम गर्ने वातावरण बनाईदिनुपर्थ्यो । अदालतले बयानको लागि बोलाउँदा वा प्रहरीलाई उपस्थित गराउने आदेश मात्रै दिँदा रातारात भागेर मलेसिया र अमेरिका जानु पर्ने थिएन ।

पार्टी वा पार्टी अध्यक्षको सल्लाहामा भागेका हुन् वा प्रहरीको गोप्य दिजईनामा भागेका हुन् प्रमाणित हुन भने बाँकी छ । जसरी भागेपनी उनले र केपी ओलीले भनेअनुसार उनी बेकसुर छन् भने अदालतले उपस्थित हुने आदेश मात्र दिँदा फरार हुनुपर्ने कारण के छ ?

यसरी हेर्दा उनको गल्ती थियो, किर्ते प्रमाणित हुनेभएपछी उनी नेपालबाट भागे भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

किन भागे सिलवाल ?

नवराज सिलवाल सांसद बनेपछि पनि उनको पद धरापमा पर्न सक्ने सम्भावाना छ । शपथ ग्रहण नगरेसम्म अदालतले उनलाई दोषी ठहर गरेको खण्डमा र जेल चलान गरेको खण्डमा उनको संसद्मा प्रवेश गर्ने सपना अधुरै रहन्छ । शपथ खाईसकेपछी भने उनलाई प्रहरीले सिधै पक्राउ गर्न मिल्दैन र राजनैतिक संरक्षणमा मुद्दालाई तलमाथि गराउन मिल्ने जानकारहरू बताउँछन् ।

सिलवाललाई पार्टी र केही नेताको डिजाइनमा शपथ खानको लागि उपस्थित गराउने गरी भाग्न लगाएको बताइन्छ । यदि प्रहरीले सांसदको शपथ सम्म पक्रन सकेन भने शपथ पछि मुद्दा तलमाथि बनाउने र सिलवालको संसद् छिर्ने र ओलीको गृहमन्त्री बनाउने सपना एकसाथ पुरा गर्ने डिजाइन पनि हुनसक्ने छ ।

यदि अदालतले सिलवाललाई दोषी ठहर गरेर जेल सजाय तोक्यो र एमालेले यसरी नै संरक्षण गर्‍यो भने एमाले र सिलवाल प्रतिको जनताको भरोसा भने उड्ने पक्का छ ।