शशांक कोइरालाको प्रस्ताव: 'अब नमिल्ने हो भने पार्टी देउवालाई बुझाई दिउँ' - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

शशांक कोइरालाको प्रस्ताव: ‘अब नमिल्ने हो भने पार्टी देउवालाई बुझाई दिउँ’



काठमाडौं- महाधिवेशन नजिकिएसँगै कांग्रेस सभापतिको उम्मेदवार छान्न संस्थापनइतर समूह जुर्मुराएको छ । सोमबार साँझ साझा उम्मेदवार छान्न संस्थापन इतर समूहको भेला रामचन्द्र पौडेलनिवास बोहरातार्मा बसेको थियो ।

भेलामा नेताहरूले अब साझा उम्मेदवार छान्न नसक्ने हो भने कांग्रेसमा आफूहरूलाई निकै अफ्ठ्यारो पर्ने तर्क राखेका थिए । यस्तै महामन्त्री डा. शशांक कोइरालाले १४औँ महाधिवेशनबाट आफूहरू नमिले शेरबहादुर देउवाले पुनः सभापति जित्ने भन्दै अब नताते पार्टीबाट हात धोएपनि हुने तर्क गरेका छन् ।

कोइरालाले देउवाको विकल्प खोज्ने भए आफूहरू एक भएर चुनाव लड्नुको विकल्प नभएको उनको भनाइ थियो। संस्थापन इतर समूहका सभापतिका आकांक्षीहरूको भेलामा देउवालाई पार्टीको नेतृत्वबाट हटाउनुपर्नेमा सबै एकमत देखिए पनि ठोस निर्णयमा पुग्न भने सकेनन।

स्रोतका अनुसार महामन्त्री कोइरालाले भनेका थिए, ‘हामी विभाजित भएर महाधिवेशनमा लडे देउवालाई पुनः जित्न सजिलो हुन्छ। त्यसैले देउवालाई पार्टीको नेतृत्वबाट हटाउने भए हामी मिल्नुको विकल्प छैन, हामी नमिले पार्टी उनैलाई बुझाए हुन्छ।’

भेलाले अबको दुई दिनभित्रै साझा उम्मेदवार तय गर्ने सहमति बनेको बताइएको छ । यसका लागि निरन्तर छलफलमा रहने समेत समझदारी बनेको छ। उक्त समूहको अर्को बैठक मंगलबार दिउँसो १ बजे प्रकाशमान सिंह निवास चाक्सिबारीमा बस्ने सहमति भएको छ।

भेटमा संस्थापन इतरबाट समाभापतिमा दाबी गर्दै आएका शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी थिए ।