प्रधानमन्त्री ओलीले संविधान क्षतविक्षत बनाए: नारायणकाजी - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

प्रधानमन्त्री ओलीले संविधान क्षतविक्षत बनाए: नारायणकाजी



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियतामाथि धोकाधडी गरेको आरोप लगाएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै श्रेष्ठले विदेशीसँग मिलेमतो गरेर संविधानमाथि प्रहार गरेको आरोप पनि लगाए ।

ओलीको सत्ता लिप्साको फाइदा उठाउँदै विदेशी शक्तिले चलखेल गरेको श्रेष्ठको तर्क छ। ‘लोकतान्त्रिक दृष्टिकोण र चिन्तनविरुद्ध व्यक्ति महत्वाकांक्षा तथा सत्तालिप्सा उहाँभित्र पलाएको छ। संविधान गए जाओस् उहाँले सोच्नुभएको छ,’ सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले भने,‘उहाँको सत्तालिप्साको फाइदा विदेशी शक्तिले उठाइरहेको छ।’

उनले केपी ओली नेतृत्वको सरकारले संविधानको नाङ्गो उल्लंघन गरेर देशलाई अध्यादेशबाट चलाउन खोजेको बताए।

विगतमा दिएको राष्ट्रियताको नारा धोकामात्रै रहेको भन्दै उनले प्रधानमन्त्री ओली विदेशी हस्तक्षेप स्वीकार गर्ने लम्पसारवादी रहेको प्रष्ट भइसकेको जिकिर गरे। श्रेष्ठले प्रतिगमनको सपना नदेख्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिए।

‘अहिले आधा प्रतिगमन भएको छ। प्रधानमन्त्रीले दुई-दुईपटक प्रतिनिधिसभा विघटन गरेर पूर्णप्रतिगमनको चाहना राख्नुभएको छ,’ उनले भने, ‘पूर्णप्रतिगमनको सपना नदेखे हुन्छ। उहाँले गर्ने प्रतिगमनलाई जसरी पनि परास्त गरिन्छ।’

उनले प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको समेत बताएका थिए ।